
काठमाडौं : ललितपुरको इमाडोलमा आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गरेर चर्चामा आएकी ऋतु खनालले अभियुक्त पक्राउ परेपछि आभार व्यक्त गर्दै लेखेकी छन्, ‘तपाईंहरूकै कारण मैले न्याय पाएँ । अहिले ती व्यक्ति पक्राउ परिसकेका छन् । सामाजिक सञ्जालको शक्तिले गर्दा नै मैले न्याय पाएको महसुस गरेकी छु ।’
घटना गत आइतबारको हो । ऋतुका अनुसार उनी एक्लै बाटोमा हिँडिरहेका बेला सुरेन्द्र भट्ट नाम गरेका एक व्यक्तिले सार्वजनिक स्थानमै आफ्नो गोप्य अंग प्रदर्शन गर्दै अश्लील व्यवहार गरेका थिए । उक्त घटनाको भिडियो उनले टिकटकमार्फत सार्वजनिक गरेपछि चर्चा भएको थियो ।
भिडियोमा उनले लेखेकी छिन्, ‘म सामान्य फुल प्यान्ट र टी-सर्ट लगाएर हिँडिरहेकी थिएँ । तर, पनि करिब ४० वर्षका एक व्यक्तिले बीच बाटोमै आफ्नो लुगा खोलेर अश्लील व्यवहार गरे । यस्तो व्यवहारले जो–सुकैलाई डर, असुरक्षा र मानसिक तनाव दिन सक्छ ।’
घटनापछि प्रहरीले सुरेन्द्र भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार घटनास्थल आसपासका सिसिटिभी फुटेज संकलन गरिएको छ । सुरेन्द्र रक्षा मन्त्रालयअन्तर्गतको नेपाल डिफेन्स विश्वविद्यालय (एनडियू) पूर्वाधार निर्माण विकास समितिमा शिक्षा अधिकृतका रूपमा कार्यरत कर्मचारी भएको प्रहरीले पुष्टि गरेको छ ।
यो विषयमा गृहमन्त्री सुधन गुरुङले घटनाको भिडियो सार्वजनिक गर्ने पीडित ऋतु खनालप्रति सम्मान व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘ऋतु खनालज्यूले सार्वजनिक गर्नुभएको आफूमाथि भएको दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ र उक्त व्यक्तिलाई पक्राउसमेत गरिसकेको जानकारी गराउँछु । ऋतुजीको साहसप्रति हाम्रो सम्मान छ ।’
गृहमन्त्री गुरुङले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने भन्दै उनले दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउने दृढता व्यक्त गरे । उनले सम्पूर्ण पीडितलाई अन्याय सहेर नबस्न र ढुक्क भएर आवाज उठाउन आग्रहसमेत गरेका छन् । ‘यदि कुनै कारणले उजुरी दर्ता गर्न असहजता वा समस्या सिर्जना गरिन्छ भने सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयलाई समेत जानकारी गराउन सक्नुहुन्छ,’ उनले अगाडि लेखेका छन्, ‘यस्ता घटनाको उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति पनि स्वीकार्य हुने छैन ।’
यसबीच सामाजिक सञ्जालमा भने यस घटनालाई लिएर विभिन्न अपुष्ट दाबी र अनुमानहरू फैलिरहेका छन् । केही प्रयोगकर्ताले सुरेन्द्रको पक्षमा काल्पनिक कथा सिर्जना गर्दै उनी मिर्गौलाका बिरामी भएको, पिसाब रोक्न नसक्ने अवस्थामा रहेको वा घटनालाई गलत रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन् । यस्ता पोस्टलाई आधार बनाएर केही व्यक्तिहरूले समेत अभियुक्त निर्दोष हुन सक्ने आशयका अभिव्यक्ति दिएका थिए ।
यही पोस्टलाई आधार बनाएर गायिका जुनु रिजालदेखि संगीतकार सुरेश अधिकारीसम्मले सुरेन्द्र निर्दोष हुन सक्ने भन्दै स्टाटस लेखे । सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ भएका सेलिब्रेटीले यस्ता खबर लेखेपछि सामान्य मान्छे त झुक्किने नै भए । अहिले धेरै मान्छेले ऋतुलाई गाली गरिरहेका छन् । गायिका रिजालले पछि गल्ती महसुस गर्दै पोस्ट हटाएकी छन् ।
आरोपी सुरेन्द्रलाई मानसिक रूपमा अस्वस्थ्य, मिर्गौला रोगी भनेर गरिएको प्रचार गलत भएको पाइएको छ । अनुसन्धानका क्रममा उनी मदिरा सेवन गरेको वा मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि नभएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले घटनाको अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्षमा पुगिनसकेको बताएका छन् । उनका अनुसार, ‘अहिले ती व्यक्तिको विषयमा कुनै पनि अन्तिम निष्कर्ष बाहिर आएको छैन । अनुसन्धान टोलीले सूक्ष्म रूपमा काम गरिरहेको छ ।’ एसपी मिश्रले तथ्य पुष्टि नभई अनुमान वा काल्पनिक कथा बनाएर प्रचार–प्रसार नगर्न आग्रह गरेका छन् । उनका अनुसार यस्ता गतिविधिले अनुसन्धान प्रक्रिया र पीडित दुवैमा नकारात्मक असर पार्न सक्छ ।
ऋतुसम्बद्ध पोस्टमा आएका गाली हेर्न र सुन्न नसकिने प्रकृतिको छ । ती पुरुषलाई युवतीले फसाइन्, आजकलका केटीहरू यस्तै हुन्, भाइरल हुन जे पनि गर्छन् भन्दै आएका प्रतिक्रियाको संख्या धेरै छ । महिलाले ममाथि दुर्व्यवहार भयो भनेर उठाएको विषयमा अरू व्यक्तिहरूले अन्दाजका भरमा गाली गर्नु भनेको चरित्रहत्या नै भएको महिला अधिकारकर्मीहरू बताउँछन् ।
ऋतुले आफूले घटना सार्वजनिक गर्नुको उद्देश्य अन्य कसैले पनि यस्तो अवस्था भोग्न नपरोस् भन्ने रहेको बताएकी छन् । उनले आफ्नो सन्देशमा लेखेकी छन्, ‘मेरो लुगा कहिल्यै समस्या थिएन । समस्या त ती मानिसहरूको मानसिकता हो, जसलाई लाग्छ कि उनीहरूले कुनै सजाय नभोगी अरूमाथि दुर्व्यवहार गर्न सक्छन् । सार्वजनिक स्थानमा सुरक्षित महसुस गर्ने अधिकार सबैलाई छ ।’
ऋतु मात्र हैन सामाजिक सञ्जालमा आफ्नो विचार राखेकै भरमा धेरै महिलामाथि अर्को सामाजिक हिंसा हुने गरेको छ । सामान्यदेखि सेलिब्रेटी र सांसद भइसकेका महिलाहरू पनि ट्रोलको सिकार भइरहेका छन् । जेनजी अभियन्ता अमीशा पराजुली, सरिश्मा थापा, गायिका ज्योति मगर, समीक्षा अधिकारी, एलिना चौहान, सांसद खुश्बु ओली, मुसिकोट नगरपालिका–९की वडाध्यक्ष भूमा गुरुङलगायत बोलेकै भरमा ट्रोलको सिकार भए ।
नेपालको संविधानमा पनि व्यक्तिको निजी जीवनमाथि हस्तक्षेप गर्न नपाइने उल्लेख छ । अधिवक्ता विक्रम नगरकोटीका अनुसार मुलुकी अपराध संहिता, २०७४को दफा ११८मा अभद्र व्यवहार गर्न नहुने व्यवस्था रहेको छ । ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन,’ उनले भने । यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अपराध संहितामा छ ।