
पहिले मिर्गौला रोग उमेर ढल्किएका मानिसको समस्या मानिन्थ्यो । तर पछिल्ला वर्षहरूमा युवावस्थामै मिर्गौला रोग देखिने क्रम बढ्दो छ । चिकित्सकहरूका अनुसार १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा मिर्गौलासम्बन्धी समस्या बढिरहेको छ । यो स्वास्थ्यको विषय त हो नै, हाम्रो जीवनशैलीले निम्त्याएको गम्भीर समस्या बन्दै गएको छ । चिकित्सकहरू मिर्गौला रोगलाई ‘साइलेन्ट किलर’ भन्छन् । किनभने यसको प्रारम्भिक चरणमा खासै लक्षण देखिँदैन । धेरै बिरामीमा समस्या जटिल भइसकेपछि मात्र रोगको पहिचान हुने गरेको छ । त्यसबेलासम्म बिरामीको अवस्था बिग्रिसकेको र खर्चिलो बन्न सक्छ । डायलाइसिस वा प्रत्यारोपणसम्म गर्नुपर्ने अवस्था आउँछ ।
चिकित्सकहरूका अनुसार अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मोटोपन, मधुमेह र उच्च रक्तचाप मिर्गौला रोगका मुख्य कारण हुन् । पर्याप्त पानी नपिउने, जंक फुड बढी खाने, मदिरा र अस्वस्थकर पेयपदार्थको अत्यधिक प्रयोग गर्ने र नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले जोखिम बढाउँछ । युवा पुस्ताको ठुलो हिस्सा आज यस्तै दैनिकी बाँचिरहेको छ । सोहीकारण मिर्गौलासम्बन्धी समस्या पनि बढिरहेको छ । मिर्गौला रोगको उपचार सम्भव छ । सरकारले निःशुल्क डायलाइसिस र सहुलियतमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध गराउँदै आएको छ । देशका विभिन्न अस्पतालमा हजारौं बिरामीले यस्तो सुविधा पाइरहेका छन् । तर उपचारभन्दा पहिले रोकथाममा ध्यान दिने कुरामा राज्य, समुदाय र स्वयं व्यक्ति चुकिरहेका छन् । रोग लागेपछि अस्पताल धाउनुभन्दा रोग लाग्न नदिनेतर्फ हाम्रो ध्यान जानुपर्छ । यसका लागि ठुलो खर्च आवश्यक पर्दैन । दैनिक पर्याप्त पानी पिउने, सन्तुलित भोजन गर्ने, जंकफुड कम खाने, नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्नेजस्ता बानीले पनि जोगिन सकिन्छ । मधुमेह र रक्तचाप भएका व्यक्तिले नियमित परीक्षण गराउने र सामान्य लक्षण देखिनासाथ अस्पताल जाने बानी बनाउनुपर्छ ।
स्वास्थ्य हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो । आधुनिक जीवनशैलीको नाममा समाजमा अस्वस्थ खानपिन र व्यवहार अपनाउने प्रवृत्ति बढ्दै गएको छ । यसको गलत नतिजा स्वास्थ्यमा देखिइरहेको छ । त्यसैले समयमै सचेत हुनु आवश्यक छ । स्वस्थ जीवनको आधार औषधिभन्दा ज्यादा सन्तुलित जीवनशैली हो । रोग लागिसकेपछि उपचार खोज्नुभन्दा पहिले रोगबाट बच्ने उपाय खोजौं ।