
नेपाली कांग्रेसको १५औं महाधिवेशन आजबाट औपचारिक रूपमा उद्घाटन हुँदैछ । पार्टीको नेतृत्व चयन मात्र नभई भावी नीति, दिशा र संगठनात्मक संरचना निर्धारण गर्ने यस महत्वपूर्ण महाधिवेशनमा देशभित्र मात्र होइन, प्रवासमा रहेका नेपालीहरूको पनि उल्लेख्य चासो र सक्रिय सहभागिता देखिएको छ ।
यही परिवेशमा, रोल्पामा वि.सं. २०४९ सालमा जन्मिएर दाङको तुलसीपुरमा प्रारम्भिक अध्ययन पूरा गरेका युवा नेता अंकित ओली अहिले युरोपबाट केन्द्रीय सदस्य पदका सशक्त उम्मेदवारका रूपमा उभिएका छन् । विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को माध्यमबाट लोकतान्त्रिक आन्दोलन र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका ओलीले नेपालमै रहँदा विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सन् २०१७ मा अध्ययनका सिलसिलामा आयरल्यान्ड पुगेपछि पनि उनले आफ्नो राजनीतिक र सामाजिक यात्रालाई निरन्तरता दिए । जनसम्पर्क समिति आयरल्यान्डको सभापतिका रूपमा कार्यभार सम्हाल्दै उनले संगठन विस्तार, प्रवासमा रहेका नेपालीहरूको हकहित संरक्षण तथा आपत्–विपदमा सहयोग पुर्याउने कार्यमा उल्लेखनीय योगदान दिएका छन् । उनको कार्यकालमा सीमित संख्यामा रहेको सक्रिय सदस्यता उल्लेखनीय रूपमा वृद्धि भई सशक्त संगठन निर्माण भएको बताइन्छ । विगतमा नेपालमा हुँदा पनि उनी इकाई सभापति हुँदै विभिन्न संघ संस्थामा क्लबको अध्यक्ष हुँदै सामाजिक कामहरूमा सक्रिय रूपमा लागेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएन) लगायत विभिन्न अन्तर्राष्ट्रिय तथा सामाजिक संस्थामा समेत सक्रिय रहँदै आएका ओलीले नेपाल र प्रवासबीच समन्वय गर्ने सेतुको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरेका छन् । प्रवासमा रहेका नेपालीहरूको आवाजलाई केन्द्रीय तहसम्म पुर्याउने स्पष्ट एजेन्डासहित उनी यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिँदै छन् । प्रस्तुत छ यही उम्मेदवारी, प्रवासको भूमिका र नेपाली कांग्रेसको भावी दिशा सम्बन्धी विषयमा केन्द्रित रहेर मध्यान्ह संवाददाताले अंकित ओलीसँग गरेको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेसमा तपाईंको यात्रा कसरी र कहिलेदेखि सुरु भयो ?
मेरो राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को सिद्धान्त र लोकतान्त्रिक मूल्य-मान्यताबाट प्रभावित भई सुरु भएको हो । नेपालमा अध्ययनरत रहँदा नै पार्टीको भ्रातृ संगठनमार्फत लोकतन्त्रको रक्षा, वैचारिक स्पष्टता र सामाजिक सेवामा सक्रिय रहँदै आएको थिएँ । पछि वैदेशिक अध्ययन र रोजगारीका क्रममा आयरल्यान्ड पुगेपछि पनि नेपाली कांग्रेसको विचारप्रतिको निष्ठा अझ मजबुत भयो । जनसम्पर्क समिति आयरल्यान्डमार्फत प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्ने, पार्टीको विचार प्रवर्धन गर्ने र गैरआवासीय नेपालीका मुद्दाहरू उठाउने क्रममा मेरो राजनीतिक यात्राले थप परिपक्वता र निरन्तरता पाएको हो ।

कांग्रेस महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै हुनुहुन्छ, तपाईंको उम्मेदवारी किन र केका लागि ?
मेरो उम्मेदवारी मुख्य गरी तीनवटा प्राथमिकताका लागि हो :
१. प्रवासको आवाज नीति निर्माण तहमा पुर्याउन: लाखौं गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र समस्याहरूलाई पार्टीको केन्द्रीय नीति निर्माण तहमा सही तरिकाले प्रतिनिधित्व गराउन ।
२. पार्टीमा युवा र प्रवासी पहुँच बढाउन: कांग्रेसलाई अझ आधुनिक, समावेशी र प्रविधिमैत्री बनाउँदै युरोप लगायत विश्वभरि छरिएका दक्ष युवाहरूलाई पार्टी र मातृभूमिसँग जोड्न ।
३. गैरआवासीय नेपालीका अधिकार सुरक्षित गर्न: मताधिकार, दोहोरो नागरिकताको व्यावहारिक कार्यान्वयन र प्रवासमा रहेका नेपालीको सुरक्षा तथा हकहितका लागि केन्द्रीय नेतृत्वमै बसेर सशक्त दबाब दिनका लागि मेरो उम्मेदवारी हो ।
लामो समयदेखि प्रवास मै हुनुहुन्छ, प्रवासमा नेपालीका समस्याहरू के के हुन् ?
