२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘द्रौपदी’बाट सुजाताको डेब्यू

ADV
मध्यान्ह
२०८१ जेठ २६ गते १७:३३
‘द्रौपदी’बाट सुजाताको डेब्यू

काठमाडौं : नेपाली चलचित्रमा हाल मौलिकता खोजिँदैछ । हिरो, हिरोइन, गुन्डाजस्ता शब्दभन्दा अहिले पात्रहरूतिर ध्यानाकर्षण भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हाल आएर मौलिक चलचित्रको माग बढ्दै गएका कारण पनि हाल यस्ता चलचित्रको निर्माण क्रम बढ्दो छ ।

ऋषिराज आचार्यद्वारा लेखन, निर्माण तथा निर्देशन गरिएको चलचित्र ‘द्रौपदी’ पनि मौलिक कथामा निर्माण भएको चलचित्र हो । कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाँकन गरी हाल सम्पादनमा रहेको चलचित्र ‘द्रौपदी’मा दुई नायिकाले डेब्यू गरेका छन् । उनीहरु हुन्, सुजाता तिमल्सिना र आश्विनी शाही । सुजाता वेब सिरिज, विभिन्न विज्ञापन, म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।

वेब सिरिज तथा विज्ञापनमा दर्शकले गरेको माया देखेर आफूलाई चलचित्र क्षेत्रमा आउन थप प्रेरणा मिलेको उनी बताउँछिन् । वेब सिरिज, म्युजिक भिडियो तथा विज्ञापनमा भन्दा ठूलो पर्दाको चलचित्रमा दर्शकको अझ बढी माया पाउनेमा उनी विश्वस्त छिन् ।

शुरुमा भने यस क्षेत्रमा आउन घरपरिवारले अनुमति नदिएको उनी बताउँछिन् । ‘यो क्षेत्रमा आफ्नो कोही नभएकाले घरमा कन्भिन्स गर्न निकै गाह्रो भयो, तर आफू यो क्षेत्रकै लागि जन्मेको महसुस भएकाले म परिवारलाई बुझाउन लागिरहें । अन्ततः मेरो कलाकार बन्ने सपना पूरा भयो । परिवारले मलाई यो क्षेत्रमा लाग्ने अनुमति दियो,’ उनले भनिन् ।

उनी आफ्नो अभिनयको सपना पूरा गर्नमा आर.बी. मुभिजको भूमिका निकै महत्वपूर्ण रहेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरो सपनाको ढोका आर.बी.मुभिजले खोल्यो । आर.बी. मुभिजमा अभिनयको कक्षा लिएपछि सुहाउँदो भूमिकामा अभिनय गर्ने अवसर पाइँदो रहेछ । मलाई  पनि त्यो अवसर जुर्‍यो ।’ ऋषिराज आचार्यबाट अभिनयको कक्षा लिएकी सुजाता जस्तोसुकै भूमिकाका लागि आफू तयार रहेको बताउँछिन् । तर आफ्नो भूमिकाले समाजलाई सकारात्मक प्रभाव पार्नुपर्ने उनको भनाइ छ ।

चलचित्र ‘चुरिफुरी’ हुँदै ‘द्रौपदी’सम्म सहायक निर्देशकको समेत भूमिका निभाउँदै आएकी  सुजाता बुवा रेवती तिमल्सिना तथा माता अनुका तिमल्सिनाकी छोरी हुन् । उनी काभ्रेमा जन्मिएकी हुन् ।

सानैदेखि कलाकार बन्ने सपना बोकेकी सुजाता आफूलाई नेपाली समाज, नेपाली संस्कृति सुहाउँदो चलचित्रमा काम गर्ने चाहना रहेको बताउँछिन् । हाल स्नातक चौथो वर्षमा अध्ययनरत सुजाता कलाकारितासँगै अध्ययनलाई पनि निरन्तरता दिन चाहन्छिन् । ‘द्रौपदी’बाट शुरु भएको ठूलो पर्दाको यात्रालाई जीवनभर निरन्तरता दिने उनको सोच छ ।

ADVADV

सम्बन्धित खबर

Advertise