
काठमाडौं : युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानले शिष्टाचार भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध, युवा परिचालन र श्रम सम्झौताको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा र भर्ना प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्न मलेसियाली सरकारको सहयोगमा जोड दिएको बताइएको छ ।
बैठकमा नेपाल र मलेसियाबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै युवा संलग्नता र श्रम सम्झौताका क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।
मलेसियाका कार्यवाहक राजदूत अजमानले दुवै पक्षले कामदारको सुरक्षा र कल्याणलाई ध्यानमा राख्दै नेपाली कामदार भर्ना र रोजगारी व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको बताए । श्रममन्त्री यादवसँग भएको कुराकानीबारे मध्यान्ह दैनिकलाई प्रतिक्रिया दिँदै उनले दुवै पक्षबीच आ–आफ्ना देशका नागरिकलाई प्रदान गरिने कन्सुलर सहयोगलाई अझ सुदृढ पार्ने उपायहरूमा पनि छलफल गरेको बताए ।
नेपाली आप्रवासी कामदारहरूका लागि प्रमुख गन्तव्य मलेसियामा हाल ४ लाखभन्दा बढी नेपाली वैधानिक रूपमा कार्यरत छन् । मुख्यतया नेपालीहरू सेक्युरिटी गार्ड, उत्पादन, निर्माण, सेवा र कृषि क्षेत्रमा काम गरिरहेका छन् ।
मलेसियामा न्यूनतम मासिक ज्याला १७ सय रिंगेट छ । स्थानीय नागरिक र आप्रवासी कामदार दुवैलाई समान रूपमा लागू हुने उक्त ज्याला नेपाली सुरक्षागार्डहरूले पाउन नसकेको भन्दै पटकपटक नेपाली दूतावासमा गुनासो पुग्ने गरेको छ ।