२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

परदेशको पीडा : साइप्रस सपनाको शहर, दुःखको लहर

ADV
२०८१ साउन २६ गते ०६:३५
परदेशको पीडा : साइप्रस सपनाको शहर, दुःखको लहर

–नुमेश घर्ती मगर

पछिल्लो समय नेपालीहरूको रोजाइमा साइप्रस परेको छ । नेपाली महिलाहरू प्रायः घरेलु कामका लागि यहाँ आउँछन् भने पुरुषहरु होटेल तथा रेस्टुरेन्टमा काम गर्न यहाँ आउँछन् । लगानी आठदेखि दस लाख लाग्ने र छिटो भिसा झर्ने अनि युरोप देश भएकाले पनि सुखद सपना बुन्दै पुग्छन् । यहाँदेखि अन्य युरोपियन मुलुकमा सजिलै छिर्न पाइने सोचले झन् उत्साहित हुन्छन् । तर, सपना र वास्तविकता भने एकदमै फरक छ ।

नेपाल एजेन्ट पनि के भनौँ सम्मान बढी भयो दलाल नै ठिक छ । उसले मान्छे खोजेर बेचेबापत चर्को शुल्क असुल्छ । कागजात तयार पारेर त्रिभुवन विमान स्थलभित्र छिराइदिएपछि फर्केर हेर्दैन । फोन पनि उठाउँदैन । अब सम्पूर्ण जिम्मा साइप्रस दलालको हो भनेर ढुक्क हुन्छ । साइप्रसका बिचौलिया यति गैरजिम्मेवार हुन्छन् कि विमानस्थलमा लिन पनि आउँदैन । नयाँ मान्छे । भिन्न ठाउँ । फरक भाषा । कति गाह्रो होला ? त्यहीँ केही सपना चकनाचुर हुन्छ । मनोबल गिर्न थाल्छ ।

बस वा ट्याक्सीद्वारा दलालको कार्यालयमा पुग्छन् । यात्राबारे सोध्नु त धेरै परको कुरा हो, चिया/पानी पनि सोध्दैनन् । फटाफट स्वास्थ्य परीक्षण गराउने अनि काममा पठाइहाल्ने । यस्तो लाग्छ, श्रमिक तात–तातो आलु हुन्, ज्यादा बेर राख्दा पोल्छ । अर्काको हातमा थमाइदिँदा हाइसुक्ख हुन्छ । महान् सेवकजस्तो ठानेर कुर्सीमा गजक्क परेर बसेको हुन्छ । नौ लाख लागतको आधा भाग त उसैले गोजी भरेको हुन्छ । कामदारको पसिनामा रमाएर ढाडिएका किर्ना जस्तै हुन्छन् । रकम लिएपछि पुरापुर सहयोग गर्नु नि तर, त्यो पनि कतै देखिँदैन । 

यता मालिक हर्षितभन्दा बढी चिन्तित हुन्छ, युरो तिरेर किनेको कामदार भनेजस्तो जोतिन सक्छ कि सक्दैन ? श्रमिक दिएबापत साइप्रसको बिचौलियाले एजेन्टबाट पनि पन्ध्र सयदेखि दुई हजार युरोसम्म लिएको हुन्छ । इमिग्रेसन लगेर भिसा लाइदिने जिम्मा दलालकै हुन्छ । कहिलेकाहीँ कामदार मन परेन भनेर मालिकले फिर्ता गरिदिन्छ । अर्को एजेन्ट खोज्ने काम पनि बिचौलियाकै हो । त्यस्तो बेला दलाल निकै रिसाउने/कराउने आºनै निधार ठोक्ने र थुक्ने गर्छ । जागिर छोडेको पत्र हातमा थमाइदिएर आफै काम खोजेर लाग् होइन भने आफ्नो देश फर्केलास् भनेर धम्काउँछ । बिचरा दश लाख सापटी मात्रै होइन छत्तीस प्रतिशत ब्याज तिर्ने सर्तमा ऋण काढेर आएको हुन्छ । दुई महिनामै घर फर्किनुपर्दा कस्तो हालत हुन्छ होला ? हाम्रो देखासिकी नेपाली समाजले स्वीकार गर्छ होला त ?

