
पछिल्लो समय देशका विभिन्न स्थानमा भएका हत्या तथा जघन्य अपराधका घटनाले समाजलाई नराम्ररी झस्काएका छन् । घरायसी विवाद, पारिवारिक कलह, आर्थिक लेनदेन र सामान्य भनाभनसम्मका विषय ज्यान लिनेजस्तो जघन्य अपराधमा परिणत भइरहेका छन् । यस्ता घटनाले समाजमा बढ्दै गएको असहिष्णुता र आपराधिक मनोवृत्तिलाई देखाउँछ । नेपाल प्रहरीको अपराध ग्राफ डरलाग्दोसँग उकालो लागेको छ । बितेका १० महिनामा मात्रै ४२९ जनाको हत्या भएको छ । अधिकांश घटनामा अपराधी र पीडितबीच पहिलेदेखिको चिनजान, सम्बन्ध वा विवाद रहेको देखिन्छ । यसले धेरै अपराध अचानक नभई लामो समयदेखि बढ्दै गएको तनाव र द्वन्द्वको परिणाम भएको पुष्टि गर्छ । तर हाम्रो ध्यान अझै पनि अपराध भइसकेपछिको अनुसन्धान र कारबाहीमा केन्द्रित छ । अपराध भएपछि दोषी पक्राउ पर्ने, मुद्दा चल्ने र सजाय हुने प्रक्रिया आवश्यक भए पनि त्योभन्दा महत्वपूर्ण अपराध हुनैबाट रोक्नु हो । अपराध किन बढिरहेको छ ? समाज किन हिंसात्मक बन्दै गएको छ ? परिवार र समुदायभित्रको सहिष्णुता किन घट्दै गएको हो ? यस्ता प्रश्नको गहन खोज अध्ययन हुन सकेको छैन ।
समाजमा बर्सेनि बढ्दै गएको अपराध नियन्त्रण गर्न अहिले भएका कानुनी कारबाही मात्र पर्याप्त छैनन् । अपराधको प्रवृत्ति, कारण र जोखिमका पक्षको निरन्तर अध्ययन हुनु जरुरी छ । विकसित मुलुकहरूमा अपराधमा संलग्न व्यक्तिको मनोविज्ञान, सामाजिक अवस्था र व्यवहारबारे अनुसन्धान गरेर अपराध न्यूनीकरणका नीति बनाइन्छ । नेपाल प्रहरीले अपराधको तथ्यांक राख्ने र विश्लेषण गर्ने गरेको भए पनि अपराध रोक्ने नीति तथा योजनाबद्ध रणनीति बनाउनेतर्फ ध्यान पुगेको देखिँदैन । एउटा घटना घटेपछि अभियुक्तलाई पक्राउ गरेर अदालतमा मुद्दा चलाएपछि कारबाहीको प्रक्रिया टुंगियो भनेझैं गरिन्छ । जुन उपयुक्त विधि होइन ।
राज्यले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने मात्र होइन, अपराध जन्माउने कारणको खोजी गर्नुपर्छ । घरेलु हिंसा, मानसिक स्वास्थ्य समस्या, मदिरा दुरुपयोग, सामाजिक सञ्जालको नकारात्मक प्रभाव, पारिवारिक विखण्डन तथा सामाजिक असुरक्षाजस्ता पक्षको गहन सामाजिक अध्ययन गरी दीर्घकालीन नीति बनाउनुपर्छ । बढ्दो आपराधिक मानसिकतालाई निस्तेज पार्न राष्ट्रिय अभियान चाल्नुपर्छ । त्यसका लागि प्रहरी, स्थानीय तह, विद्यालय, समुदायलगायत सरोकारवाला निकायबीच प्रभावकारी समन्वय चाहिन्छ । किनभने अपराध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी होइन, यो सिंगो राज्य र समाजको साझा दायित्व हो ।