प्रवासमा रहेका नेपालीहरूका समस्यालाई मैले नजिकबाट भोगेको र देखेको छु । मुख्य समस्याहरूमा कागजात नवीकरण, कन्सुलर सेवा र राहदानी सम्बन्धी झन्झटहरू, नेपालको निर्वाचनमा प्रवासमा रहेका नेपालीहरूले भोट हाल्न नपाउने स्थिति, गैरआवासीय नेपाली नागरिकता पाए पनि त्यसको पूर्ण र व्यावहारिक कार्यान्वयनमा देखिएका अन्योलहरू, समस्यामा परेका श्रमिक, विद्यार्थी वा आपतकालीन अवस्थामा रहेका नेपालीहरूको द्रुत उद्धार र राहतातको एकीकृत संयन्त्रको कमी तथा दोस्रो पुस्ताका बालबालिकाहरूलाई नेपाली भाषा, संस्कृति र माटोसँग जोडिरहने चुनौती रहेका छन् ।

अहिले कांग्रेस बदलिएको भन्ने गरिएको छ, नेतृत्व या व्यक्तित्व फेरिंदैमा पार्टी बदलिएको मान्न सकिएला र ?
केवल अनुहार वा नेतृत्व फेरिँदैमा पार्टी पूर्णरूपमा बदलिएको मान्न सकिँदैन । वास्तविक रूपमा पार्टी बदलिनका लागि सोच र कार्यशैलीमा परिवर्तन आउनुपर्छ ।पद्धति र विधानको पूर्ण पालना हुनुपर्छ ।मूल्यांकनको आधार पारदर्शी हुनुपर्छ, जहाँ गुटबन्दीभन्दा पनि काम र निष्ठाको कदर होस् ।
नेतृत्व परिवर्तन त्यसको एउटा सुरुवात मात्र हो । जबसम्म पार्टीले जनता र कार्यकर्ताका आवश्यकतालाई प्रविधिको प्रयोग र आधुनिक नीतिमार्फत सम्बोधन गर्दैन, तबसम्म रूपान्तरण अधुरो रहन्छ । त्यसैले व्यक्तिको फेरबदलसँगै नीतिगत र संरचनात्मक रूपान्तरण हुनु अनिवार्य छ ।
त्यसो भए कांग्रेस एकताका लागि के गर्नुपर्ला ?
मेरो विचारमा कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउन गुटगत राजनीतिभन्दा माथि उठ्ने, गुट र भागबण्डाको संस्कृतिलाई अन्त्य गरी योग्यता, क्षमता र समर्पणका आधारमा जिम्मेवारी बाँडफाँड गर्ने, आन्तरिक लोकतन्त्र र संवाद: तल्लो तहका कार्यकर्ता र प्रवासी शुभचिन्तकहरूका सुझावलाई माथिल्लो तहले नियमित रूपमा सुन्ने र सम्मान गर्ने वातावरण बनाउने, स्पष्ट वैचारिक दिशा: पार्टीको सिद्धान्तलाई आधुनिक युगको मागअनुसार व्याख्या गर्दै युवा पुस्तालाई आकर्षित गर्ने, अनुशासन र पारदर्शिता: पार्टीभित्र विधि र विधानको निष्पक्ष पालना गराउने जस्ता कदमहरू चाल्नु जरुरी छ ।
केन्द्रीय सदस्यको उम्मेदवारको हैसियतले तपाईंका खास कुनै प्रतिबद्धताहरू पनि छन् कि ?
अवश्य पनि एक केन्द्रीय सदस्यको रूपमा मेरो मुख्य प्रतिबद्धताहरू प्रवासमा रहेका नेपालीहरूलाई आगामी निर्वाचनसम्म मताधिकार दिलाउन केन्द्रीय तहबाट निरन्तर कानुनी र राजनीतिक पहल गर्ने, युरोपमा रहेका नेपालीहरूको ज्ञान, दक्षता र पुँजीलाई नेपालको विकासमा भित्र्याउन सहज नीति निर्माणमा पुलको काम गर्नेछु, विश्वभर रहेका जनसम्पर्क समितिहरूलाई थप मर्यादित, पारदर्शी र स्रोत-साधनसम्पन्न बनाउन पहल गर्नेछु र पार्टीलाई प्रविधिसँग जोड्दै प्रवासी युवाहरूलाई वैचारिक रूपमा संगठित गर्ने अभियान चलाउने मूख्यरुपमा छन् ।
अन्त्यमा मतदाताहरू समक्ष के आग्रह गर्न चाहनु हुन्छ त ?
म पद या व्यक्तिगत प्रतिष्ठाका लागि उम्मेदवार बनेको होइन, बिचार, सिद्दान्त र संगठन मजबुतीकरणका लागि हो । ब्यक्ति होइन कि पार्टीलाई नै सर्वोपरी मान्नु पर्छ भन्ने मलाई लाग्छ । यो विचार र सिद्धान्तमा म कहिल्यै डगमगाने छैन । यसर्थ यस मध्यान्ह राष्ट्रिय दैनिक मिडियामार्फत म आम कॉग्रेसजन मतदाताहरूसमक्ष मलाई मतदान गरेर काम गर्ने अवसर प्रदान गरिदिन हुन विनम्रतापूर्वक अपिल गर्दछु ।