
नवलपरासी : पश्चिम नवलपरासी प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण अभियानअन्तर्गत गरिएको विशेष निगरानीका क्रममा प्रहरीले १ हजार २ सय ४५ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गर्दै एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ निवासी ३१ वर्षीय गोपी लोनिया रहेका छन् । आइतबार साँझ करिब ७ बजे उक्त क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको थियो ।
सोही क्रममा बाटोमा हिँडिरहेका लोनियाको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनले बोकेको प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा डायजेपाम ४१५ एम्पुल, बुप्रेनोर्फिन ४१५ एम्पुल र ब्रोमोथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन ४१५ एम्पुल फेला परेको प्रहरीले जनाएको छ । बरामद लागूऔषधको कुल संख्या १ हजार २ सय ४५ एम्पुल रहेको छ ।
प्रहरीले बरामद लागूऔषधसहित लोनियालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । जिल्ला अदालत नवलपरासीबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाइएको छ । लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ ।