
दोलखा : कहिलेकाहीँ सफलताको कथा ठूला शहर वा विदेशबाट मात्रै लेखिन्छ भन्ने सोचलाई तोड्दै बैत्यश्वर गाउँपालिका–७ मार्बुका किसान पर्शुराम रिमाल आफ्नै गाउँमै उद्यमशीलताको उज्यालो उदाहरण बनेका छन् । गाउँमै बसेर मेहनत, निरन्तरता र आत्मविश्वासका साथ सुरु गरिएको उनको डेरी व्यवसाय आज स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम बनेको छ ।
करिब ३० महिना अघि सुरु गरिएको डेरी व्यवसाय अहिले व्यवस्थित रूपमा विस्तार हुँदै गएको छ । रिमालको डेरीमार्फत दैनिक करिब १४० लिटर दूध संकलन हुने गरेको छ । स्थानीय किसानबाट संकलित दूधलाई प्रशोधन गरी दही, घ्यू, पनिर र छुर्पी जस्ता विभिन्न दुग्धजन्य परिकार उत्पादन गरिँदै आएको छ ।
उनको उत्पादन स्थानीय बजारमै राम्रो मागमा छ। उत्पादित घ्यूमध्ये करिब ३५ प्रतिशत गाउँमै बिक्री हुने गरेको छ भने बाँकी चरिकोट बजारमा पठाइने गरिएको छ । त्यसैगरी छुर्पीको माग चरिकोट, मुडे र पर्यटकीय क्षेत्र कालिञ्चोकसम्म फैलिएको छ, जसले व्यवसायलाई थप विस्तार गर्न सहयोग पुर्याएको छ ।
पर्शुराम रिमालको विशेषता केवल व्यवसाय सञ्चालनमा मात्र सीमित छैन, उनको सकारात्मक सोच र गाउँमै केही गर्नुपर्छ भन्ने दृढ विश्वास पनि हो । पहिले राजनीतिक गतिविधिमा समेत सक्रिय रहेका उनी अहिले पूर्ण रूपमा कृषि तथा डेरी व्यवसायमा केन्द्रित छन् ।
‘विदेश जानै पर्छ भन्ने होइन, आफ्नै गाउँमा पनि अवसर छ’ भन्ने उनको सोचले धेरै युवालाई आत्मनिर्भरतातर्फ प्रेरित गरेको छ ।
उनको यो प्रयासले व्यक्तिगत आम्दानी मात्र होइन, स्थानीय किसानका लागि दूध बिक्रीको सुनिश्चित बजार पनि सिर्जना गरेको छ । गाउँमै उत्पादन, गाउँमै प्रशोधन र गाउँमै बिक्रीको अवधारणाले स्थानीय अर्थतन्त्रलाई नयाँ गति दिएको छ ।
पर्शुराम रिमालको सफलताले ग्रामीण क्षेत्रमा उद्यमशीलताको सम्भावना कति ठूलो छ भन्ने स्पष्ट देखाएको छ । माटोसँगको सम्बन्ध, मेहनत र निरन्तर प्रयासले सफलता सम्भव छ भन्ने उनको यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।