
दोहा, कतार : नेपाली हिपहप क्षेत्रका चर्चित र्यापर भियोमा (सुरज क्षेत्री) ले ब्याङ्गर टुर २०२६ अन्तर्गत कतारमा सांगीतिक प्रस्तुति दिएका छन् । शुक्रबार राति आयोजित कार्यक्रममा उनलाई प्रत्यक्ष सुन्न र हेर्न सयौँको सङ्ख्यामा नेपाली दर्शकहरू टेम्पो क्लब परिसरमा उत्सुकतापूर्वक प्रतीक्षारत थिए ।
साँझदेखि नै भियोमाको प्रतीक्षामा रहेका दर्शकहरूको प्रतिक्षाको घडी राति करिब ११ बजे समाप्त भयो। क्लब प्रवेश गरेका व्योमा दर्शकहरूको माझबाटै स्टेजतर्फ उक्लिँदा उपस्थित दर्शकको उत्साह चरममा पुगेको थियो । स्टेजमा पुग्नासाथ उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दै माहोललाई थप रोमाञ्चक बनाएका थिए ।
उनले ‘ झापा ५’ लगायतका गीतहरू गाएर युवापुस्तालाई प्रेरणासमेत दिएका थिए। प्रस्तुति दिने क्रममा देशको परिवर्तन र युवाको भूमिकाबारे धारणा राख्दै उनले परिवर्तन चाहने युवाहरूले अहिले बालेन शाहलाई आशाको केन्द्रका रूपमा हेरेको उल्लेख गरे । “यदि भोलिका दिनमा बालेनले पनि अपेक्षाअनुसार काम गर्न सकेनन् भने अर्को पुस्ता र सक्षम युवाको पालो आउँछ,” भन्दै उनले राम्रो काम गर्ने नेतृत्वप्रति विश्वास व्यक्त गरे ।

अत्यन्त सरल, सौम्य र मिजासिलो रूपमा प्रस्तुत भएका भियोमाले दर्शकमाझ पुगेर समेत गीत गाएका थिए । दर्शकको विशेष आग्रहमा उनले आफ्नो चर्चित गीत ‘ब्याङ्गर’ तीन पटक प्रस्तुत गर्दा हल ताली र हुटिङले गुञ्जिएको थियो । कार्यक्रमका क्रममा उनले आफ्नै प्रोडक्सनका लोगो तथा आफ्नो नाम अंकित टी–सर्टहरू समेत केही भाग्यमानी प्रशंसकलाई उपहारस्वरूप वितरण गरेका थिए। उनको यो आत्मीय व्यवहारले दर्शकलाई थप प्रभावित बनाएको थियो ।
कतारका नाइट क्लबहरूमा नेपाली समुदायले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरूमध्ये यो कार्यक्रमलाई सफल र स्मरणीय कार्यक्रमका रूपमा लिइने सहभागीहरूको प्रतिक्रिया थियो । उक्त क्लबलाई उदयपुरका सन्दीप भट्टराई र तनहुँका रमेश केसीले संयुक्त रूपमा सञ्चालन गर्दै आएका छन् भने कार्यक्रमको सहजीकरण रोशन अर्यालले गरेका थिए । भियोमाको ऊर्जा, सरलता र दर्शकसँगको आत्मीय सम्बन्धले सांगीतिक साँझलाई अविस्मरणीय बनाएको थियो । भियोमाको दुबई र कतारको टुर एस.ए.बी. इभेन्टले आयोजना गरेको थियो l