२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

‘सडक मानवमुक्त’ अभियान अलपत्र : प्यूठानका सडकमा अझै असहाय नागरिक

Nada
मधुसुदन भण्डारी
२०८३ असार १२ गते २०:५७
Shares
‘सडक मानवमुक्त’ अभियान अलपत्र : प्यूठानका सडकमा अझै असहाय नागरिक

प्यूठान : केही महिना अघि ‘सडक मानवमुक्त’ अभियानको घोषणा गरेर चर्चा कमाएको प्यूठान नगरपालिकाको अभियान अहिले प्रभावहीन बनेको देखिएको छ । नगरलाई सडकआश्रित तथा असहाय नागरिकमुक्त बनाउने घोषणा गरिए पनि बिजुवार, जुम्री बजार, वाग्दुला पुलचोकलगायतका क्षेत्रमा अहिले पनि मानसिक असन्तुलित, असहाय तथा बेवारिसे नागरिकहरू सडक र सार्वजनिक प्रतिक्षालयमै कष्टकर जीवन बिताइरहेका छन् । 

ncell

नगरपालिकाले मानव सेवा आश्रमसँग समन्वय गरी सडकमा रहेका नागरिकहरूको उद्धार, उपचार र पुनःस्थापनाको योजना सार्वजनिक गरेको थियो । अभियानलाई स्थानीय सरकारको मानवीय पहलका रूपमा व्यापक प्रचारसमेत गरिएको थियो । तर केही महिनापछि पनि नगरका सडकमा उस्तै अवस्था देखिएपछि अभियान प्रचारमै सीमित भएको हो कि भन्ने प्रश्न उठ्न थालेको छ ।

अस्थायी प्रहरी पोस्ट बाग्दुलाका अनुसार सडकमा बसोबास गर्ने मानसिक असन्तुलित व्यक्तिका कारण कतिपय अवस्थामा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । स्थानीय युवा व्यवसायी वासुदेव थापाले नगर क्षेत्रमा अझै करिब एक दर्जनभन्दा बढी मानसिक असन्तुलित तथा बेवारिसे अवस्थाका नागरिक खुला सडकमै घुमिरहेको बताए। उनका अनुसार उद्धार गरेर मानव सेवा आश्रम पठाइने भनिए पनि व्यवहारमा कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइसके पनि सडकमा कष्टकर जीवन बिताइरहेका मानसिक असन्तुलित तथा असहाय नागरिकहरूको व्यवस्थापनसम्बन्धी स्पष्ट कार्यक्रम समावेश नभएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । 

No description available.

नगर प्रवक्ता शुमनराज श्रेष्ठले अभियानको वर्तमान अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । उनका अनुसार मानव सेवा आश्रमसँग समन्वय गरेर सडकआश्रित नागरिकलाई पठाउने विषयमा छलफल भएको भए पनि त्यसपछिको अवस्थाबारे जानकारी छैन ।

यता मानव सेवा आश्रम दाङ शाखाले भने पछिल्ला चार महिनादेखि प्यूठान नगरपालिकाबाट कुनै समन्वय नभएको जनाएको छ । तुलसीपुरस्थित मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार नगरपालिकाले सडकमा रहेका व्यक्तिहरूको पहिचान गरी आश्रममा पठाउने प्रतिबद्धता जनाएको थियो । नगर उपप्रमुख देवेन्द्र वर्माले संख्या पहिचान गरेर दुई–तीन दिनमै पठाउने जिम्मेवारी लिएको जानकारी गराए पनि त्यसपछि नगरपालिकाबाट कुनै सम्पर्क नभएको उनले बताए ।

मानव सेवा आश्रमका अनुसार हाल तुलसीपुर केन्द्रमा ८०, तिलोत्तमा केन्द्रमा २१५, बुटवल केन्द्रमा ६० र नेपालगञ्ज केन्द्रमा ९० गरी लुम्बिनी प्रदेशका चार केन्द्रमा कुल ४ सय ४५ जना सडकआश्रित तथा असहाय नागरिकले आश्रय पाइरहेका छन् । 

बुटवल केन्द्रका प्रमुख टिका थापाका अनुसार २०७६ सालदेखि हालसम्म प्यूठान जिल्लाबाट १३ जनाको उद्धार गरी आश्रममा राखिएको छ । तीमध्ये स्वर्गद्वारी नगरपालिकाबाट ६, प्यूठान नगरपालिकाबाट ३, झिमरुक गाउँपालिकाबाट २, माण्डवी गाउँपालिकाबाट १ र मल्लरानी गाउँपालिकाबाट १ जना रहेका छन् ।

आश्रमका अनुसार एक व्यक्तिको मासिक पालनपोषण, आवास, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा करिब १५ हजार रुपैयाँ खर्च हुने गरेको छ । उपचारपछि परिवार पहिचान भएका व्यक्तिहरूलाई पुनः पारिवारिक पुनर्मिलनसमेत गराउने गरिएको छ ।

नागरिक अधिकारकर्मीहरूका अनुसार सडकमा कष्टकर जीवन बिताइरहेका मानिसहरूको व्यवस्थापन लोकप्रियताका लागि गरिने अभियान मात्र होइन, यो मानव अधिकार, सामाजिक उत्तरदायित्व र स्थानीय सरकारको संवेदनशीलताको महत्वपूर्ण परीक्षण हो । उनीहरूले प्यूठान नगरपालिकाले तत्काल तथ्यांक संकलन गरी मानव सेवा आश्रमसँग समन्वय गरेर सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनमा प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

ताजा खबर

सम्बन्धित खबर