२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

पोखराको पर्यटनमा अन्तर्राष्ट्रिय उडान

Nada
झलक शर्मा
२०८३ असोज १६ गते ०६:०५
Shares
पोखराको पर्यटनमा अन्तर्राष्ट्रिय उडान

गएको असोज ७ गते पोखराबासीका लागि एउटा ऐतिहासिक र निकै खुसीको दिन बन्यो । सोही दिन फ्लाई दुबईको जहाज ११३ जना यात्रु लिएर दुबईबाट सिधै पोखरा विमानस्थलमा अवतरण गर्‍यो भने यहाँबाट १५२ जना यात्रु लिएर पुनः दुबईतर्फ उडान भर्‍यो । वाटर क्यानन (पानीको फोहोरा)को सलामीसहित फ्लाई दुबईको जहाजलाई भव्यताका साथ स्वागत गरियो । आगमन र प्रस्थान गन्तव्यमा रहेका यात्रुलाई पोखरामा न्यानो स्वागत तथा बिदाइ गरियो । दुबईबाट सिधै पोखरामा अवतरण हुन पाउँदा यात्रुको अनुहारमा खुसी छाएको थियो भने वैदेशिक रोजगारीका लागि देश छाड्न लागेका यात्रुको आँखामा विछोडको आँसु पनि देखिन्थ्यो । यसरी यात्रुको मिश्रित भावनात्मक तरंगका बीच पोखराको साँझ निकै रंगिन बन्यो ।

ncell

उक्त ऐतिहासिक उडानलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख, पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी, सरोकारवाला निकायका प्रतिनिधि तथा आमस्थानीयबासीको बाक्लो उपस्थिति थियो । पोखरेली जनताले पाँच दशकअघिदेखि देख्दै आएको सपना अन्ततः साकार भएको अनुभूति सबैले गरे । विमानस्थल निर्माणका लागि विगतमा गरिएको ठुलो जनसंघर्षले आज मूर्त रूप लिएको छ । यो हर्षोल्लाससँगै अब पोखराबाट दुबई मात्र नभई अन्य मुलुकमा पनि उडान विस्तार हुनुपर्ने र उडान भर्ने वायुसेवा कम्पनीले यसलाई निरन्तरता दिनुपर्ने अपेक्षा पोखराबासीले राखेका छन् ।

विगतमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि नियमित उडान हुन नसक्दा पोखरेलीहरू निकै चिन्तित थिए । यसअघि भएका दुईवटा उडानले निरन्तरता पाउन सकेका थिएनन् । दशकौंसम्म विमानस्थल निर्माण र सञ्चालनमा ढिलासुस्ती हुनुको मुख्य कारण भ्रष्टाचार र राजनीतिक उदासीनता नै थियो । तत्कालीन सक्रिय राजनीतिक दलहरूले यसको निर्माण र सञ्चालनका लागि ठोस योजना ल्याउन सकेका थिएनन् । भ्रष्टाचार गर्ने गिरोहको दबाब र विभिन्न किसिमका भ्रम फैलाउने नियतका कारण यो आयोजना लामो समय चपेटामा पर्‍यो । अन्ततः निजी क्षेत्र, नागरिक समाज र स्थानीयबासीको अभूतपूर्व आन्दोलन र दबाबकै कारण विमानस्थल यो अवस्थासम्म आइपुगेको हो । पोखरामा अन्तर्राष्ट्रिय उडान सहज बनाउन नजिकै रहेको डम्पिङ साइट स्थानान्तरण गरियो भने उडान र अवतरणमा सुरक्षा जोखिम उत्पन्न हुने भएपछि सराङकोटमा फस्टाउँदै गरेको साहसिक पर्यटन प्याराग्लाइडिङ व्यवसायलाई तोरीपानीमा सारियो ।

