२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

देश कहिले बन्छ ?

Nada
आरपी गैरे
२०८३ असार १७ गते ०६:०५
Shares
देश कहिले बन्छ ?

नेपालको राजनीतिक इतिहासमा केही यस्ता क्षण आउँछन्, जसले केवल सरकार मात्र परिवर्तन गर्दैनन्, जनताको सोच, अपेक्षा र भविष्यप्रतिको विश्वासलाई पनि नयाँ मोडमा पु¥याउँछन् । यसपटकको जनादेश पनि त्यस्तै एउटा ऐतिहासिक मोडका रूपमा आएको छ । दशकौंसम्म सत्ता सञ्चालन गरेका पुराना राजनीतिक दलप्रति जनताले गहिरो असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई झन्डै दुईतिहाइ बहुमतसहित सरकार सञ्चालन गर्ने अवसर दिए । यो केवल चुनावी जित होइन, यो पुरानो राजनीतिक शैलीप्रतिको अस्वीकार र नयाँ राजनीतिक संस्कृतिप्रतिको आशाको मत हो ।

ncell

तर, अब सबैभन्दा ठुलो प्रश्न यही हो– अब देश बन्छ कि फेरि उही पुरानै निराशाको चक्र दोहोरिन्छ ? जनताले दिएको यो अभूतपूर्व विश्वासलाई रास्वपाले विकास, सुशासन र समृद्धिमा रूपान्तरण गर्न सक्छ कि सक्दैन ? देश बनाउने कुरा भाषणले होइन, व्यवहारले तय गर्छ । नारा, जुलुस, सामाजिक सञ्जालका पोस्ट र चुनावी घोषणापत्रले मात्र मुलुक समृद्ध हुँदैन । इमानदार र स्पष्ट दृष्टिकोणको नेतृत्व, सक्षम प्रशासन, उत्पादनमुखी अर्थतन्त्र, अनुशासित समाज र उत्तरदायी नागरिक भएमा मात्रै देश बन्छ । यदि यी आधार बलिया भए भने सीमित स्रोतसाधन भएको देश पनि समृद्ध बन्न सक्छ । 

नेपालसँग पानी छ, पहाड छन्, वन छन्, कृषि योग्य जमिन छ, युवा जनशक्ति छ, पर्यटनको अथाह सम्भावना छ । तर सही नीति, दृढ इच्छाशक्ति र परिणाममुखी नेतृत्वको अभाव छ । यही अभावका कारण लाखौं नेपाली युवाले आफ्नो भविष्य विदेशमा खोज्न बाध्य भएका छन् ।

आज गाउँहरू रित्तिँदै छन् । खेतबारी बाँझो हुँदै गएका छन् । काम गर्ने उमेरका युवाहरू खाडी, मलेसिया, कोरिया, जापान, युरोप र अमेरिका पुगेका छन् । रेमिट्यान्सले केही समय अर्थतन्त्र धानेको भए पनि यसले उत्पादन होइन, उपभोग बढाएको छ । कुनै पनि देश केवल रेमिट्यान्सले दीर्घकालीन रूपमा समृद्ध बन्न सक्दैन ।

देश निर्माणको पहिलो आधार आफ्नै भूमिमा आफ्नै नागरिकलाई सम्मानजनक रोजगारी उपलब्ध गराउनु हो । युवालाई विदेश पठाएर केही वर्ष विदेशी मुद्रा भित्र्याउन सकिएला, तर यसले गाउँ, परिवार, कृषि, उद्योग र राष्ट्रिय आत्मविश्वास कमजोर बनाउँछ । देश तब बन्छ, जब युवा विदेशिने बाध्यता होइन, स्वदेशमै अवसर देख्छ । 

रास्वपाले अहिले यही सबैभन्दा ठुलो चुनौती सामना गरिरहेको छ । पुरानालाई हटाएर नयाँलाई ल्याउनुको कारण केवल अनुहार परिवर्तन होइन, कार्यशैली परिवर्तन हो । भ्रष्टाचाररहित प्रशासन, छिटो सेवा, निष्पक्ष शासन, पारदर्शी निर्णय र विकासको नयाँ मोडेल जनताले खोजेका छन् ।

रास्वपाप्रति जनताको आकर्षणको मुख्य कारण जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसक्नु हो । सँगै, भ्रष्टाचारका अनगिन्ती काण्ड, सबै क्षेत्रमा चरम राजनीतिकरण, युवाको आकांक्षालाई बुझ्न नसक्नुजस्ता कारणले जनताले नयाँ विकल्प रोजेका हुन् । तर, विकल्प हुनु मात्र पर्याप्त हुँदैन । 

प्रत्येक सरकारी सेवामा झन्झट व्यहोर्न नागरिक बाध्य छन् । नियमभन्दा चिनजान र पहुँच बलियो हुने कुरा संस्कृतिकै रूपमा विकास भएको छ । यदि नयाँ सरकारले यी विषयमा आमूल सुधार गर्न सक्यो भने जनताले परिवर्तनको अनुभूति गर्नेछन् ।

नेपाल कृषिप्रधान देश भनेर पढाइन्छ, तर वास्तविकता भने फरक छ । अर्बौं रुपैयाँको खाद्यान्न विदेशबाट आयात भइरहेको छ । मुलुक दूध, फलफूल, तरकारीदेखि मासुसम्म आयातमै निर्भर छ । तर, यहीबीच हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझो छ । कृषि पेसालाई सम्मानको दृष्टिले हेर्ने अवस्था छैन । उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रणाली निकै समस्याग्रस्त छ । 

उद्योग देश निर्माणको अर्को मेरुदण्ड हो । तर अस्थिर नीति, प्रशासनिक झन्झट, महँगो ऊर्जा, कमजोर पूर्वाधारजस्ता कुराबाट मुलुकमा लगानीकर्ता उद्योग खोल्न आकर्षित छैनन् । 
शिक्षामा पनि आमूल परिवर्तन आवश्यक छ । आज लाखौं विद्यार्थी उच्च शिक्षा पढ्न विदेश गइरहेका छन् । अभिभावकको ठुलो धन विदेश पलायन भइरहेको छ । यता, स्वास्थ्य क्षेत्र पनि उत्तिकै संवेदनशील छ । एकातिर गुणस्तरीय स्वास्थ्य सेवा छैन भने अर्कोतिर आधारभूत स्वास्थ्य सेवाबाटै नागरिक वञ्चित छन् । 

देश केवल सडक, पुल र भवनले मात्र बन्दैन । देश नागरिकको मानसिकताले पनि बन्छ । इमानदारी, अनुशासन, कर तिर्ने संस्कार, सार्वजनिक सम्पत्तिको संरक्षण, कानुनको सम्मान र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने चेतनाले राष्ट्र बलियो बन्छ । जसका लागि नयाँ सरकार र नेतृत्वले नयाँ र जनअपेक्षित व्यवहार प्रदर्शन गर्नुपर्छ । पुरानै शैलीमा सत्ता अभ्यास गरियो भने जनविश्वास पनि कमजोर हुनेछ । 

नेपाली जनताले कुनै चमत्कार खोजेका छैनन् । उनीहरूले केवल इमानदार प्रयास खोजेका छन् । समयमै सेवा, न्यायपूर्ण शासन, रोजगारीको अवसर, सुरक्षित भविष्य र आफ्नै देशमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण खोजेका छन् । युवाले अब विदेशको विमानस्थल होइन, आफ्नै गाउँमा सम्भावना देख्न चाहन्छन् । किसानले आफ्नो उत्पादनको उचित मूल्य चाहन्छ । विद्यार्थीले गुणस्तरीय शिक्षा चाहन्छ । उद्यमीले स्थिर नीति चाहन्छ । कर्मचारीले निष्पक्ष प्रणाली चाहन्छ । नागरिकले सम्मानपूर्वक सेवा चाहन्छ । यही अपेक्षा पूरा गर्न सकियो भने नेपालको भविष्य उज्यालो बन्न सक्छ ।

अब प्रश्न, हिजो किन देश बनेन ? भन्ने होइन । अब प्रश्न आजबाट देश कसरी बनाउने ? भन्ने हो । यदि यो जनादेशलाई इमानदारी, दूरदृष्टि, सुशासन र उत्पादनमुखी विकासमार्फत सही दिशामा प्रयोग गरियो भने नेपाल समृद्धिको यात्रामा अघि बढ्नेछ । तर, यदि यो अवसर पनि विगतझैं सत्ता, स्वार्थ र विवादमा हरायो भने इतिहासले फेरि अर्को पुस्तालाई नयाँ विकल्प खोज्न बाध्य बनाउनेछ ।

नेपालको राजनीतिक इतिहासले बारम्बार एउटा कुरा प्रमाणित गरेको छ–सरकार परिवर्तन गर्न सजिलो हुन्छ, तर देश परिवर्तन गर्न अत्यन्त कठिन हुन्छ । जनताले निराश भएर नयाँ शक्ति खोज्छन्, नयाँ शक्तिले परिवर्तनको वाचा गर्छ, केही समय आशा जगाउँछ, तर यदि त्यो आशालाई परिणाममा रूपान्तरण गर्न सकेन भने उही जनता फेरि अर्को विकल्पको खोजीमा लाग्छन् । अहिले पनि नेपाल त्यही ऐतिहासिक मोडमा उभिएको छ ।

जनताले दशकौंसम्म शासन गरेका पुराना राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व जनादेश दिएका छन् । यो जनादेश केवल सरकार बनाउनका लागि होइन, देश बनाउनका लागि हो । नयाँले बुझ्नुपर्छ– विगतका कमजोरीको समीक्षा आवश्यक हुन्छ, तर वर्तमानको जिम्मेवारीबाट भाग्न विगतलाई सधैं ढाल बनाइरहनु कुनै पनि सरकारका लागि उपयुक्त हुँदैन ।

विगतमा भ्रष्टाचार भएका छन्, सुशासन कमजोर भएको छ, विकास अपेक्षाअनुसार हुन सकेको छैन, युवाहरू बिदेसिन बाध्य भएका छन् । यी सबै यथार्थ हुन् । तर यति भन्दैमा ती दलहरूको सम्पूर्ण इतिहासलाई अपमान गर्नु पनि न्यायोचित हुँदैन । यही देशमा लोकतन्त्र स्थापना गर्न, निरंकुश व्यवस्थाविरुद्ध संघर्ष गर्न, संविधान निर्माण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न विभिन्न राजनीतिक दलहरूको भूमिका पनि इतिहासको हिस्सा हो । इतिहासलाई सम्मान नगर्ने राजनीतिक शक्ति स्वयं पनि इतिहासमा सम्मानित हुन सक्दैन । इतिहासलाई मेटेर भविष्य निर्माण हुँदैन । इतिहासबाट सिकेर मात्र भविष्य उज्ज्वल बनाउन सकिन्छ ।

आज रास्वपाका सामु सबैभन्दा ठुलो चुनौती पुराना दलको आलोचना गर्नु होइन, आफूले फरक परिणाम देखाउनु हो । जनताले पुराना दललाई अस्वीकार गरेका कारण नयाँलाई अवसर दिएका हुन् । अब जनताले बहाना होइन, उपलब्धि हेर्न चाहेका छन् ।

चुनावअघि गरिएका प्रतिबद्धता जनताको मनमा अझै ताजा छन् । भ्रष्टाचार अन्त्य गर्ने, सुशासन ल्याउने, रोजगारी सिर्जना गर्ने, प्रशासन सुधार गर्ने, स्वास्थ्य र शिक्षामा गुणस्तरीय परिवर्तन गर्ने, बिचौलियाको अन्त्य गर्ने, सेवा प्रवाहलाई सरल बनाउने– यी सबै वाचा जनताले सम्झिरहेका छन् । आमनागरिकका दैनिक समस्या ज्युँकात्युँ छन् । बजार महँगो छ । घरभाडा बढ्दो छ । बेरोजगारी उच्च छ । किसानले उत्पादनको उचित मूल्य पाएका छैनन् । विद्यार्थी भविष्यप्रति अन्योलमा छन् । निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको छ । उद्योगहरू अपेक्षित गतिमा विस्तार हुन सकेका छैनन् । यी समस्या समाधान नभएसम्म देश अघि बढेको अनुभूति जनताले गर्न सक्दैनन् ।

