
रौतहट : रौतहटको राजपुर नगरपालिकामा एक महिलाको शव फेला परेको छ । राजपुर नगरपालिका वडा नम्बर ३ स्थित राजपुर डमारबाट फतुवातर्फ जाने बाटोको छेउमा रहेको नहरको खाल्डोको पानीमा बिहीबार बिहान एक महिलाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय राजपुरका अनुसार बिहीबार बिहान अन्दाजी ७ः२० बजेको समयमा स्थानीयले नहरको खाल्डोमा जमेको पानीमा शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट सिनियर अफिसरसहितको विशेष मुचुल्का टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर शवलाई पानीबाट बाहिर निकाली प्रारम्भिक जाँच गर्दा मृतकको पहिचान खुलेको छ ।
मृतक महिला परोहा नगरपालिका वडा नम्बर ५ बस्ने शेख मोबिनकी श्रीमती अन्दाजी २४ वर्षकी मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । प्रहरीले घटनास्थलको विस्तृत मुचुल्का तयार पारी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइसकेको जनाइएको छ ।
महिलाको मृत्युको कारण स्पष्ट भइनसकेको र घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट विस्तृत अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय राजपुरले जनाए । पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।