
नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्र लामो समयदेखि उपेक्षित रहँदै आएको छ । निरन्तर चर्चा गरिए पनि यो क्षेत्र राज्यको प्राथमिकतामा पर्न सकेको थिएन । राज्यका तर्फबाट ठोस कदम नचालिएको भन्दै विज्ञान–प्रविधि क्षेत्रबाट गुनासो आइरहेका बेला सरकारले बजेटबाटै यसलाई सम्बोधन गर्ने कोसिस गरेको छ । प्रशासनिक सुधार र खर्च कटौतीको उद्देश्यसहित मन्त्रालयहरूको संख्या घटाए पनि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय नै गठन गरेको छ । यस निर्णयले राज्यले अनुसन्धान र आविष्कारलाई औपचारिक रूपमै प्राथमिकतामा राखेको सन्देश दिएको छ । शिक्षा मन्त्रालयबाट छुट्याएर नवप्रवर्तनलाई समेत समेट्ने गरी मन्त्रालय बनाइनु आफैंमा महत्वपूर्ण कदम मानिएको छ ।
नयाँ मन्त्रालयको जिम्मेवारी लामो समयदेखि यही क्षेत्रमा लबिइङ गर्दै आएका स्वतन्त्र सांसद महावीर पुनलाई दिइएको छ । उनी नवप्रवर्तनकै क्षेत्रमा सक्रिय परिचित व्यक्ति हुन् । निजी पहलमा आविष्कार केन्द्र खोलेर ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्याउने, स्वास्थ्य सामग्री विकास गर्ने र आपत्कालीन सेवामा उपयोगी प्रविधि निर्माण गर्नेजस्ता कामले उनी परिचित छन् । अन्तरिम सरकारमा शिक्षामन्त्री रहेका उनी राजीनामा दिएर चुनाव लड्न गएका थिए । नेपालमा विज्ञान, प्रविधिका क्षेत्रमा धेरै सम्भावना भए पनि अवसरको अभावमा धेरै युवा बिदेसिने अवस्था छ । नवप्रवर्तन कमजोर हुँदा रोजगारी सिर्जना र उत्पादनशीलता बढ्न सकेको छैन । यस्तो बेला नयाँ मन्त्रालय र सोही कामका लागि हुटहुटी बोकेका अभियन्तालाई नेतृत्वमा ल्याउनुले सरकारले विज्ञान र प्रविधिको विकासलाई प्राथमिकतामा राखेको देखिन्छ ।
त्यसो त, मन्त्रालय गठनले मात्र अहिलेका समस्या समाधान हुने होइन । आगामी वर्षको बजेटमा एक प्रतिशत रकम विनियोगन गरेकाले सरकारी पर्यत्न प्रभावकारी हुन सक्छ । अनुसन्धानमैत्री वातावरण निर्माण, स्टार्टअपलाई प्रोत्साहन, प्रविधि हस्तान्तरण र विश्वविद्यालय तथा उद्योगबीच सहकार्य बढाउनसक्दा अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । त्यसअर्थमा मन्त्री पुनका लागि चुनौती र अवसर बराबरै देखिन्छ । विगतमा व्यक्तिगत पहलमा अघि बढेका उनका लागि अब संस्थागत प्रणाली निर्माण गर्नुपर्ने चुनौती छ । त्यसका लागि पनि सबैभन्दा पहिले नीतिगत स्पष्टता, पारदर्शिता र दीर्घकालीन दृष्टिकोण बनाउनुपर्छ । अहिलेको युगमा विज्ञान र प्रविधि राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो । रोजगारी सिर्जना, उत्पादन वृद्धि र आमनागरिकको जीवनस्तर सुधारमा यसले खास भूमिका रहन्छ । त्यसअर्थमा नवप्रवर्तनबाट राष्ट्र निर्माण गर्ने जिम्मेवारी अब महावीर पुनको काँधमा आइपुगेको छ ।