नेपालमा राजनीतिक भाषणको कमी कहिल्यै भएन । हरेक चुनावमा समृद्ध नेपालका सपना बाँडिए । हरेक सरकारले विकासका योजना सार्वजनिक ग¥यो । तर योजना कागजमै सीमित भए । जनताले परिवर्तन महसुस गर्न पाएनन् । त्यसैले अब जनतालाई नयाँ भाषण होइन, नयाँ परिणाम चाहिएको छ ।

रास्वपाले अब बुझ्नुपर्ने महत्वपूर्ण कुरा– जनतामा असीमित धैर्य हुँदैन । जनताले परिवर्तनका लागि अवसर दिएका छन्, तर त्यो अवसरको समयसीमा पनि हुन्छ । यदि जनअपेक्षा पूरा भएन भने जनताले फेरि अर्को विकल्प रोज्न हिचकिचाउने छैनन् । लोकतन्त्रमा स्थायी विजेता कोही हुँदैन । जनताले विश्वास दिए पनि फिर्ता लिन पनि जान्दछन् ।

यदि नयाँ सरकारले पनि आफ्नो अधिकांश समय पुराना सरकारको आलोचनामै बितायो भने त्यो जनादेशको सम्मान हुने छैन । जनताले विगतको समीक्षा सुन्न होइन, वर्तमानको उपलब्धि हेर्न चाहेका छन् । सरकारले निजी क्षेत्र, नागरिक समाज, विज्ञ, किसान, श्रमिक, युवा, कर्मचारी, सबै राजनीतिक दल र आम नागरिकलाई साथ लिएर साझा विकास अभियान सञ्चालन गर्नुपर्छ । समृद्ध नेपाल कुनै एक पार्टीको परियोजना होइन, यो सम्पूर्ण नेपालीको साझा सपना हो ।

आज जनताको मनमा आशा र चिन्ता दुवै छन् । आशा यस अर्थमा कि नयाँ सरकारसँग नयाँ अवसर छ । चिन्ता यस अर्थमा कि यदि यो अवसर पनि गुम्यो भने जनताको लोकतन्त्रप्रतिको विश्वास झन् कमजोर हुन सक्छ । त्यसैले अब समय दोषारोपणको होइन, परिणाम देखाउने हो । समय नाराको होइन, नीतिको हो । समय लोकप्रिय अभिव्यक्तिको होइन, प्रभावकारी कार्यान्वयनको हो । समय राजनीतिक अहंकारको होइन, राष्ट्रिय सहकार्यको हो ।

जनताले घण्टी बजाएर सरकार बनाएका हुन्, तर देश केवल घण्टी बजाएर बन्दैन । देश तब बन्छ जब खेतमा उत्पादन बढ्छ, उद्योगमा रोजगारी बढ्छ, विद्यालयमा गुणस्तरीय शिक्षा पुग्छ, अस्पतालमा सहज उपचार उपलब्ध हुन्छ, सरकारी कार्यालयमा बिचौलियाबिना सेवा पाइन्छ, युवाले आफ्नै देशमा भविष्य देख्छन् र नागरिकले राज्यलाई आफ्नै अभिभावकका रूपमा अनुभूति गर्न थाल्छन् ।

यदि रास्वपाले जनताले दिएको यो ऐतिहासिक अवसरलाई जिम्मेवारीका साथ उपयोग गर्दै सहमति, सुशासन, विकास र दूरदृष्टिको मार्ग अपनायो भने नेपालको राजनीति नयाँ युगमा प्रवेश गर्न सक्छ । तर यदि अहंकार, आरोप–प्रत्यारोप, विगतप्रतिको घृणा र परिणामविहीन राजनीति दोहोरियो भने आजको लोकप्रियता पनि भोलिको इतिहास बन्न धेरै समय लाग्ने छैन ।

ताजा खबर

सम्बन्धित खबर