२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

काठमाडौं महानगरले भलिबल टोलीलाई गर्‍यो नगदसहित सम्मान

ADV
मध्यान्ह
२०८१ साउन २४ गते १४:१४
काठमाडौं महानगरले भलिबल टोलीलाई गर्‍यो नगदसहित सम्मान

काठमाडौं : काभा महिला नेसन्स भलिबल लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा भारतसँग नेपाल ३-२ को सेटमा पराजित भएको थियो। फाइनल खेल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि  कभर्डहल पुगेका थिए ।

महानगरले टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षक जगदिश भट्टलाई जनही एक लाख रुपैयाँ दिएको हो । सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै महानगरपालिकाका प्रमुख बालेन शाहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए ।

सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव छन् भने थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर रहेका छन् ।

‘उपविजेता टोलीले हामीजस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौं,’ सम्मानका क्रममा प्रमुख शाहले धारणा राखे ।

खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डंगोलले उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरिन् । ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो उर्जा पायौं,’ उनले खेललाई सुदृढ र विकसित बनाउन महानगरपालिका प्रतिवद्ध भएको बताउँदै भनिन्, ‘अरु क्षेत्रमा पक्ष र विपक्ष हुन सक्छ यसप्रकार अन्तरराष्ट्रिय स्तरका खेलमा पक्ष विपक्ष हुँदैन । सबै नेपालीको दृष्टि एउटै हुन्छ ।’

सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे । ‘सन् २०१७ मा स्थापना भएको मध्य एशियाली भलिवल एशोसिएसनको पहिलो वर्षमा नेपालले स्वर्ण पदक हासिल गरेको थियो । महानगरपालिकाको सहयोगबाट हामी त्यो स्थानका लागि प्रयत्न गर्नेछौं,’ भट्टको भनाइ थियो । 

'हिजो मात्र खेल सकिएको हो । आज नै महानगरपालिकाले बोलाएर सम्मान प्रदान गर्‍यो । यसले जितका लागि थप जिम्मेवार बनाएको छ,' टिम क्याप्टेन शाहीले भनिन्, ‘हामीले राम्रो खेल्ने टिमबाट धेरै कुरा सिक्ने अवसर पनि पायौ| ।’

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सामाजिक समितिका संयोजक रामकुमार केसी, वित्त समितिका संयोजक इश्वरमान डंगोल, राजस्व समितिका संयोजक नवराज पराजुलीसहित पदाधिकारीहरुले खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन प्रदान गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise