२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने ६ विद्यार्थी नगदसहित सम्मानित

Nada
लालबाबु बानिया
२०८३ जेठ २१ गते २०:३१
Shares
एसइईमा उत्कृष्ट नतिजा ल्याउने ६ विद्यार्थी नगदसहित सम्मानित

पर्सा : एसइई परीक्षा २०८२ मा पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै सर्वोत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्य ले नगद पुरस्कारसहित सम्मान गरेका छन् । 

ncell

पर्साको जिराभवानी गाउँपालिका अन्तर्गत रहेको श्री बितो माध्यमिक विद्यालय, जितपुर नावकाटोलामा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–४ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी अन्सु खनाललाई ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो । खनालले एसइई परीक्षा २०८२ मा ३.६६ जीपीए प्राप्त गर्दै पर्सा निर्वाचन क्षेत्र नं. ४ भरिमै प्रथम स्थान हासिल गरेका हुन् । 

शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूलाई उत्कृष्ट नतिजाका लागि प्रेरित गर्ने उद्देश्यले सांसद शाक्यले घोषणा गरेका पुरस्कार कार्यक्रमअन्तर्गत क्षेत्रभित्रका विभिन्न पालिकामा उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीहरूलाई पनि जनही २१ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । 

सम्मानित हुने अन्य विद्यार्थीहरूमा श्री सुकई साह माध्यमिक विद्यालय, भेडिहारीकी रेणु कुमारी (जीपीए ३.५५), श्री काली प्रसाद लाखे माध्यमिक विद्यालय, लंगडीका सज्जीव पटेल (जीपीए ३.५१), श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (जीपीए ३.४८), श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (जीपीए ३.२५) तथा श्री मंगल माध्यमिक विद्यालय, भिस्वाका रञ्जित कुमार साह (जीपीए ३.२२) रहेका छन् । उनीहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले शिक्षा नै विकास र समृद्धिको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च लक्ष्यका साथ अध्ययनमा निरन्तर लाग्न आग्रह गरे । उत्कृष्ट प्रतिभाको सम्मान र प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे । 

प्रधानाध्यापक रामशंकर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सुबोध चौरसिया, श्री काली प्रसाद लाखे माध्यमिक विद्यालयका शिक्षक सुरेन्द्र चौहान, ठोरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सन्तोष श्रेष्ठ, जिराभवानी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रामाकान्त चौधरी, जगरनाथपुर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पशुराम साह, धोबिनी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सुधिल पटेललगायत नेता, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

सहभागीहरूले यस्ता पुरस्कार तथा सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह, हौसला र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन युवा नेता बिनय साहले गरेका थिए । 

ताजा खबर

सम्बन्धित खबर