हालैको कुरा हो, एकजना साथीले पङ्क्तिकारलाई फोन गरेर एउटा भाइका लागि किचन हेल्पपरमा काम लगाइदिन भने । तर, यताउति खोजबिन गर्दा कतै फेला पार्न सकिएन । त्यो भाइ ठ्याक्कै आएको तीन महिना पुगेछ । मालिकले दुई जना नै नेपालदेखि कामदार मगाएको रहेछ । एउटालाई राखेछ, अर्कालाई निकालिदिएछ । दलालले बेवास्ता गर्दा कतै जागिर नपाएको र अहिले घाँस काटिरहेको कुरा ति साथीले सुनाएका छन् । त्यस्तो अवस्थामा प्रहरीले फेला पा¥यो भने अवैध ठहराएर सिधै नेपाल पठाइदिन्छ । अनि त्यतिका ऋण कहिले/कसरी तिरिसक्नु ? मान्छे त्यसै आत्महत्या त गर्दैन नि ! आत्महत्या आर्थिक समस्याको निराकरण होइन । परिवारलाई झन् ठुलो संकट पार्छ । उत्तम उपाय भनेको देखासिकीबाट टाढा रहने । आफूमा जे–जति छ त्यसैमा रमाउने । अँ, त्यो भाइबाट दुवै देशका बिचौलियाले चर्को रकम चुसिसकेपछि यत्तिकै छोडिदियो । पैसा लिएर पनि ढङ्गको काम नगर्ने मानव तस्करीहरूमा मानवीय संवेदना भन्ने चिजै हुँदैन । पुँजीले यति स्वार्थ बनाएको छ कि निजी जिन्दगीभन्दा दूर कतै हेर्दैन ।

पंक्तिकारले काम गर्ने रेस्टुरेन्टभन्दा अलिक पर पोहोर भदौमा प्युठानका एकजना भाइ कामका लागि आए । छिमेकी जिल्ला भएकाले चिनजान भयो । आत्मीयता बढ्यो । बेलाबखत भेटघाट पनि भइरह्यो । उनी आएको तीन महिनापछि दलालले भिसा लगाउन इमिग्रेसन कार्यालय लगेर गयो । भिसा लाग्यो भनेर ढुक्क भए । चार महिनापछि भिसा कार्ड आउनुपर्ने आएन । दलालले राख्यो होला भनेर शान्त नै बसे । किनकि नयाँ देशको सबै नियम थाहा हुने कुरा पनि भएन । त्यो दलाललाई बारम्बार फोन गरेर गुनासो पनि राख्न सकेनन् । पहिलो कुरा फोन नै उठाउँदैन । दोस्रो भोलि/पर्सी भनेर टारिराख्छ । मालिकलाई भनौँ ऊ जहिलै टाउको समाएर बसेको हुन्छ । 

जति कमाइ भए पनि उस्तै । नहुँदा त झन् अनुहारमा दिउँसै रात परेको हुन्छ । पैसाले पागल बनाएको मान्छे हेर्ने चाहना छ भने साइप्रस आउनु । उसले पनि बिचौलियाकै थाप्लोमा हालिदिन्छ । राहदानी र भिसा कार्ड हुनेहरू मानव तस्करलाई पाँच हजार युरो तिरेर तल्लो बाटोबाट जोखिम मोल्दै पोर्चुगल पुग्छन् । यसो हुँदा एजेन्टले राहदानी राखिदिने, बिचौलियाले भिसा कार्ड नदिने गर्न थाल्यो । ताकि त्यो गैर कानुनी हो । सरकारी नियमअनुसार सम्पूर्ण कागजात कामदारको हातमा हुनुपर्छ ।

अर्को प्रसङ्ग जोडौँ । पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, अफ्रिकी मुलुकदेखि अवैध बाटोबाट आएकाहरूलाई सरकारले पहिला आश्रय दिएर काम गर्ने कागज पनि बनाइदिएको रहेछ । सरकार बदलिएपछि ती शरणार्थीहरूलाई आ–आºना देश फर्किने सूचना जारी ग¥यो । विमानको टिकट पनि सरकारले काटिदिने अनि हजार युरो थमाइदिने भन्यो । फर्कन चाहनेहरू फर्किए । तर, सबैले मानेनन् । अनि लुकीछिपी काम गर्न थाले । शरणार्थीहरूलाई एजेन्टले कामबाट निकाल्ने सूचना पठायो । त्यसपछि पनि पाइएमा जरिमाना तोकिदियो । तर, मालिक के मान्थ्यो ? शरणार्थीलाई राखेपछि उसलाई फाइदा हुने देख्यो । व्यवसाय नाफाकै लागि त हो । सरकार पनि के कम विभिन्न ठाउँमा बेलाबखत छापा मारेर गैर कानुनी श्रमिकलाई छोपेर देश फिर्ता गर्न लाग्यो । यो क्रम जारी नै छ । 

