२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

अनशनस्थल माइतीघर

राज्यका तीनवटै अंगले चाहँदा सुनिने दूरीमा छ, माइतीघर । तर, न्याय खोज्दै त्यहाँ पुगेका यौन हिंसापीडित दिनप्रतिदिन मानसिक रूपमा कमजोर हुँदासमेत सुनुवाइ भइरहेको छैन ।

Nada
भावना पाठक
२०८३ जेठ २२ गते ०६:२०
Shares
अनशनस्थल माइतीघर

काठमाडौं : मिटरब्याज, सहकारी, यौन हिंसाबाट पीडितलगायत आमनागरिकले आफ्नो आवाज सजिलै राख्न पाउने साझा थलो हो, काठमाडौंको माइतीघर मण्डला । आफ्ना मागबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माइतीघरमा दिनहुँजसो आन्दोलन भइरहन्छ । 

श्रीमान्बाट पीडित महिलादेखि प्रेमीबाट विक्षिप्त युवतीसम्म न्याय माग्ने अनशनस्थल हो, माइतीघर । महिनौंसम्म चिसो भुइँमा पाल टाँगेर राज्यलाई न्यायका लागि दबाब दिने समूह पनि यही माइतीघरमै छन् । राज्यलाई दबाब दिन गरिने आन्दोलनहरू सीमित समयमा रोकिन सक्छन् । उखु किसान, मिटरब्याजपीडित, शिक्षक, कर्मचारी जसको प्रत्यक्ष सरोकार सरकारसँग हुन्छ । उनीहरू सरकारसँग सम्झौता गरेर सहमतिमा आन्दोलन तोडेर घर फर्किन्छन् । तर सामाजिक विभेद, बलात्कार, हत्या, हिंसाजस्ता अदालती विषयका मुद्दा बोकेर माइतीघर आउने पीडित वर्षौं र महिनौंसम्म यतै अड्किएका हुन्छन् । 

००० 

धादिङकी शोभा पाठक सदावहार देखिने पीडित अनुहार हो । उनले आफू बलात्कृत भएको भन्दै न्यायको माग राख्दै माइतीघरमा अनशन बस्न थालेको थुप्रै भइसक्यो । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूमाथि बलात्कार गरेको उनको आरोप छ । उनले सामाजिक सञ्जालबाट सुरु गरेको आफ्नो आन्दोलन माइतीघर हुँदै अदालतसम्म पुर्‍याएकी थिइन् । उनले बस्नेतमाथि बलात्कारका साथै भ्रूणहत्याको समेत आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरे पनि अदालतले त्यसलाई तथ्य मान्न सक्ने आधार देखेन । अदालतले बस्नेतमाथि पाठकले दायर गरेको मुद्दा डिसमिस गरिदियो । अदालतले प्रमाण पुगेन भनेर ‘क्लोज’ गरेको मुद्दामा असहमति राख्दै उनले पुनः माइतीघरमा अनशन थालिन् । 

त्यसैक्रममा उनीमाथि महेश बस्नेतकी श्रीमतीले हातपात गरेको खबर आयो ।  प्रहरीले बस्नेतकी पत्नीसहित अन्यलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ । यता पाठक भने बस्नेतलाई जसरी पनि कारबाही गर्नुपर्ने अडानमा छिन् । यही कुराले उनी पछिल्लो समय मानसिक रूपमा कमजोर अवस्थामा पुगेको समेत बताइएको छ । जेठ १६ शनिबार राति करिब १० बजे अकस्मात् उनले सामाजिक सञ्जालमा यो आफ्नो ‘अन्तिम भिडियो’ भन्दै सन्देश पोस्ट गरेकी थिइन् । त्यसपछि उनी सबै सम्पर्कविच्छेद गरेर बेपत्ता भइन् । प्रहरीले १७ आइतबार बिहान उनलाई सकुशल फेला पार्‍यो । उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण र परामर्शका लागि अस्पताल नै भर्ना गरिएको प्रहरीले जनाएको छ ।  

त्यस्तै, आरती रावल जो श्रीमान्बाट वैवाहिक बलात्कारमा परेको भएको भन्दै न्याय माग्दै माइतीघरमा आइन् । दार्चुलाका जिल्ला न्यायाधीश भुवन गिरी उनका पूर्वश्रीमान् हुन् । पूर्वपत्नी रावलले गिरीमाथि सजाय हुनुपर्ने मागसहित सडकबाट आन्दोलन गरिन् । पूर्वपति गिरीलाई कारबाही नभएसम्म सडक नछोड्ने उनको चेतावनी थियो । 

गिरीलाई जिल्ला अदालत काठमाडौंले २०८१ जेठमा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । जिल्लाको फैसलाविरुद्ध उच्च अदालत गएका गिरीले त्यहाँबाट सफाइ पाए । त्यसपछि उनीमाथि सर्वोच्च अदालत मुद्दा दायर भयो । सर्वोच्चले पनि उच्च अदालतकै फैसला सदर गरिदियो । 

सर्वोच्चले गिरीको पक्षमा फैसला गरेपछि उनकी पूर्वपत्नी रावल अहिले माइतीघरमा पेटिकोट आन्दोलन गरिरहेकी छिन् । काठमाडौं अदालतमा मुद्दा दर्ता हुँदादेखि सुरु भएको उनको आन्दोलन फैसला आइसक्दासमेत निरन्तर छ । यसले उनको मानसिक अवस्थामा समेत असर पर्न सक्ने देखिन्छ । रावल पूर्वपतिको मामिलामा मात्र नभएर पछिल्लोपटक हरेक विषयमा माइतीघरमा पत्रकार तथा युट्युबर बोलाएर आफ्नो धारणा राख्दै आएकी छन् । 

माइतीघरमा न्याय माग गर्दै गायिका जमुना खत्रीले गरेको संघर्ष पनि कम छैन । मुगुका एमाले नेता कर्णबहादुर मल्लमाथि बलात्कार र भ्रूणहत्याको आरोप लगाउँदै उनी माइतीघर मण्डलामा लामो समयदेखि आन्दोलनमा छिन् । मल्लले ललितपुरको ग्वार्कोस्थित एक गेस्ट हाउस र बालकुमारीको होटलमा लगेर बलात्कार गरेको तथा पछि गर्भपतन गराउन बाध्य बनाएको उनको आरोप छ । 

विवाहित नेता हुन्, कर्ण मल्ल । तर गायिका खत्रीले उनी विवाहित रहेको थाहा नभएको बताउँदै आएकी छन् । प्रहरीले अनुसन्धानका लागि ५२ वर्षीय मल्ललाई चैत १४ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनको विरुद्धमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ । तर मल्लले भने आफूलाई फसाउन षड्यन्त्र गरिएको भन्दै आरोप अस्वीकार गर्दै आएका छन् । 

सरकारी वकिलको कार्यालयले १० वर्ष कैद सजाय माग गर्दै मुद्दा अगाडि बढाएको भए पनि, आरोपी धरौटीमा छुट्न सक्ने आशंका गर्दै पीडित महिला खत्री न्यायको मागसहित काठमाडौंको माइतीघर मण्डलामा धर्ना र अनशनसमेत बसेकी छन् । आफूले माइतीघर छोडे अभियुक्त मल्ल पनि रिहा हुने डर उनलाई छ । उमेरले ३० वर्ष नकाटेकी खत्रीलाई पनि माइतीघरको राप र तापले प्रौढ देखाउन थालिसकेको छ । पत्रकारले बेलाबेला त्यस्तैखाले प्रश्न गरिदिन्छन् । उनी सडकमै डाँको छाडेर रुन थाल्छिन् । नेता मल्ललाई फसाएको भन्दै उनीमाथि जाइलाग्ने समूह पनि छ जसले उनलाई मानसिक रूपमा विचलित बनाएको छ । 

बझाङकी रश्मिला धामीले पनि आफ्नो आवाज बुलन्द बनाउन माइतीघरकै सहारा लिन पुगिन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै न्यायका लागि काठमाडौंको माइतीघर मण्डलामा अनशन बसिन् । सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेपछि उनी सरकारी वकिल कार्यालय पुगिन् । तर, जिल्ला सरकारी वकिल कार्यालयले उक्त जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरिदियो । सरकारी वकिलको निर्णयविरुद्ध धामी उच्च अदालत पाटन पुगिन् । अदालतले सरकारी वकिलको निर्णय बदर गर्दै ऐन महरमाथि अनुसन्धान अघि बढाउन प्रहरीका नाममा परमादेश जारी गर्‍यो । 

अदालतबाट परमादेश जारी भए पनि प्रभावशाली राजनीतिक नेता भएकाले महरलाई पक्राउ गरी अनुसन्धान नगरेको भन्दै रश्मिला माइतीघर मण्डलामा आमरण अनशन र धर्नामा बसिन् । उनले ‘राजनीति गर्नेलाई बलात्कार गर्ने छुट छ ?’ भन्दै राज्यसँग न्यायको माग गरिन् । 

यता नेता महरले भने रश्मिला धामीमाथि आफूलाई ‘हनी ट्रयाप’मा पारेर रकम माग गरेको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि, उच्च अदालत पाटन परिसरमा प्रहरीलाई देख्नासाथ रश्मिलाले आत्तिएर विष सेवन गरेकी थिइन् । त्यसपछि उनलाई अस्पताल भर्ना गरी प्रहरीले नियन्त्रणमा लिएको थियो । रश्मिलामाथि हनीट्रयाप, अर्को महिलाको चरित्र हत्याको समेत आरोप छ । उनी अदालतमा मुद्दा चलिरहेकै अवस्थामा पनि माइतीघर मण्डलामा आन्दोलन गरिरहेकी हुन्छिन् । उनलाई पनि राजनीतिक पहुँचका आधारमा मुद्दा प्रभावित हुने डर देखिन्छ ।

अदालतमा पुगेको विषय व्यक्तिगत हुन सक्ला, तर माइतीघरमा उठेको विषय व्यक्तिको मात्र हुँदैन, समाजको हुन्छ । माइतीघरमा किन बसेको भनेर प्रश्न गर्न मिल्दैन ।’ - डा.मीना पौडेल, समाजशास्त्री

शोभा पाठक, आरती रावल, जमुना खत्री, रश्मिला धामी प्रतिनिधि पात्र हुन्, जसले न्यायको खोजीमा आफंैलाई कमजोर बनाइरहेका छन् । माइतीघर साझा चौतारी हो । यहाँ हरेक थरिका मनिसहरू भेटिन्छन् । त्यहीअनुसारको संगत हुन्छ । लहै–लहैमा लाग्ने, अरूको इसारामा आफ्नो मुद्दा कमजोर बनाउन जथाभावी स्टेटमेन्ट दिनेजस्ता सामान्य त्रुटिले पीडितमाथि एक प्रकारको नकारात्मक भाष्य निर्माण गरिन्छ । जसले उनीहरूप्रति आममानिसको धारणा पनि त्यसैअनुसारको भइदिन्छ । बुझाइअनुसारको व्यवहार गर्दा पीडितमाथि झन् अत्याचार थपिन्छ जसले उनीहरूलाई मानसिक रूपमा विचलित बनाउँछ । 

‘माइतीघर मात्र यस्तो एउटा थलो हो जहाँ सबैले आफ्नो दुःख, पीडा निर्धक्क भएर राख्न सक्दछन्’ समाजशास्त्री डा.मीना पौडेल भन्छिन्, ‘यहाँ नआएर कहाँ जाने ?, कानुनका काला अक्षरले मात्र न्यायको प्रत्याभूति गर्दैन । कानुनले दिने न्यायभन्दा भावनात्मक न्याय ठुलो हो । आफूले न्याय पाएको आभास नगरेसम्म मानिसले आफ्नो अडान छाड्दैन ।’ सरकारले देशको कुनै ठाउँ प्रदर्शनका लागि खुला नगरेकोले सबै आउने थलो माइतीघर बनेको समाजशास्त्री पौडेल बताउँछिन् । 

‘माइतीघरमा आएर न्याय पाइने हैन, आफूले उठाएको मुद्दा सामाजीकीकरण हुन्छ,’ उनी भन्छिन्, ‘माइतीघरमा आएपछि त्यो मुद्दा व्यक्तिको मात्र हुँदैन । समाजको हुन्छ । अदालतमा पुगेको विषय व्यक्तिगत हुन सक्ला, तर माइतीघरमा उठेको विषय व्यक्तिको मात्र हुँदैन समाजको हुन्छ । माइतीघरमा किन बसेको भनेर प्रश्न गर्न मिल्दैन ।’ माइतीघरमा आउँदा पनि न्याय पाउने अवस्था रहेन भने व्यक्ति विचलित हुने उनको बुझाइ छ । त्यही माइतीघरले पनि पीडितमाथि नै प्रश्न गर्दा भने उनीहरू झन् पीडित हुने उनी बताउँछिन् । कानुनले विश्वास कमाउन नसक्दा पीडितको न्याय माग्ने थलो माइतीघर भएको समाजशास्त्री पौडेलको बुझाइ छ ।