विगतमा महत्त्वपूर्ण भौतिक पूर्वाधार बने पनि उडानको सुनिश्चितता गर्ने आधार तयार पारिएको थिएन । विकासको वास्तविक अर्थ केवल भौतिक संरचना निर्माणमा मात्र सीमित हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकको जीवनस्तरसँग जोड्नु मुख्य कुरा हो । पोखरामा अन्तर्राष्ट्रिय उडान कुनै विलासिता नभई अनिवार्य आवश्यकता र मुलुकलाई समृद्ध बनाउने प्रमुख आधार हो । यसलाई प्रादेशिक विकासका रूपमा मात्रै सीमित राखेर हेरिनु हुँदैन, किनकि यसको दूरगामी लाभले समग्र मुलुककै अर्थतन्त्रलाई माथि उठाउन मद्दत पुर्‍याउँछ । यो विमानस्थलको पूर्ण सञ्चालनले केन्द्रीकृत विकासको लाभलाई विकेन्द्रीकृत ढंगले वितरण गर्न सघाएको छ । नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको बहुआयामिक क्षेत्रमा योगदान पुर्‍याउने निश्चित छ । यसले विपद् र मन्दीले थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग पुर्‍याउनुका साथै स्थानीय नागरिकसम्म अन्तर्राष्ट्रिय हवाई यातायातको पहुँच पुर्‍याएको छ । विशेषगरी पोखराको पर्यटकीय व्यापार–व्यवसाय फस्टाउनेछ, होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकको आगमन बढ्दा युवाका लागि रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन् र साहसिक पर्यटनमा आकर्षण अझ बढ्नेछ ।

नेपालको नागरिक उड्डयन क्षेत्रको विकास, विस्तार, हवाई सम्पर्क, सञ्चार तथा उडान सुरक्षालाई स्तरीय र प्रभावकारी बनाउन स्थापित संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणको भूमिका यहाँ अत्यन्त महत्त्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय उडानलाई दिगो र निरन्तर बनाउन स्थानीय व्यवसायीले पनि ठोस पहल सुरु गरेका छन् । होटल संघ पोखराले उडान सुरु भएको पहिलो तीन महिनासम्म फ्लाई दुबईबाट आउने यात्रुलाई बोर्डिङ पासका आधारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यसैगरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले पनि १५ देखि २० प्रतिशतसम्म छुट दिने प्रतिबद्धता जनाएको छ । पोखराका ट्राभल एजेन्सीले पनि विदेशबाट आउने यात्रुलाई पोखरा गन्तव्य छनोट गर्न प्रोत्साहित गर्नुपर्छ । योसँगै विमानस्थल प्रशासनले अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै यात्रुको हित संरक्षणमा विशेष ध्यान दिनुपर्छ । कर्मचारीबाट मुस्कानसहितको सेवा, सभ्य र व्यवस्थित वातावरणका साथै यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएर पत्यारिलो र भरपर्दो सेवाको प्रत्याभूति गराउनु आवश्यक छ ।

पर्यटकको आतिथ्य सत्कारमा उत्कृष्ट सेवा प्रदान गर्न पोखराका पर्यटन व्यवसायीहरू सधैं सजग हुनुपर्छ । नेपालको प्राकृतिक सौन्दर्य, वातावरणीय विशिष्टता, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले विश्वका पर्यटकलाई आकर्षित गर्दै आएका छन् । वैदेशिक लगानी भित्र्याउनुका साथै प्रविधि हस्तान्तरणका लागि पनि पोखरामा अन्तर्राष्ट्रिय उडानले प्राथमिकता पाउनुपर्छ । गैरआवासीय नेपालीहरू सँगको सहकार्य, सम्बन्ध र समन्वयलाई जोड दिँदै उनीहरूको ज्ञान, सीप र पुँजीलाई पोखराको विकासमा परिचालन गर्नु आवश्यक छ । थप देशमा हवाई सञ्जाल विस्तार गर्न गैरआवासीय नेपाली संघसँगको साझेदारीलाई अझ बलियो बनाउनुपर्छ । 

पोखराको पर्यटन र आर्थिक समृद्धिका विषयमा स्थानीय सक्रिय राजनीतिक दलहरूबीच अभूतपूर्व ऐक्यबद्धता र आपसी सहमतिको वातावरण बन्नुपर्छ । होटल व्यवसायीले आफ्नो व्यावसायिक दक्षता र संस्थागत क्षमताको अभिवृद्धि गर्नुपर्छ । पर्यटन प्रवर्धनकै उद्देश्यले पोखराको फेवाताल र पञ्चासेलाई जोड्ने गरी ‘अर्गानिक इको ट्रेल’ (जैविक पदमार्ग) निर्माणको प्रक्रिया अघि बढेको छ । एसियाली विकास बैंक, नगर विकास कोष र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा करिब ५२ करोड रुपैयाँको अनुमानित लागतमा यसको टेन्डर आह्वान भइसकेको छ । यसमा एडिबीले ७५ प्रतिशत, नगर विकास कोषले १८ प्रतिशत र महानगरपालिकाले ७ प्रतिशत लागत व्यहोर्नेछन् । वातावरणीय सन्तुलनमा असर नपर्ने गरी निर्माण गरिएमा यो परियोजना सुन्दर र पर्यावरणमैत्री बन्नेछ, जसले पोखराको पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ । 

पोखरा नेपालको पर्यटकीय राजधानी हो भन्नेमा कसैको दुई मत छैन । तर, अब पोखरा आउने पर्यटकको बसाइ अवधि कसरी लम्बाउने भन्ने विषयमा गम्भीर र घनीभूत छलफल गर्ने बेला आएको छ । पोखरा र आसपासका जिल्लामा नयाँ पर्यटकीय पदमार्गको खोज गरी तिनको प्रवर्धनमा जोड दिनुपर्छ । मौलिक सांस्कृतिक गाउँहरूमा होमस्टे (घरबास)को व्यवस्थापन गरी पर्यटकीय सुविधा विस्तार गरिनुपर्छ । स्थानीय वेशभूषा, जैविक उत्पादन र मौलिक बाजागाजाका माध्यमबाट पर्यटकको मन जित्न सक्नुपर्छ ।

अर्कोतर्फ, पोखराले पनि जलवायु परिवर्तनको गम्भीर मार खेपिरहेको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलामा पर्याप्त हिउँ पर्न छाडेको छ । यो पोखराको मात्र नभएर विश्वव्यापी समस्या भएकाले यसतर्फ विश्व समुदायको ध्यानाकर्षण गराइरहनुपर्छ । पोखराभित्रै फिर्के खोला करिडोरलाई स्तरोन्नति गरी विश्रामस्थल निर्माण गर्न सके पर्यटकलाई सहरभित्रै रमाउने वातावरण बन्छ । जलकुम्भी र फोहोररहित फेवाताललाई सधैं स्वच्छ राख्न सके पोखराको सुन्दरता थप निखरिनेछ । हिमाली तथा जोखिमपूर्ण पदमार्गमा पर्यटकका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनुपर्छ । पदमार्ग वा पर्वतारोहणका क्रममा पर्यटक जोखिममा परेमा तत्काल उद्धारका लागि सुरक्षा निकायको सक्रियता अनिवार्य हुन्छ ।

आजभोलि इन्टरनेटको सर्वसुलभताका कारण धेरै पर्यटकलाई गाइड (पथप्रदर्शक)को आवश्यकता पर्न छाडेको छ, तर हाम्रा कतिपय ग्रामीण पर्यटकीय क्षेत्रमा अझै टेलिफोन र इन्टरनेटको पहुँच पुग्न सकेको छैन, जहाँ सञ्चार सुविधा पुर्‍याउनु आवश्यक छ । पर्यटकलाई ठग्ने, लुट्ने वा विभिन्न शुल्कका नाममा आतंकित पार्ने र भड्काउनेजस्ता गैरव्यावसायिक आचरण पूर्ण रूपमा अन्त्य हुनुपर्छ । पर्यटक हाम्रा पाहुना हुन्, उनीहरूलाई सधैं सम्मानजनक व्यवहार गरिनुपर्छ ।

पोखराको समग्र विकासका लागि सबै क्षेत्रबीच अभूतपूर्व एकता, समन्वय र सहकार्यको खाँचो छ । पोखरा जाग्यो भने सिंगो देश जाग्छ । यदि हामीले हाम्रा पर्यटकीय गन्तव्यलाई सुरक्षित, स्वच्छ र आकर्षक बनाइराख्यौं भने पर्यटकको संख्या दोब्बर हुनेमा शंका छैन । त्यसैले पोखराका सुन्दर पक्षहरूलाई उजागर गर्दै पर्यटक लोभ्याउने काममा हामी निरन्तर लाग्नुपर्छ । अन्तर्राष्ट्रिय उडान र पर्यटन एकअर्कामा अन्योन्याश्रित विषय हुन्, यी दुवैको सन्तुलित विकास र निरन्तरताले मात्र पोखरालाई समृद्ध बनाउन सकिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मुलुककै राष्ट्रिय गौरवको आयोजना भएकाले यहाँबाट नियमित उडान हुनु अपरिहार्य छ । यस विमानस्थलको अन्तराष्ट्रिय स्तरमा व्यापक प्रचारप्रसार गर्दै उडान सेवालाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउनु हामी सबैको साझा दायित्व हो ।

सम्बन्धित खबर