लिमासुल शहरमा त्यसैसरि छापा मारेछ । दुई बङ्गलादेशी नागरिक भाग्न बिल्डिङबाट हाम फाल्दा एकको मृत्यु भयो, अर्का घाइते भए । पंक्तिकारसँगै काम गर्ने झापाकी बहिनीलाई पनि पक्रिएर नेपाल पठाइदियो । पाकिस्तानी नागरिकले नेपाली युवतीसँग साइप्रसमै भेटेर बिहेपछि छोरा जन्मियो । ती दुवैको गैर कानुनी बसाइँ हो । झापाकी बहिनीसँगै त्यो पाकिस्तानी युवकलाई पनि समातेर पाकिस्तान पठायो । ती नेपाली बहिनी सात महिनाको छोरासँगै साइप्रसमै छिन् । भविष्य के हुने हो, थाहा छैन ! 

ति प्यूठानी भाइको दैनिकी त्यसैगरी चलिरहेको थियो । झापाकी बहिनी र पाकिस्तानी युवकलाई प्रहरी छोपेको दुई हप्तापछि प्यूठानी भाइको रेस्टुरेन्टमा छापा मा¥यो । त्यहाँबाट एउटी नेपाली दिदी र पाकिस्तानी युवकलाई छोप्यो, जो गैरकानुनीरूपमा काम गरिरहेका थिए । अब अचम्मको कुरा, त्यो प्यूठानी भाइलाई पनि समायो । उनको त भिसा लागेको थियो, कार्ड मात्रै हात परेको थिएन । वैधानिक तरिकाले मानव तस्करलाई साढे नौ लाख बुझाएर आएका थिए । उनको भिसा तीन महिना मात्रै लागेको रहेछ । जे भए तापनि इमिग्रेसनले दलाल र एजेन्टलाई पक्कै खबर गरेको हुँदो हो । तर, त्यो भाइलाई कुनै जानकारी दिइएन । उनी ढुक्क थिए, बिचौलिया र मालिकप्रति । उनीमाथि ठुलो विश्वासघात भयो । झन् डरलाग्दो कुरो त के छ भने गैरकानुनी ढङ्गले काम गरेकाहरूलाई समाएको दस दिनभित्र देश फर्काइदियो । उनलाई अझै थुनामा राखिएको छ । 

मालिक र दलाललाई किन नेपाल नपठाइदिएको भनेर सोध्दा फर्केर काममा आउने हो, त्यसैले भन्छ । जो थुनामा छन्, उनीसँग सहकर्मीको फोन सम्पर्क छैन । एकपल्ट भेट्न गएका रहेछन् । प्यूठानी भाइलाई पनि थाहा छैन रहेछ, आखिर के भएको हो ? घर पठाउने कि काममा फिर्ता गर्ने, त्यो पनि जानकारी छैन । महिना दिन पुग्न लाग्यो थुनामै छन् । सहकर्मीलाई दिनका दिन नेपालबाट फोन आउँछ । प्रहरीले समाएको खबरले झन् परिवार आत्तिएर रोई कराइ गर्छन् । तुरुन्त नेपाल पठाइदिने बिन्ती गर्छन् । यता के हुने हो थाहै छैन ।

पहिलो मानव तस्करीको ठुलो गल्ती छ । उसको लापरबाहीले उनी थुनामा छन् । दोस्रो एजेन्टको हो, उसले आºनो श्रमिकलाई ख्याल राखेन । तेस्रो स्वयम् हुन्, कमसेकम चार महिनापछि इमिग्रेसन पुगेर भिसाबारे थाहा गर्नुपर्थ्यो । दलाल र मालिकमाथि पूर्ण भरपर्दाको दुःख उनले पाए, जसको गल्ती नै थिएन । एक मजदुर, जो ऋण काढेर छोराछोरीका भविष्य सुधार्ने मनसायले साइप्रस पुग्यो । तर, अपराधबिना प्रहरी हिरासतमा छ । परिवारसँग सम्पर्क छैन, उनको जसकारण बिचल्ली भएको छ । वैधानिक तरिकाले आएको श्रमिकले विदेशी भूमिमा पसिना चुहाउँदा पनि सुख पाएनन् । 

खासमा एजेन्टले पहिलोपल्ट तीन महिनाकै भिसा लाइदिँदा रहेछन् । कारण आफूले भनेजस्तो हली हो कि होइन, थाहा पाउन । यदि ठिकठाक छ भने भिसा थपिदिँदा रहेछन्, होइन भने छ महिनाभित्र दलालकहाँ फिर्ता पठाइदिँदा रहेछन् । साइप्रस आइसकेको व्यक्तिबाट कमिसन नपाउने हुँदा दलाल नयाँ मान्छे खोज्न दौडधुप लाग्दा बेवास्ता गर्दो रहेछ । राज्यको नियम पनि मालिककै पक्षको छ । उसले चाहे जत्ति बेला पनि निकाल्न सक्ने तर, मजदुरले वैधानिक तरिकाले छोडेर नयाँ काममा जान्छुभन्दा पनि निकै दुःख दिने । दास प्रथा छैन तर, दासी मानसिकता बोकेका यी माफियाहरू धेरै खतरनाक छन् । 

बिचौलियाले बिचल्ली पारेको पहिलो घटना प्यूठानी भाइको मात्रै होइन, नेपाली जति पनि साइप्रस सरकारको शरणमा परे जम्मै दलालको झुटो आश्वासनले फसेका हुन् । कोही नेपालदेखि पोर्चुगलका लागि हिँडेका थिए, साइप्रस पो पुगे । चारैतिरको बाटो बन्द भएपछि राहदानी राज्यलाई जम्मा गरेर आश्रय लिए । धेरैलाई सुन्दर सपना देखाइयो र फसाइयो । अर्थात् घरेलु कामदारमा आउने महिलाहरूलाई मुख्य कुरो भाषाको समस्या हुन्छ । अर्को सोचेजस्तो घर मालिक हुँदैनन् । माथिका उल्लेखित जटिल अवस्था त छँदै छ । पङ्क्तिकारलाई थाहा भएअनुसार चार जना नेपाली युवतीले साइप्रसमा आत्महत्या गरिसकेका छन् । सपना र वास्तविकता नमिल्दाको परिणाम हो यो । काम बदल्न पाइन्छ तर, जुन भिसामा आएको हो त्यसैमा । अपवादबाहेक रेष्टुरेन्ट तथा होटेलमा अलिक धेरै तलब र सुविधा मिल्ने हुँदा घरायसी काममा आएकाहरू, विद्यार्थीहरू, कृषि क्षेत्रका कामदारहरूले राहदानी सरकारलाई जम्मा गर्दै शरण कागजात लिएर होटेल रेष्टुरेन्टतिर लाग्छन् । हो, अहिले तिनै शरणार्थीहरूलाई आफ्नो देश फर्काउन सूचना जारी गरेको धेरै समयसम्म सम्पर्कमा नआइदिँदा प्रहरीले छापा मार्ने गरेको छ ।

समुद्र छेउमा मुसुक्क हाँसेको तस्बिर सामाजिक सञ्जालमा राख्नु, गगनचुम्बी बिल्डिङअघि उभिएर फोटो खिच्नु, हिउँदमा हिउँ खेल्न पुग्नु, साथी भाइसँग रमाउनु, यी त हाम्रो देखासिकी मुलुकलाई देखाउनकै निम्ति हुन् । यथार्थमा छातीभित्रको जलन कसैलाई देखाउन मिल्दैन । दुःखहरू भन्न सकिँदैन । जतिसम्म थेग्न सकिन्छ एक्लै सामना गर्नुपर्छ । आँसु झार्न पनि रात कुर्नुपर्छ, कि कुना फर्कनुपर्छ । फेसबुके खुसीयाली फोटोहरूजस्ता वास्तवमा सुख कहाँ छन् र यहाँ ! घरायसी कामदारलाई मानसिक तनाव, रेष्टुरेन्ट होटलवालाई शारीरिक दबाब, हाँसेको नाटक गर्दागर्दै आँसु सुकेको पत्तै हुँदै । हाँस्नु छ, आफन्तलाई जलाउनलाई । कमाउनु छ, छिमेकीभन्दा अग्लो घर बनाउनलाई । पीडा लुकाएर देखाउनु छ अर्कालाई । ओहो ! यो त कति खुसी छ ? पीडाहरू नाप्न मिल्दैन क्यारे ! नेपाल सरकारको निकम्मापना अनि नेपाली जनताको देखासिकी प्रभावले दुःखहरू निम्तिएका हुन् । भौतिकभन्दा मानसिक विकासको आवश्यकता छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise