२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

बालेनलाई ‘अलगै लेभलका मान्छे’ भनेका सीके राउतको भरोसा तीन दिनमै टुट्यो

‘क्रान्तिको महोत्सव’ कसरी भयो ‘चरम राजनीतिक बेइमानी’ ?

Nada
भावना पाठक
२०८३ असार १० गते १६:०७
Shares
बालेनलाई ‘अलगै लेभलका मान्छे’ भनेका सीके राउतको भरोसा तीन दिनमै टुट्यो

काठमाडौँ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउत गत असार ७ गते चितवन पुगेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रशंसा गरेर काठमाडौँ फर्किए । उनले बालेनमात्र हैन रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रशंसामा पनि कुनै कमी राखेनन् । 

ncell

असार ७ गते देखि चितवनमा रास्वपाको प्रथम महाधिबेशन जारी छ । महाधिबेशनको उद्घाटन समारोहमा शुभकामना दिन चितवन पुगेका राउतले रास्वपाको सपना नै आफ्नो सपना भएको समेत बताएका थिए । उनले आफू स्वयंले पनि रास्वपाको जस्तै सपना देखेको बताउँदै आफ्नो सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेका थिए । 

उनी त्यतिमा मात्र सीमित भएनन् । मधेशको छोरोलाई रास्वपाले प्रधानमन्त्री बनाएको भन्दै मन खोलेर प्रशंसा गरे । उनले बालेनलाई ‘अलगै लेभलका मान्छे’ भन्दै परम्परागत राजनीतिक सोचभन्दा फरक ढंगले काम गर्ने क्षमता उनमा भएको विश्वास देखाएका थिए । 

चितवनमा सीके राउतको भाषण सुन्दा धेरैले उनलाई रास्वपाकै सदस्य बन्न खोजेको समेत भन्न भ्याएका थिए । तर रास्वपाप्रतिको उनको विश्वास तीन दिन पनि टिक्न सकेन । मधेशप्रति विशेष आग्रह राख्ने उनी रास्वपाले संघीयता खारेज गर्ने विषयमा छलफल थालेपछि भने झस्किएका छन् । 

बालेन शाहको खुलेर प्रशंसा गरेका उनी अहिले खुलेर विरोध गर्न थालिसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कुनै पनि राजनीतिक दलले आफ्नो राजनीतिक एजेण्डा तय गर्न पाउने स्वतन्त्रता भए पनि रास्वपाले प्रदेश सभा खारेजीको प्रस्ताव गर्नु राजनीतिक रूपमा बेइमानी रहेको टिप्पणी गरेका छन् ।

उनले भोट माग्ने बेला मधेशको छोरो भन्दै भाषण गर्ने, अहिले त्यसैको खारेजीको प्रस्ताव गर्ने भन्दै असन्तुष्टि पोखेका छन् । उनले रास्वपाले निर्वाचनका क्रममा मधेश र संघीयतासम्बन्धी प्रतिबद्धता व्यक्त गर्दै प्रदेशलाई थप बलियो बनाउने तथा अधिकारका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने वाचा गरेको स्मरण गराएका छन् । त्यही आधारमा मतदाताको समर्थन प्राप्त गरेको पार्टीले अहिले प्रदेश सभा खारेजीको एजेण्डा अघि सार्नु जनताप्रतिको विश्वासघात भएको उनको आरोप छ ।

उनले भनेका छन्,‘भोट माग्ने बेलामा 'मधेशिया छौडा' बन्ने, कुर्ता गम्छा लगाउने, मधेशी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलगर बनाउँछु र अधिकार माग्न काठमाडौं जानु पर्दैन भन्ने, अनि त्यही वाचाको आधारमा 'क्लीन स्वीप' गर्ने, देशभरिमा झण्डै दुई-तिहाई बहुमत ल्याउने, तराई-मधेशको २१ जिल्लाका ७८ सीटमध्ये ७४ सीट जित्ने अनि अहिले आएर प्रदेश सभा खारेज गर्ने एजेण्डा पारित गर्न लगाउनु राजनैतिक बेइमानी हो, जनतासँग धोखा हो, खोलो तर्यो लौरो बिर्सियो भन्ने उखानको चरितार्थ हो ।’ प्रदेश कायम राखेर प्रदेश सभा हटाउने अवधारणालाई पनि अस्वीकार गरेका छन् ।

स्थानीय तहका प्रमुखहरूलाई प्रदेशस्तरीय व्यवस्थापिकामा सहभागी गराउने प्रस्तावबारे पनि उनले असहमति जनाएका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखहरू आफ्नै कार्यक्षेत्रमा व्यस्त रहने भएकाले उनीहरूलाई विधायिकी जिम्मेवारी थप्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘यो महाधिवेशन मात्र नभई क्रान्तिको महोत्सव हो’ भन्दै चितवन पुगेर भाषण गरेका राउतले संघीयताका सवालमा रास्वपाले ‘चरम राजनीतिक बेइमानी’ गरेको आरोप लगाएका छन् । महाधिवेशनभन्दा बालेनको प्रशंसामा समय खर्चिएका उनले जनतालाई केन्द्रमा राखेर काम गर्न सुझावसमेत दिएका थिए । तर उनले रास्वपामा देखेको क्रान्ति तीन दिन नपुग्दै विचलित भएको छ । 

तीन दिनअघि मात्र बालेन शाहको 'माइन्डसेट', स्टाइल र व्यक्तित्वको प्रशंसामा मन्तव्य दिएका राउत नीतिगत रूपमा मतभेद बाहिर आएपछि भने आलोचक बनेका छन् । उनले प्रधानमन्त्रीलाई स्मार्ट, बुद्धिमान र जनप्रिय नेताका रूपमा चित्रण गर्दै जनताले व्यापक रूपमा माया गरेको उल्लेख गरेका थिए ।  त्यतिमात्र हैन उनले बालेनको व्यक्तित्वलाई भारतीय अभिनेता देवानन्दसँग तुलना समेत गरेका थिए । बालेनको प्रशंसामा लिप्त भएका राउत संघीयताका सवालमा भने उनको विरोधी भएका छन् । 
 


 

ताजा खबर

सम्बन्धित खबर