
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आन्तरिक विवाद सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्रपछि पनि अवस्था सामान्य भएको छैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको बुधबारको पत्रमा उल्लेखित भाषाले नयाँ कार्यसमितिको निर्वाचन गराउने म्यान्डेट नदिएको अध्यक्ष भुवनसिंह गुरुङ पक्षधर व्यवसायीहरूको अडान छ । यता सल्लाहकारहरूले गठन गरेको प्रबन्ध समितिले जिल्ला प्रशासन कार्यालयको पत्रले नयाँ कार्यसमितिको निर्वाचन जेठ २४ गते नै गराउने म्यान्डेट दिएको बताएको छ । दुवै पक्षले आफ्नो अडान चर्को रूपमा राखेपछि बिहीबार दिनभरि संघको कार्यालयमा महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपीको कमान्डमा प्रहरी तैनाथ गरिएको थियो ।
दुवै पक्षले आफ्ना तर्क र भनाइ राखेर अडान नछाडेपछि प्रहरीले सबैलाई कार्यालय बाहिर निकालेको थियो । नयाँ निर्वाचन पक्षधर व्यवसायीले जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेठ २४ गते नयाँ कार्यसमितिका लागि निर्वाचन गराउन निर्देशन दिएकाले निर्वाचनको प्रक्रिया अघि बढाउनुको विकल्प नरहेको बताएका छन् भने अर्को पक्षले अध्यक्ष गुरुङ पितृशोकको दुःखद् अवस्थामा रहेका कारण उनको उपस्थिति नहुन्जेलसम्म कुनै प्रक्रिया अगाडि बढाउन नहुने तर्क राखेको छ ।
बिहीबार सिफलस्थित संघको कार्यालयमा देव खोखाली, रामप्रसाद गैरे, विद्यालक्ष्मी बज्राचार्य, कृष्णप्रसाद ढकाल, हिरादेवी बुढाथोकी, तारा रेग्मी, हिमा गुरुङ, सुवर्ण लामा, रविन मेगाले मगर, राज लामा, सविताकुमारी सिंह, जगत गुरुङ, आश्ना क्षेत्री, सुनिता श्रेष्ठलगायतका व्यवसायी जिल्ला प्रशासन कार्यालयले कार्यसमितिका लागि विगतको जस्तो चुनाव नै गराउन भनेर संयोजक तोकेर पत्र नपठाएकाले गुरुङ नेतृत्वको कार्यसमिति वैधानिक रहेको अडान लिएका थिए ।
उनीहरूले अध्यक्ष पितृशोकमा परेको र १३औं दिनको कामसमेत नसकिएको अवस्थामा संघमा तमासा देखाएको भन्दै आक्रोश व्यक्त गरे । चर्काचर्की हुँदा संघको भवन खरिद गर्दा रकम दिए–नदिएको आन्तरिक विषयमा पनि कतिपय व्यवसायीले कुरा उठाउन खाजेका थिए ।
तर जिल्ला प्रशासनले कार्यालयले चुनाव गराउन प्रबन्ध समितिलाई निर्देशन दिएको भन्दै प्रबन्ध समिति सदस्य संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, महासचिव मिलन कट्टेल, कोषाध्यक्ष शितल मैनाली, उपाध्यक्ष राजेन्द्र अधिकारी, संघका पूर्वद्वितीय अध्यक्ष सञ्जु गुरुङ, पूर्वमहासचिव नरेश गेलाललगायतले जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो छलफल र सबै पक्षलाई बुझेर निर्वाचनको मिति नै तोकेर प्रहरीलाई शान्ति सुरक्षाको पत्र पठाएको भन्दै निर्वाचनबाहेक विकल्प नरहेको दाबी गरेका थिए ।
आपसी विवादका बीच प्रबन्ध समितिद्वारा गठित निर्वाचन समितिले भने जेठ २४ गते नयाँ कार्यसमिति निर्वाचन गराउन निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।