२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जरिवाना होइन, सचेतना बढाऊ

Nada
२०८३ असार २२ गते ०६:१०
Shares
जरिवाना होइन, सचेतना बढाऊ

ट्राफिक प्रहरीले नियम उल्लंघनको कारबाहीलाई कडाइका साथ बढाएको छ । अहिले जरिवानाको दर बढाउने तयारी पनि भइरहेको छ । पछिल्ला केही वर्षका तथ्यांकले सवारी दुर्घटनाको संख्या पनि घटिरहेको देखाउँछ । यसले दुर्घटना नियन्त्रणमा केही सफलता मिलेको बुझाउँछ । तर, दुर्घटनामा ज्यान गुमाउनेको संख्या भने घट्नुको सट्टा बढ्दै गएको छ । यसले हाम्रो सडक सुरक्षाको नाजुक स्थिति उजागर गरेको छ । दुर्घटना रोक्नु जति महत्वपूर्ण हो, दुर्घटनापछि घाइतेलाई समयमै उद्धार गरेर उपचार उपलब्ध गराउनु पनि त्यत्तिकै आवश्यक हुन्छ । घटनाका घाइतेको उद्धारमा हुने कमजोरीले समयमै उपचार नपाएर धेरैले ज्यान गुमाउनुपरेको देखिन्छ ।  राजमार्गमा हुने धेरै दुर्घटनामा उद्धार टोली ढिलो पुग्ने, आधुनिक उपकरणको अभाव हुने र अस्पतालसम्म पुर्‍याउन धेरै समय लगाउने समस्या कायमै छ । दुर्घटनापछि जति छिटो उद्धार गरेर घाइतेलाई अस्पताल पुर्‍याइन्छ, त्यति नै धेरैको ज्यान बचाउन सकिने तथ्यले पुष्टि गरेको छ । हाम्रो मुख्य चुक नै त्यही भएको छ । 

ncell

हालै कर्णाली नदीमा खसेको गाडीको यथार्थ चार दिनसम्म पनि खुल्न सकेको छैन । दुर्घटनापछि चार दिनसम्म गाडी र यात्रुको खोजी भइरहँदासमेत गाडी भेटिनु त परको कुरा यात्रुको विवरणसमेत पत्ता लाग्न सकेको छैन । कठिन भूगोलका कारण उद्धारमा ढिलाइ हुनुले बर्खाको भेलमै गाडी र यात्रु हराइरहेका छन् । दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मान्ने गरिएको छ । तीव्र गति, मादकपदार्थ सेवन, मोबाइल प्रयोग गर्दै सवारी चलाउने, जोखिमपूर्ण ओभरटेक गर्नेजस्ता गतिविधि अझै नियन्त्रणमा आएका छैनन् । अध्ययनले ८० प्रतिशतभन्दा धेरै दुर्घटनाको कारण चालककै कमजोरी देखाए पनि चालकलाई अनुशासित बनाउने दीर्घकालीन योजना सरकारी निकायसँग छैन । चालक अनुमतिपत्र वितरणदेखि नियमित पुनर्ताजगी तालिमसम्म सुधार आवश्यक छ । सडक पूर्वाधार पनि दुर्घटनाअनुकूल छैन । बारम्बार दुर्घटना हुने स्थानको सुधार, पर्याप्त ट्राफिक संकेत, सुरक्षा बार, लेन व्यवस्थापन, सिसिटिभी विस्तार र सवारीसाधनको नियमित प्राविधिक परीक्षण अझै प्रभावकारी बन्न सकेका छैनन् । ठुला दुर्घटनापछि अध्ययन समिति बन्छन् । तर, तिनले दिएका प्रतिवेदन कार्यान्वयनमा आउँदैनन् । त्यसैले समस्याको पहिचान गरेर मात्र पुग्दैन, त्यसको समाधानका लागि इमानदार प्रयत्न हुनै पर्छ । 

अहिले ट्राफिक प्रहरी नियम उल्लंघनमा कडाइका साथ जरिवाना गराउनमा केन्द्रित देखिन्छ । यसबाट बर्सेनि करोडौं राजस्व संकलन हुने गरेको छ । तर, ट्राफिक सचेतना, चालकलाई पुनर्ताजगी, ट्राफिक नियम पालनालाई नागरिक शिक्षाका रूपमा विस्तार गर्न भने राज्यले कुनै लगानी गरेको देखिँदैन । जरिवानाले मात्र ट्राफिक नियम उल्लंघन नियन्त्रण गर्न सकिँदैन भन्ने तथ्यले पुष्टि गरिसकेका छन् । त्यस्तै, दुर्घटनामा उद्धार प्रणालीलाई आधुनिक बनाउने, मुख्य राजमार्गमा अत्याधुनिक उद्धार उपकरणसहित प्रशिक्षित टोली परिचालन गर्ने, सहज एम्बुलेन्स सेवा उपलब्ध गराउने, ब्ल्याक स्पट सुधार्ने र वैज्ञानिक यातायात नीति लागू गर्ने काम तत्काल अघि बढाउनुपर्छ । साथै, चालक, यातायात व्यवसायी र सर्वसाधारण सबैले ट्राफिक नियमलाई सभ्य समाजको नागरिक संस्कृतिका रूपमा विकास गर्नुपर्छ । 

सम्बन्धित खबर