२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश- ‘सरकार आफैं दृष्टिविहीन भयो’

Nada
२०८३ असार १६ गते १४:१०
Shares
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश- ‘सरकार आफैं दृष्टिविहीन भयो’

काठमाडौं : दृष्टिविहीन व्यवसायीहरू विगत ९ दिनदेखि माइतीघरमा धर्नामा छन् । 

ncell

सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक कार्य गर्दै आएका उनीहरू सरकारले व्यवसाय गर्न नदिएका कारण धर्नामा बस्नुपरेको बताउँछन् । सरकारले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यवसायीहरूको उचित व्यवस्थापन गर्नुपर्ने या आफूले गरेको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बेवास्ता गर्दा पनि आफूहरू विभिन्न पेसा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा फेरि सरकार तगारो बनेर उभिएको उनीहरूको गुनासो छ ।

धर्नामा सहभागी दृष्टिविहीन विष्णु उपाध्याय दृष्टिविहीनहरू आधारभूत अधिकार सुनिश्चित गर्नका लागि पनि धर्नामा बस्नुपर्ने अवस्था आएको बताउँछन् । उनकाअनुसार दृष्टिविहीन नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो । तर सरकारले आफैं स्वरोजगार भइरहेकाहरूलाई पनि दुःख दिने गरेको उनको भनाइ छ ।

सकारले सम्मानजनक ढंगले दृष्टिविहीनहरूको व्यवस्थापन गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनको माग छ । उनले सरकारले हाल उपलब्ध गराउने गरेको मासिक २ हजार १ सय २८ रुपैयाँ भत्ताले दैनिक जीवनयापन गर्न नसकिने बताए । बढ्दो महँगीका कारण कम्तीमा २० देखि ३० हजार रुपैयाँ बराबरको सामाजिक सुरक्षा आवश्यक रहेको उनको भनाइ छ । सरकारले दृष्टिविहीनहरूको संवेदनशीलता र पीडालाई गम्भीर रूपमा बुझ्नुपर्ने उनले बताए । 

आन्दोलन समितिका सहसंयोजक पूर्णबहादुर रोकाले सरकार आफूहरूको आन्दोलनबारे पूर्ण रूपमा जानकार हुँदाहुँदै पनि बेवास्ता गरिरहेको आरोप लगाए । आन्दोलन हालसम्म शान्तिपूर्ण रहेको उल्लेख गर्दै सरकारले समयमै संवाद र पहल नगरे अझ ठुलो संख्यामा दृष्टिविहीनहरू आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । सरकारले वार्ताका लागि बोलाएर माग र मुद्दा सुनिश्चित हुने आधार बनाए वातामा सहभागी हुने उनको भनाइ छ ।

उनले भने, ‘हाम्रो आन्दोलनको विषयमा सरकारलाई जानकारी छैन भन्न मिल्दैन । जानकारी छ तर उसले सुनेर पनि नसुनेको जस्तो, देखेर पनि नदेखेको जस्तो गरेको छ । हामी संसार नदेख्ने भएर पनि दृष्टिविहीन भएका छौं, आज नेपाल सरकार संसार देख्ने भएर पनि दृष्टिविहीन भएको छ । अहिलेसम्म हामी शान्तिपूर्वक बसिराखेका छौं । तर यही माइतीघर मण्डलाबाट नेपाल सरकारलाई के भन्न चाहन्छु भने भोलि दृष्टिविहीनहरूको भिड थाम्नु नसकिने हो कि ? यो कुराको महसुस नेपाल सरकारलाई छ कि छैन ।’

धर्नामा सहभागी दिलबहादुर बुढाले आफूले जीविकोपार्जनका लागि अगरबत्ती बिक्री गर्ने गरेको जानकारी दिँदै सडकमा व्यापार गर्नु रहर नभई बाध्यता भएको बताए । धेरै दृष्टिविहीनहरू उच्च शिक्षा हासिल गरेका, डिग्री प्राप्त गरेका तथा विभिन्न सीप र क्षमता भएका भएपनि रोजगारी नपाउँदा सडकमा सामान बेच्न बाध्य भएको उनको भनाइ छ ।

उनले नगर प्रहरी र सुरक्षाकर्मीहरूले विशेषगरी दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूमाथि मात्रै कडाइ गर्ने गरेको गुनासो गरे । उनले सरकारले दृष्टिविहीनहरूको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको आरोप पनि लगाए । उनले सरकारमा रहेकाहरूलाई केही समय आँखामा पट्टी बाँधेर दृष्टिबिहिनका पिडा बुझ्न पनि आग्रह गरे ।

धर्नामा सहभागी दृष्टिविहीन व्यवसायीहरू आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँछन् । धर्नामा दैनिक ४० देखि ५० जना दृष्टिविहीन सहभागी हुने गरेका छन् । आन्दोलनमा मुख्यतः काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने दृष्टिविहीनहरू सहभागी छन् ।

सम्बन्धित खबर