२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

मनसुनी विपद् र समाधानको बाटो

Nada
केशवराज पुरुष
२०८३ असोज १५ गते ०६:००
Shares
मनसुनी विपद् र समाधानको बाटो

नुवाकोट जिल्ला उत्तर–मध्य नेपालको ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण भू–भाग हो । पहाडी धरातलका साथै त्रिशूली, तादी, लिखु र फलाकुजस्ता ठुला तथा साना नदीनालाहरूले घेरिएको यो जिल्ला प्राकृतिक सौन्दर्य र उब्जाउ भूमिसँगै बर्खायाममा मनसुनी विपद्को ठुलो जोखिममा पर्दै आएको छ । हरेक वर्ष असारदेखि असोजसम्म हुने भीषण वर्षासँगै आउने बाढी र पहिरोले नुवाकोटको जनजीवनलाई अस्तव्यस्त र तहसनहस बनाउने गरेको छ । 

ncell

नुवाकोटका मुख्य नदीहरू खासगरी त्रिशूली र तादी नदीमा आउने बाढीले तटीय क्षेत्रका बट्टार, गँगटे, पिपलटार र देवीघाट वरपरका समथर भूभागलाई गम्भीर असर पार्छ । पहाडी ढलान र भिरपखाला क्षेत्रमा हुने निरन्तरको वर्षाले माथिबाट पहिरो खस्ने र नदीको बहाव थुनिएर एक्कासि फुट्दा तल्लो तटीय क्षेत्रका बस्तीहरू डुबानमा पर्ने गर्छन् । बर्सेनि आउने बाढीका कारण मानिसहरूले अकालमा ज्यान गुमाउनुका साथै ठुलो संख्यामा नागरिक घरबारविहीन हुने गरेका छन् । हजारौं रोपनी उब्जाउ खेतबाली बालुवा र बगरमा परिणत हुँदा कृषकहरूले ठुलो आर्थिक संकट झेल्नुपर्छ । । 

यसका साथै बाढी र पहिरोले पासाङल्हामु राजमार्ग, मध्यपहाडी लोकमाग तथा स्थानीय ग्रामीण सडक अवरुद्ध पार्दा र पुल बगाउँदा गाउँबीचको सम्पर्क विच्छेद हुने गर्छ । विद्युत्, खानेपानी र सञ्चार सेवा अवरुद्ध हुँदा जनजीवन थप कष्टकर बन्छ । नदी किनारमा रहेका सुकुम्वासी तथा न्यून आय भएका परिवारहरू बर्सेनि विस्थापित हुनुपर्ने र बाढीको जोखिमका कारण रातभर जागराम बस्नुपर्ने बाध्यता स्थानीयको नियति बनेको छ । बाढीपछि फैलिने दूषित खानेपानीका कारण हैजा, झाडापखाला र छालासम्बन्धी रोगको प्रकोप बढ्ने गर्छ भने विद्यालय भवनमा क्षति पुग्दा वा विस्थापितको आश्रयस्थल बनाउँदा बालबालिकाको पढाइ लामो समयसम्म ठप्प हुन्छ ।

नुवाकोटमा बाढी विपद् व्यवस्थापनमा अझै पनि धेरै चुनौती विद्यमान छन् । नदीजन्य पदार्थ बालुवा, गिट्टी र ढुंगाको अनियन्त्रित उत्खनन तथा कमजोर धरातलमा डोजर चलाएर बनाइएका अव्यवस्थित ग्रामीण सडकले बाढी र पहिरोको जोखिम झन् बढाएका छन् । विपद्पछि तत्काल राहत वितरण गरिए तापनि प्रभावित परिवारलाई सुरक्षित स्थानमा दीर्घकालीन पुनर्वास गराउने कार्य चुस्त हुन सकेको छैन । साथै माथिल्लो तटीय क्षेत्रमा हुने वर्षा र बाढीको सूचना तल्लो तटीय क्षेत्रका सर्वसाधारणसम्म समयमै नपुग्दा जनधनको क्षति बढी हुने गरेको छ ।

नुवाकोटको बाढी समस्या समाधान र प्रभावित जनजीवनलाई सामान्य बनाउन अल्पकालीन र दीर्घकालीन उपायहरू अपनाउनु अनिवार्य छ । यसका लागि त्रिशूली र तादी नदी बेसिनमा आधुनिक जलमापन केन्द्र र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाई सर्वसाधारणलाई समयमै सतर्क गराउनुपर्छ । बाढीको उच्च जोखिममा रहेका बस्ती र खेतबाली जोगाउन नदी किनारमा बलियो पक्की तटबन्धनका साथै वृक्षरोपणजस्ता जैविक इन्जिनियरिङका कार्यहरू गरिनुपर्छ ।

स्थानीय समुदायलाई विपद् व्यवस्थापन, प्राथमिक उपचार र उद्धारसम्बन्धी तालिम दिएर दक्ष खोज तथा उद्धार टोली तयार राख्नुपर्छ । नदी दोहनमा कडा नियन्त्रण गर्ने र पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनलाई अनिवार्य पालना गराउनु आवश्यक छ । नुवाकोटको बाढी केवल प्राकृतिक प्रकोप मात्र नभएर मानवीय असन्तुलनको पनि परिणाम हो । बाढीबाट प्रभावित जनजीवनलाई उकास्न तत्कालीन राहतमा मात्र सीमित नभई सुरक्षित पुनर्वास, दिगो पूर्वाधार विकास र प्रविधिमा आधारित विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय सरकारका साथै स्थानीय समुदायको एकीकृत प्रयास हुनु अति आवश्यक छ ।

सम्बन्धित खबर