२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चियामै सरकारको परीक्षा

Nada
२०८३ जेठ २४ गते ०६:१०
Shares
चियामै सरकारको परीक्षा

पछिल्लो समय नेपाल र भारतका बीचमा उच्चस्तरीय भ्रमण र भेटघाट भइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान पाँचदिने भारत भ्रमण सकेर हालै स्वदेश फर्किए । भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री, गृहमन्त्री, विदेशमन्त्री, भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष लगायतसँग भेटर्वार्ता गरे । परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमै छन् । मन्त्री खनाल उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । दुई देशका उच्च अधिकारीहरूबीचका भएको भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी, सुरक्षा, जनस्तरको सम्बन्ध र सीमा व्यवस्थापनजस्ता विषयमा छलफल भएका छन् । यो स्वाभाविक पनि छ । तर त्यस्ता भेटघाटमा आम नागरिकको जीवन र जीविकासँग प्रत्यक्ष जोडिएका विषयले कति स्थान पाइरहेका छन् ? प्रश्न यहाँनेर छ । 

ncell

नेपालले भारतसँग असहज महसुस गरिरहेको पछिल्लो उदाहरण हो– चिया निर्यातमा अवरोध । केही साताअघि हटेको भनिए पनि फेरि यो समस्या फेरि उत्पन्न भएको छ । हेर्दा यो चियाको समस्या जस्तो देखिए पनि दुई देशबीचको विश्वासको विषय हो । साथै चिया उत्पादन र निर्यातले पूर्वी नेपालका हजारौं किसान, मजदुर, उद्योग र तिनमा आश्रित परिवारको आयसँग प्रत्यक्ष सम्बन्ध राख्छ । भारतले लागू गरेको नयाँ परीक्षण प्रक्रिया र मापदण्डका कारण नेपाली चिया निर्यात पुनः प्रभावित भएको छ । भारतका गोदामहरूमा नेपाली चिया थन्किएको छ र निर्यातकर्ताहरू अन्योलमा छन् । परिणाममा नेपालमा रहेका करिब १५ हजार चिया किसान र ६० हजारभन्दा बढी श्रमिक प्रभावित भएका छन् । नेपालबाट वार्षिक करिब ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुने गरेको छ । यसमा अवरोध आउँदा त्यसको असर स्थानीय अर्थतन्त्रदेखि राष्ट्रिय निर्यातसम्म पर्छ । यसबाहेक भारतले बेला–बेला अदुवा, अलैंची, दाल, तरकारीलगायत नेपाली कृषिजन्य वस्तुमा क्वारेन्टिन वा गुणस्तरको कारण देखाउँदै अवरोध सिर्जना गरेका उदाहरण छन् । यस्तो अवस्थामा उच्चस्तरीय सरकारी वार्ता, प्राविधिक समिति र कूटनीतिक संवादमार्फत समस्या समाधान हुने गरेको छ ।

यसपटक पनि दुई देशका बीचमा उच्चस्तरीय भ्रमण र भेटघाट भइराखेको छ । त्यसक्रमा रणनीतिक साझेदारीका विषय आइरहेका छन् । नागरिकको तत्काल महसुस गर्न सक्ने चिया निर्यात जस्ता महसुस गर्ने विषय प्राथमिकतामा परेको देखिन्न । तर, यसमै सरकारको परीक्षा हुनेछ । यसकारण नेपाल सरकारले भारतसँगको सम्बन्धलाई रणनीतिक, राजनीतिक र कूटनीतिक दृष्टिले मात्र नहेरोस् । सीमामा रोकिएको चिया, अवरुद्ध निर्यात, क्वारेन्टिनमा अड्किएका कृषिजन्य वस्तु, व्यापारिक अवरोध र आम नागरिकले भोग्ने समस्यालाई प्राथमिकतामा राखोस् । चिया निर्यातमा देखिएको अवरोध हटाउन पहल लिओस् । 

ताजा खबर

सम्बन्धित खबर