
दोहा, कतार : नेपाली लोकदोहोरी क्षेत्रका निकै रुचाइएका र युवापुस्तामाझ लोकप्रिय जोडी, गायक शक्ति कुमार गोदार र गायिका अस्मिता डल्लाकोटीको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत ‘हुन्न भनेकी’ सार्वजनिक भएको छ । गीतको अडियो रिलिज हुनुअघि नै सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइसकेको यस गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको हो ।
सामाजिक सञ्जाल इन्फ्लुएन्सरका रूपमा समेत परिचित गायक गोदारले यस गीतमा शब्द र संगीत सिर्जना गरेका छन् । यस गीतमा गायक गोदार र गायिका डल्लाकोटी स्वयंको अभिनय रहेको छ भने भिडियो राजेश घिमिरेले खिचेका हुन भने निर्देशन र कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् । अस्मिता डल्लाकोटीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।
गीतको भाव र कथावस्तु निकै रोचक छ। गीतमा एक युवाले युवतीलाई मन पराएर विवाहको प्रस्ताव राख्ने र आफूलाई योग्य साबित गर्न खोज्ने दृश्य छ भने अर्कोतर्फ युवतीको आफ्नो सुन्दरता र व्यक्तित्वप्रतिको आत्मविश्वास र घमन्ड मिसिएको छ । गीतको शब्दमा ‘हुन्न भनेकी मुखले, हुन्न भने नि मनले माया बुन्न भनेकी’ भन्दै प्रेमको सुरुवात र दुई पात्र बिचको नोकझोकलाई जीवन्त बनाइएको छ । केटाले ‘त्रिशूलीमा माछा नाच्यो हर्ष लहर’ भन्दै प्रस्ताव गर्दा केटीले उमेर र व्यक्तित्वको कुरा गर्दै आत्मविश्वासका साथ ‘राम्रैले त भाउ नै खान्छन्’ भन्ने शैलीमा प्रस्तुत भएकी छिन् । केटाले युवतीलाई आकर्षित गर्न गर्ने प्रयास र युवतीले आफू जे छु त्यसमै सन्तुष्ट छु भन्ने शैलीमा दिने प्रतिवादले गीतको कथावस्तुलाई थप आकर्षक बनाएको छ ।
नेपाली लोक स्तगीको बजारमा दैनिक जसो नयाँ गीतहरू सार्वजनिक भइरहेको अवस्थामा यो जोडीको सिर्जनाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ । सामाजिक, सार्वजनिक र व्यक्तिगत जीवनमा समेत निकै शान्त र शालीन व्यक्तित्वका धनी यो जोडीको विगतका प्रत्यक्ष दोहोरी र सिर्जनाहरूलाई दर्शकले सधैं माया दिँदै आएका छन् । आफूलाई अत्यन्त राम्री भएकोमा गर्व र आत्मविश्वास बोकेकी युवती र उनलाई पाउन लालायित युवाबीचको नोकझोक समेटिएको यस गीतले नेपाली कला संगीतमा थप रौनकता थप्ने अपेक्षा गरिएको छ ।