२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टेकराज पाण्डे ‘सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिस्ट’ अवार्डबाट सम्मानित

Nada
२०८३ असार २ गते १९:२१
Shares
टेकराज पाण्डे ‘सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिस्ट’ अवार्डबाट सम्मानित

काठमाडौं : नेपालका चर्चित सौन्दर्यकर्मी, सेलेब्रिटी मेकअप आर्टिस्ट तथा अन्तर्राष्ट्रिय इभेन्ट डाइरेक्टर टेकराज पाण्डे भारतको उत्तराखण्डमा आयोजित ‘आइकन अफ देवभूमि अवार्ड–२०२६’ बाट सम्मानित भएका छन् ।

ncell

कुमाऊँ केसरीद्वारा आयोजित समारोहमा पाण्डेलाई नेपाल र भारतमा सौन्दर्य क्षेत्रको विकास, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदरस्वरूप ‘नेपालकै सर्वोत्कृष्ट मेकअप ट्रेनर तथा सेलेब्रिटी मेकअप आर्टिस्ट’ सम्मान प्रदान गरिएको हो । आयोजकका अनुसार उक्त अवार्ड प्राप्त गर्ने उनी नेपालका एक मात्र मेकअप आर्टिस्ट हुन् ।

विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सौन्दर्यकला, फेसन, प्रशिक्षण तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता र कार्यक्रममार्फत नेपालको गरिमा बढाउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पाण्डेलाई सम्मान गरिएको जनाइएको छ ।

लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय पाण्डेले नेपालका हजारौं युवायुवतीलाई व्यावसायिक मेकअप तथा ब्यूटीसम्बन्धी तालिम प्रदान गर्दै आएका छन् । उनका प्रशिक्षार्थीमध्ये धेरै जना नेपाल तथा विदेशका प्रतिष्ठित सौन्दर्य संस्थामा व्यवसायी र प्रशिक्षकका रूपमा स्थापित भइसकेका छन् ।

सेलेब्रिटी मेकअप आर्टिस्टका रूपमा परिचित पाण्डेले नेपाली कला, मनोरञ्जन, फेसन तथा सौन्दर्य उद्योगसँग नजिकबाट काम गर्दै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, फेसन शो, अवार्ड समारोह तथा सांस्कृतिक कार्यक्रमहरूको व्यवस्थापन र निर्देशनमा समेत उनको उल्लेखनीय योगदान रहेको बताइन्छ ।

यसअघि पनि पाण्डेले सौन्दर्य तथा व्यक्तित्व विकास क्षेत्रमा पुर्‍याएको योगदानका लागि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन् । उनका उपलब्धिले नेपालको सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको क्षेत्रका जानकारहरूको भनाइ छ ।

सम्मान ग्रहणपछि पाण्डेले उक्त उपलब्धि सम्पूर्ण नेपाली सौन्दर्यकर्मी, आफ्ना प्रशिक्षार्थी तथा शुभेच्छुकहरूको साझा सफलता भएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा पनि नेपालको सौन्दर्य उद्योगलाई विश्वस्तरमा परिचित गराउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी अतिथिहरूले पाण्डेलाई नेपालको सौन्दर्य क्षेत्रको सफल प्रतिनिधि तथा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा चित्रित गर्दै उनको योगदानको प्रशंसा गरेका थिए । नेपाल–भारतबीचको सौन्दर्य, फेसन तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत उनको भूमिका उल्लेखनीय रहेको कार्यक्रममा बताइएको थियो ।

सम्बन्धित खबर