२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन संघलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन

Nada
२०८३ जेठ १३ गते १८:४८
Shares
जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन संघलाई जिल्ला प्रशासन कार्यालयको निर्देशन

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई जेठ २४ गते कार्यसमिति निर्वाचन गराउन निर्देशन दिएको छ ।

प्रशासन कार्यालयको संस्था दर्ता शाखाले बुधबार संघलाई पत्र पठाउँदै बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएको जानकारी वैशाख १४ गते प्राप्त भएको जनाएको छ । त्यसपछि संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो ।

सोही निर्णयका आधारमा प्रबन्ध समिति गठन गरी विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको उल्लेख छ । तर प्रशासनले आवश्यक विवरण माग्दा संघबाट सबै विवरण समयमै उपलब्ध नगराइएको पनि जनाएको छ ।

यसैबीच, प्रबन्ध समितिले जेठ १४ गते गर्ने भनिएको विशेष साधारणसभा तथा निर्वाचन तयारीमा अवरोध भएको भन्दै शान्ति सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनसँग निवेदन दिएको थियो । त्यसपछि पुनः जेठ २४ गते विशेष साधारणसभा गर्ने पूर्वसूचना अनुसार आवश्यक निर्देशन र सुरक्षा माग गर्दै अर्को पत्र पनि पठाइएको प्रशासनको भनाइ छ ।

प्रशासनका अनुसार समयमै निर्वाचन हुन नसक्दा संघले प्रतिनिधित्व गर्नुपर्ने सरकारी निकायहरूमा प्रतिनिधित्व हुन सकेको छैन । साथै, वैदेशिक रोजगार व्यवसायीहरूको हकहितसँग सम्बन्धित कामहरू पनि प्रभावित भएका छन् । संघसँग आबद्ध विभिन्न संस्थाहरूले समेत विधानअनुसार निकास दिन आग्रह गर्दै निवेदन दिएका छन् ।

यी सबै अवस्थाको विश्लेषणपछि संघलाई लामो समय विवादमा राखिरहनु उपयुक्त नदेखिएको निष्कर्ष निकाल्दै प्रशासनले तोकिएको मितिमा साधारणसभा र निर्वाचन गराउन निर्देशन दिएको हो ।

यससँगै प्रशासनले पाँच बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार संघले आफ्नो विधान, प्रचलित कानुन र स्थापित प्रक्रिया अनुसार मात्रै काम गर्नुपर्नेछ । आबद्ध संस्थाहरूलाई समयमै सूचना प्रवाह गर्दै नवीकरण, आवद्धता र पुनःआबद्धता प्रक्रिया मिलाउनुपर्नेछ ।

त्यस्तै, सम्पूर्ण प्रक्रिया स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने, कुनै पनि पक्षबाट अवरोध हुन नदिनुपर्ने र संघका गतिविधिबारे नियमित रूपमा प्रशासनलाई जानकारी गराउनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

निर्वाचनलाई व्यवस्थित बनाउन प्रशासनले सुरक्षा व्यवस्था मिलाउन प्रहरी परिसर काठमाडौंलाई समेत निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयको पत्रपछि विगतदेखि फरकफरक धारणा राख्दै आएका पक्षहरूले आ–आफ्नो अडान यथावत् राखेका छन् । अध्यक्ष भुवनसिंह गुरुङले जिल्ला प्रशासन कार्यालय काठमाडौंले विगतमा कुनै समिति वा व्यक्तिलाई निर्वाचन गराउने जिम्मेवारी तोकेर पत्र लेख्ने गरेको, तर यस पटक त्यसरी नलेखेकाले प्रबन्ध समितिले निर्वाचन गराउने जिम्मेवारी पाएको भनेर प्रचार गर्नु भ्रमपूर्ण रहेकोे टिप्पणी गरे ।

उनले सल्लाहकार समितिको माइन्युट वैधानिक तरिकाबाट नभएको भन्दै प्रबन्ध समितिले मान्यता नपाउने आफूलाई लागेको बताए । कार्यसमितिका तर्फबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक कागजात उपलब्ध गराउने प्रक्रियामा नै रहेको भन्दै उनले सबै व्यवसायीलाई समेटेर व्यवसायी हितका काम कारबाही र संघको दैनिक कार्य सञ्चालन जारी राख्ने पनि बताए ।

यता सल्लाहकारहरूद्वारा गठित प्रबन्ध समितिले निर्वाचन समितिलाई नयाँ कार्यसमितिको निर्वाचनका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । प्रबन्ध समिति सदस्य रहेका संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायी टंक राउतको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जानकारी दिए । समितिले बिहीबार निर्वाचनको कार्यतालिका बनाई सदस्यता नवीकरणलगायतका चुनावी कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर