
नेपाल विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरूको जोखिममा रहेको छ । मौसमअनुसार बाढी, पहिरो, डुबान, सिरेटो, हिमपहिरो, हिमताल फुट्ने जोखिम, शीतलहर, तातो हावा (लू), हुरीबतास, डढेलो र चट्याङजस्ता विपद्हरू आइरहन्छन् । भूकम्प जुनसुकै बेला पनि आउन सक्ने विपद् हो । यी प्राकृतिक विपद्का कारण हरेक वर्ष हजारौंको संख्यामा मानिसको मृत्यु हुने गरेको छ । ठुलो संख्यामा मानिस घाइते तथा घरबारविहीन भएका छन् । यस्तो प्राकृतिक जोखिमले प्रभावित देशको शिक्षा प्रणालीको गोरेटोरूपी पाठ्यक्रममा प्राकृतिक प्रकोप र यसबाट बच्न सकिने उपायका विषयवस्तु पर्याप्त रूपमा समावेश गरिएको पाइँदैन ।
अमेरिकी पाठ्यक्रमविद् ह्यारोल्ड बर्नार्ड अल्बर्टीले, ‘विद्यालयले विद्यार्थीको शिक्षणका लागि प्रयोग गर्ने सम्पूर्ण अनुभव नै पाठ्यक्रम हुन्’ भनेका छन् । पाठ्यक्रमसम्बन्धी अल्बर्टीको यो भनाइलाई हाम्रो देशको सन्दर्भमा हेर्दा प्राकृतिक विपद्हरूको अनुभवलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक ठानिन्छ । हाम्रो समाजको यथार्थले पनि विपद् शिक्षाको खाँचो रहेको देखाउँछ । हरेक वर्ष वर्षायाम लागेपछि बाढी, पहिरो र डुबानको त्रासले समाजलाई पिरोलिरहन्छ । हाम्रा पहाडका फेदीमा नदीहरू बगेका छन् । नदी किनारका धेरैजसो ठाउँहरूमा उब्जाउ भूमि रहेकाले बस्ती विकास भएको छ । यी नदी किनारका बस्तीहरूमा वर्षाको समयमा डुबानका कारण ठुलो धनजनको क्षति व्यहोर्नुपरेको छ ।
अमेरिकी पाठ्यक्रमविद् हिल्डा टाबाले ‘पाठ्यक्रम सिक्ने एउटा योजना हो’ भनेकी छिन् । टाबाका अनुसार पाठ्यक्रम केवल विषयवस्तुको सूची मात्र नभएर व्यक्ति तथा समाजको आवश्यकता अनुसारको ज्ञान सिक्ने योजना हो । यो योजनाअन्तर्गत विद्यार्थीलाई आवश्यकताका आधारमा व्यावहारिक ज्ञान सिकाउनुपर्दछ । हाम्रो समाजको आवश्यकताको कुरा गर्दा एउटा अत्यन्त महत्वपूर्ण पक्ष प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन हुन आउँछ ।
प्राकृतिक विपद् समाजको एउटा डरलाग्दो समस्या भएकाले हाम्रो शिक्षा प्रणालीमा नागरिकले यस विपद्बाट आफू बच्न र अरूलाई पनि बचाउन सकिने उपाय तथा विधिको ज्ञान आर्जन गर्नु आवश्यकता मात्र होइन, अनिवार्य सर्त हुन आउँछ । युनेस्कोको भनाइमा ‘पाठ्यक्रम भनेको ती सबै अनुभवहरूको योगफल हो, जुन कुनै निश्चित शैक्षिक तहमा विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यले शिक्षा प्रणालीद्वारा प्रयोग गरिन्छ’ भन्ने छ । युनेस्कोको भनाइलाई हाम्रो देशको विपद् शिक्षाको सन्दर्भमा जोडेर हेर्दा पाठ्यक्रममा तहगत विद्यार्थीहरूलाई प्रकृतिजन्य प्रकोपको बारेमा सक्षम बनाउने उद्देश्य हुनुपर्दछ भन्ने अर्थ लाग्दछ ।
हाम्रो देशको विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययनमा शिक्षितहरूले प्राकृतिक प्रकोपबाट जीवन रक्षा गर्न सक्ने ज्ञान तथा सीपबाट वञ्चित हुनुपरेको अवस्था छ । राज्यले विपद् व्यवस्थापनलाई छुट्टै पाठ्यपुस्तक बनाउन आवश्यक नठाने तापनि यो विषयवस्तुलाई विज्ञान, सामाजिक शिक्षा, स्वास्थ्य तथा वातावरण शिक्षाजस्ता विषयमा विद्यार्थीको तहगत स्तरअनुसार समावेश गर्न सकिन्छ । विपद् व्यवस्थापन शिक्षालाई सैद्धान्तिक रूपमा पढाउने विषय मात्र नबनाएर व्यावहारिक अभ्यासमा समेत जोड दिनुपर्दछ । पाठ्यक्रममा प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण गर्ने विधि, पूर्वतयारी, उद्धार तथा पुनस्थापना सम्बन्धी व्यावहारिक ज्ञान तथा सीपको विषयवस्तुलाई पर्याप्त मात्रामा समावेश गर्न जरुरी छ ।
हाम्रो शिक्षा प्रणालीको तहगत पाठ्यक्रममा विपद् शिक्षासम्बन्धी विषयवस्तुलाई शिक्षण सिकाइमा समावेश गर्न विलम्ब गर्नुहुँदैन । शिक्षाविद् बेन्जामिन फ्यांकलिनले ‘तयारी गर्न असफल हुनु भनेको असफल हुनकै तयारी गर्नु हो’ भनेका छन् । वास्तवमा हाम्रो देशको सन्दर्भमा शिक्षाले प्राकृतिक प्रकोपबाट आफू बच्न र अरूलाई बचाउन सक्ने जनशक्ति तयार गर्न सकेको छैन । बेन्जामिनको शब्दमा विपद् व्यवस्थापनको विषयवस्तुलाई पाठ्यक्रममा समावेश नगर्नु भनेको राज्यले समाजलाई प्रकृतिजन्य विपद्बाट सुरक्षित रहनका लागि असफल बनाउनु ठहरिन्छ ।
प्राकृतिक प्रकोपको जोखिमका कारण ठुलो धनजनको क्षति व्यहोरी रहने हाम्रो जस्तो समाजमा भूगोल तथा मौसम अनुसार आइपर्ने विपद्हरूबाट बच्नका लागि विपद् शिक्षाको ज्ञान चाहिन्छ । प्राकृतिक प्रकोपको बारेमा सचेतनाका लागि विपद् शिक्षा आवश्यक ठानिन्छ । समाजले विपद्सम्बन्धी पूर्वतयारी, विपद्को समयमा अपनाउनुपर्ने सचेतना, प्रभावितलाई आवश्यक सहयोग, विपद्पछाडि गर्नुपर्ने कामबारे जानकार तथा सचेत भएमा विपद् रोकथाम वा क्षति न्यूनीकरण गर्न सक्दछ । प्राकृतिक विपद्को चपेटामा परेकाहरूलाई सहयोग गर्न सक्दछ । यस अर्थमा पाठ्यक्रममा विपद् व्यवस्थापनको ज्ञान समावेश गर्न आवश्यक देखिन्छ ।
पाठ्यक्रममा विपद् शिक्षालाई प्रभावकारी रूपमा समावेश गर्न सकिएमा विद्यार्थीहरूले प्राकृतिक विपद् आउने कारणहरू, जोखिम पहिचान, पूर्वतयारीको ज्ञान र विपद्को समयमा अपनाउनुपर्ने उपाय सिक्न सक्दछन् । विद्यार्थीहरूले प्रकृतिजन्य विपद्को विस्तृत ज्ञानका साथै उचित निर्णय लिन सक्ने क्षमताको विकास गर्न सक्दछन् । प्रकृतिजन्य प्रकोपसम्बन्धी ज्ञान प्राप्त भएपछि आफू मात्र नभएर आफ्नो परिवार तथा समुदायलाई नै मद्दत गर्न सक्दछन् । यस कोणबाट हेर्दा पाठ्यक्रममा विपद् व्यवस्थापनको विषयवस्तुलाई शिक्षण सिकाइको माध्यम बनाउन ढिला गर्नुहुँदैन ।
