
बुटवल : लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा बुटवल–१३ बदेलपोखरीस्थित जितेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । बुधबार आयोजित एक विशेष समारोहका बीच धाराको औपचारिक उद्घाटन समेत सम्पन्न गरिएको हो ।
संस्थापक अध्यक्ष पोखरेलका सुपुत्र सम्राट पोखरेलको जन्मदिनको अवसर पारेर विद्यालय तथा स्थानीय समुदायलाई लक्षित गर्दै धारा निर्माण गरिएको जनाइएको छ । स्वच्छ र सुरक्षित खानेपानीमा पहुँच विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको धारा विद्यालयलाई समर्पण गरिएको हो ।
कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ पी नेपालका जिल्ला अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष श्रीधर बस्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । धारा निर्माण समितिका संयोजक आत्माराम भण्डारी, सह–संयोजक लक्ष्मण खनाल र विशाल खनाल, साथै पूर्व अध्यक्ष एवं एरिया चिफ जीवन थापा क्षेत्री लगायतले मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष पोखरेलको परिकल्पनाअनुसार विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित योजना अघि बढाइएको बताए ।

विद्यालयका प्राचार्य उपेन्द्र ज्ञवालीले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई प्राथमिकतामा राखेर महत्वपूर्ण सहयोग गरेकोमा आभार व्यक्त गर्दै यसबाट विद्यार्थी र विद्यालय परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्लबका संस्थापक तथा पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
वक्ताहरूले स्वर्गीय नुमराज पोखरेलको स्मृतिलाई समाजसेवासँग जोडेर गरिएको कार्य प्रशंसनीय भएको उल्लेख गर्दै धारा विद्यालयमा शुद्ध तथा सुरक्षित खानेपानी उपलब्ध गराउन महत्वपूर्ण हुने धारणा राखे ।
सो अवसरमा धारा औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । क्लबका अध्यक्ष लियो अशोक कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
समाजसेवी कमल सापकोटा र सरु थापाले क्लबप्रति धन्यवाद व्यक्त गर्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन क्लबका मेम्बरसिप चेयरपर्सन लियो कविराज भुसालले गरेका थिए ।