२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पर्सामा धान रोपाइँसँगै मल अभाव, किसान महँगोमा भारतीय बजार धाउन बाध्य

Nada
लालबाबु बानिया
२०८३ असार १५ गते १९:०३
Shares
पर्सामा धान रोपाइँसँगै मल अभाव, किसान महँगोमा भारतीय बजार धाउन बाध्य

पर्सा : पर्साका ग्रामीण क्षेत्रमा अगहनी धानको रोपाइँ सुरु भएसँगै रासायनिक मलको अभावले किसानहरू समस्यामा परेका छन् । रोपाइँ गरेको करिब एक सातापछि पनि डिएपी, युरिया र पोटास मल सहज रूपमा उपलब्ध हुन नसक्दा किसानहरू महँगो मूल्यमा भारतीय बजारबाट मल खरिद गर्न बाध्य भएका छन् ।

ncell

धोबिनी गाउँपालिकाका किसान लालबाबु पटेलका अनुसार नेपालमा मल नपाएपछि भारतबाट प्रतिवोरा करिब ५ हजार रुपैयाँमा डिएपी, २ हजार रुपैयाँमा युरिया र ५ हजार रुपैयाँसम्ममा पोटास खरिद गर्नुपरेको छ ।

स्थानीय कृषि सहकारीमार्फत डिएपी प्रतिकिलो करिब ५० रुपैयाँ, युरिया २० रुपैयाँ र पोटास ८० रुपैयाँमा उपलब्ध हुने भए पनि हाल अधिकांश सहकारीमा मलको मौज्दात सकिएकाले किसानले महँगो मूल्य तिर्नुपरेको उनीहरूको गुनासो छ ।

लंगडीका किसान रंगलाल राउत कुर्मीले सहकारी संस्थामा मल नभएकाले बाध्य भएर भारतबाट महँगोमा खरिद गर्नुपरेको बताए ।

यसअघि नेपालमा मल अभाव हुँदा किसानहरूले भारतीय बजारबाट सहज रूपमा मल ल्याएर आवश्यकता पूरा गर्दै आएका थिए । तर नेपाल सरकारले सीमामा लागू गरेको नयाँ व्यवस्था तथा भारतीय सीमा प्रशासनले समेत मलको ओसारपसारमा कडाइ गरेपछि सीमापारबाट मल ल्याउन पनि कठिन भएको किसानहरूको भनाइ छ ।

छिपहरमाई, धोबिनी, कालिकामाई, पकाहामैनपुर, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, ठोरी, बिन्दबासिनी गाउँपालिका तथा पर्सागढी र पोखरिया नगरपालिकामा अगहनी धानको रोपाइँ तीव्र रूपमा भइरहे पनि आवश्यक डिएपी, युरिया र पोटास मलको अभाव कायमै रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले केही स्थानीय तहमा सीमित परिमाणमा मल उपलब्ध गराए पनि किसानको मागअनुसार आपूर्ति हुन नसकेको स्थानीयहरूको भनाइ छ ।

किसानहरूले कृषि उत्पादन वृद्धि गर्न सरकारबाट निरन्तर आग्रह गरिए पनि खेतीका लागि अत्यावश्यक मल समयमै उपलब्ध गराउन नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आवश्यक बेला मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने र खेतीको लागतसमेत बढ्दै गएको उनीहरूको गुनासो छ ।

ताजा खबर

सम्बन्धित खबर