समाजमा प्राकृतिक प्रकोपको सम्बन्धमा ‘परेपछि आत्तिने’ भनेझैं जब समाजमा प्राकृतिक आपत्ति आउँछ, तब धनजनको क्षतिको बारेमा हल्लाखल्ला हुने गर्दछ । धनजनको क्षतिसम्बन्धी विषय समाचारका हेडलाइन बनेर आउने गर्दछन् । सामाजिक सञ्जालमा दुःख प्रकट गर्ने गरिन्छ, तर प्राकृतिक विपद्बाट जनताको सुरक्षा गर्नका लागि न त सरकारको पूर्वतयारी सन्तोषजनक छ, न त जनता नै सचेत छन् । जब घटना पुरानो हुँदै जान्छ, अर्को विपद् नआउन्जेल सरकार, जनता तथा सरोकारवालाहरू कानमा तेल हालेर बसेको देखिन्छ । वास्तवमा हाम्रो जस्तो देशमा विपद् शिक्षाले दिगो विकासको अवधारणालाई समेत सहयोग गर्दछ ।
नेपालमा आइपर्ने प्राकृतिक प्रकोप भिन्न प्रकारका छन् । भूकम्पबाहेक कतिपय विपद्हरू भूगोलको आधारमा आइलाग्छन् भने कतिपय मौसमअनुसार आउने गर्दछन् । यस सन्दर्भमा राज्यले विद्यालय तहदेखि विश्वविद्यालयसम्मको तहगत पाठ्यक्रम र पाठ्यपुस्तकमा भूगर्भीय संरचना, प्राकृतिक प्रकोप आउने कारण, पूर्वतयारी, आउँदै गरेको अवस्थामा गर्नुपर्ने कार्य, आइसकेपछि अपनाउनुपर्ने सुरक्षा विधि तथा प्रकोपमा परेका पीडितलाई गर्नुपर्ने मानवीय सहयोगलगायतको ज्ञान सिकाउनुपर्दछ । यसका साथै विपद्बाट पर्ने पारिवारिक तथा सामाजिक–मनोवैज्ञानिक प्रभाव, मानसिक ट्रमा (आघात), यसको असर, तत्कालीन तथा दीर्घकालीन रूपमा गर्नुपर्ने उपायलगायतको ज्ञान तथा समस्या निराकरणका उपाय तहगत पाठ्यपुस्तकमा समावेश गरी शिक्षण सिकाइको माध्यम बनाएमा प्राकृतिक प्रकोपको क्षतिलाई निःसन्देह रूपमा न्यूनीकरण गर्न सकिन्छ ।
राज्यले आजका विद्यार्थीलाई विद्यालय शिक्षाबाट नै विपद् सचेतना, पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायसहितको शिक्षा प्रदान गरी अबको पुस्तालाई प्राकृतिक प्रकोपसँग जुध्न सक्ने सक्षम नागरिकका रूपमा उत्पादन गर्नुपर्दछ । शिक्षाले नागरिकलाई सुरक्षित, सक्षम र जिम्मेवार बनाउन सकेन भने शिक्षा अधुरो र अपुरो हुन्छ । विपद् व्यवस्थापनको ज्ञान शैक्षिक सुधारको विषय मात्र होइन, यो विषय नागरिक सुरक्षा र राष्ट्रिय हितसँग पनि गाँसिएको छ । शिक्षा प्रणालीअन्तर्गतको पाठ्यक्रममा प्राकृतिक प्रकोपको पहिचान, प्रभाव र न्यूनीकरण उपायको ज्ञान शिक्षण सिकाइको मुख्य विषय बन्नुपर्दछ ।
शिक्षाको उद्देश्य केवल ज्ञान आर्जन गर्नु मात्र होइन, यसले शिक्षितलाई जीवन बाँच्ने कला सिकाउनुपर्दछ । आज विपद् व्यवस्थापनमा गरिएको शैक्षिक लगानीले भोलिको पुस्तालाई जीवनमा प्रकृतिजन्य प्रकोपसँग जोडिएका जोखिमसँग संघर्ष गर्दै विजय हासिल गर्न सक्ने सक्षम नागरिक बनाउन सक्दछ । प्रकृति र मानव बीचको संघर्ष चलिरहने प्रक्रिया हो । यो प्रक्रियामा आइपर्ने प्रकृतिजन्य विपद्सँग मुकाबिला गर्न सक्ने ज्ञान आर्जन गर्नु अनिवार्य सर्त हुन आउँछ । तसर्थ, राज्यले विद्यालय तहदेखि उच्च शिक्षासम्मका पाठ्यपुस्तकमा प्राकृतिक प्रकोपसम्बन्धी विषयवस्तुलाई व्यापक रूपमा समावेश गर्न वाञ्छनीय ठानिन्छ ।