
प्युठान : सुन्दरमेलाका विशाल सामत विद्यालयबाट घर फर्कनेबित्तिकै कापीकिताबको झोला बोकेर मकैबारीको छेउमा पुग्छन् । मकैबारी अचेल उनको अध्ययन कक्ष बनेको छ । बारीमा टाँगिएको त्रिपाल र छाताको ओत लागेर बिहान–बेलुकी उनी शिक्षकले दिएका गृहकार्य गर्छन् ।
उनको यो बाध्यात्मक दैनिकी हो । गाउँमा बाँदर आतंक छ । मौका पाउनासाथ बाँदरले मकैबाली स्वाहा पार्छ । आफ्नो भएको एक रोपनी र वर्षको पाँच हजार तिर्नेगरी भाडामा लिएको जग्गामा अहिले मकैले घोगा हालेको छ । त्यो जोगाउन उनी बिहान–साँझ पहरा दिइरहेका छन् ।
विशालका बुवा वैदेशिक रोजगारीमा गएका छन् । आमा ज्याला मजदुरी गर्छिन् । बिहान–बेलुका आमाले भान्सामा काम गर्नुपर्छ । भिरपाखातिर बाँदर देखिए विशाल मात्र होइन, थुप्रै बालबालिकामा विद्यालय नगएरै मकैबारी कुर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष वरुणध्वज मल्ल बताउँछन् ।
अचेल प्युठानका ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको दैनिकी गौमुखी–५ सुन्दरमेलाका ११ वर्षीय विशालकै जस्तो छ । ‘बाँदरले हैरान पारेको छ,’ उनले मध्यान्हसँग भने, ‘बाँदर हेर्दै होमवर्क गर्नुपर्छ । कहिलेकाहीँ त स्कुल जानसमेत पाइँदैन ।’ बारीको छेउमा बसेर उनी गृहकार्य गरिरहेका थिए । बाँदरको हुल देखिनेबित्तिकै कापी–कलम थन्क्याएर धपाउन जानुपर्छ । केही मिनेटको ढिलाइले महिनौंको मिहिनेतले हुर्काएको मकैबाली सखाप हुन सक्छ ।
अहिले मकैबारी कुर्नुपर्ने स्थिति प्युठान मात्र होइन, पश्चिम पहाडका रोल्पा, गुल्मी, बागलुङ, अर्घाखाँची, रुकुमलगायत मध्यपहाडी जिल्लाका अधिकांश गाउँमा छ । बसाइँसराइले बस्ती पातलो हुँदै जाँदा अहिले बाँदर र बदेलले सताएको छ । वर्षभरि पसिना बगाएर लगाएको मकै, धान, कोदो, गहुँ, आलु तथा तरकारी पाक्न थालेपछि बाँदरको हुल खेतबारीमा पस्छ । राति बदेलले बाँकी बाली नष्ट गरिदिन्छ । त्यसैले किसानहरू दिनरात खेतबारीको पहरा दिन बाध्य छन् ।
अधिकांश गाउँमा युवा रोजगारीका लागि बाहिरिएका छन् । घरमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र छन् । त्यसैले बारीमा पहरा दिने जिम्मेवारी बालबालिकाको काँधमा आइपुगेको छ ।
वडाध्यक्ष मल्लका अनुसार, विगत केही वर्षयता बाँदर र बदेलको समस्या अस्वाभाविक रूपमा बढेको छ । पहिले जंगलमै सीमित रहने वन्यजन्तु अहिले गाउँ र खेतबारीतिर आउन थालेका छन् । खेतीयोग्य जमिन नजिकै जंगल विस्तार, वन्यजन्तुको संख्या वृद्धि, मानव गतिविधिमा आएको परिवर्तनलगायत कारणले समस्या झन् जटिल बन्दै गएको उनी बताउँछन् । ‘त्यसै त बसाइँसराइले बस्तीहरू पातलो भइरहेका छन् । बाँदर र बँदेलले सताउन थालेपछि बाली नलगाउनै मन लाग्दैन,’ मल्ल भन्छन्, ‘बाली स्याहार्न नपाएपछि बसाइँसराइ झन् बढेको छ ।’
खेतीबाट उत्पादन घट्दै जाँदा किसानको उत्साह पनि घटेको छ । धेरैले मकै, धान र कोदो लगाउनै छाडेका छन् । खेतबारी बाँझो हुँदै गएका छन् । खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकिने भएपछि गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीय बताउँछन् । स्थानीय पालिका, प्रदेश र संघीय संसद्सम्म बाँदर नियन्त्रणबारे आवाज उठे पनि पहल भने कतैबाट भएको छैन ।