महिला हिंसा, मिटरब्याजी पीडित, उखु किसान, भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्ध हुने विभिन्न धर्ना तथा विरोध प्रदर्शनमा सहभागी हुँदै आएकी अभियन्ता जस्मिन ओझा माइतीघर मण्डला सबैको आवाज राख्न सकिने साझा थलो भएको बताउँछिन् । उनी माइतीघरमा हुने हरेक आन्दोलनमा सहभागी हुन्छिन् । उनीमाथि माइतीघरमा आएर आन्दोलन गर्नुपर्छ भनेर पीडित पक्षलाई जबर्जस्ती उक्साएको आरोपसमेत लाग्ने गरेको छ । उनी यसको खण्डन गर्दै भन्छिन्, ‘माइतीघर सबैको साझा थलो हो । कतिपयलाई माइतीघरमा गएर आवाज राख्न पाइन्छ भन्नेसमेत थाहा छैन । उनीहरूको लागि म माध्यम बनिदिएको हुन सक्छु । तर कसैलाई जबर्जस्ती माइतीघर ल्याएको छैन ।’ उनी कतिपय मुद्दा व्यक्तिको जस्तो देखिए पनि त्यो समाजको मुद्दा भएकै कारण आफू अग्रपंक्तिमा बसेर त्यसको नेतृत्व गरेको भने स्वीकार गर्छिन् ।

पीडितहरू एकैचोटि माइतीघर आएका हुँदैनन् । कतैबाट न्याय नपाउने अवस्थामा आउने हो । आफ्नो कथा भनिरहनुपर्ने, दुःख देखाइरहनुपर्ने हुँदा पीडितहरू झन् पीडित बन्ने गर्छन् ।  जस्मिन ओझा, अभियन्ता

‘पीडितहरू एकैचोटि माइतीघर आएका हुँदैनन् । न्याय माग्ने जति ठाउँमा उनीहरू पुगिसकेका हुन्छन्,’ उनी भन्छिन्, ‘कतैबाट न्याय नपाउने अवस्था आउँदा उनीहरू माइतीघर आउँछन् । आफ्नो कथा भनिरहनुपर्ने, दुःख देखाइरहनुपर्ने हुँदा पीडितहरू झन् पीडित बन्ने गर्छन् । मिडियाले, अभियन्ताले पनि एक समय आएपछि साथ छोडिदिन्छन् । अदालतको फैसलाले पनि न्यायको अनुभूति नदिएपछि फेरि पनि उनीहरू माइतीघरमै आउँछन् ।’ 

राजधानीमै आउँदा न्याय छिटो पाउने पीडितहरूको अपेक्षा रहने उनी बताउँछिन् । ‘अदालतले प्रमाण पूरा हुँदा पनि पीडितको पक्षमा फैसला नगर्दा पीडितहरूमाथि झन् दबाब पर्छ । कतिपय अवस्थामा पीडितहरू आत्महत्या नै गर्ने अवस्थामा पनि पुग्ने गर्छन्,’ उनले भनिन् ।

माइतीघरमा दिनहुँजसो केही न केही विषयमा आन्दोलन भइरहेकै हुन्छ । पछिल्लो समय सुकुम्वासीका समस्यालाई लिएर अभियन्ता सरिष्मा थापा सडकमै आन्दोलन गरिरहेकी छन् । जातीय विभेद अन्त्यको माग गर्दै दीपा नेपाली डेढ महिनादेखि माइतीघरमै सत्याग्रहमा छिन् । अभियन्ता रक्षा बम पनि अहिले सडक छोड्ने बेला नभएको भन्दै सडक केन्द्रित आन्दोलनमै छिन् । माइतीघर सबैको आवाज राख्ने साझा थलो हुँदाहुँदै पनि लामो समयसम्म यही बसेर आन्दोलन गर्नेहरू भने मानसिक रूपमा विचलित हुने गरेको देखिन्छ । न्याय नपाउने हो कि भन्ने डर, समाजको गाली, राजनीतिक दबाब, प्रभाव आदिले उनीहरूलाई मानसिक रूपमा विचलित बनाएको मनोविद्हरू बताउँछन् ।

सम्बन्धित खबर