२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निराशाको आगोमा जल्नेहरू

कुनै पनि व्यक्तिले म बाँच्दिन, म मर्दैछु भन्छ भने त्यसलाई सामान्य लिनुहुँदैन । उसले त्यतिबेलै आफूलाई मारिसकेको हुन्छ, शरीर ढल्नुभन्दा पहिले नै उसले आत्मा जलाइसकेको हुन्छ । आत्महत्या त उसको अन्तिम बिन्दु हो ।

Nada
भावना पाठक
२०८३ असार २८ गते २२:००
Shares
निराशाको आगोमा जल्नेहरू

काठमाडौं : २०७९ मा इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आफ्नै शरीरमा आगो लगाएर राज्यको संवेदनहीनतामाथि प्रश्न गरेको तीन वर्षपछि फेरि त्यस्तै घटना दोहोरिएको छ । आचार्यले २०७९ माघ १० गते आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए । ११ गते उपचारको क्रममा उनको मृत्यु भयो । तीन वर्षपछि त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले पनि आचार्यले झैँ आफूलाई जिउँदै जलाए ।

ncell

असार २५ गते बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपाली भोलिपल्ट अर्थात् २६ गते शुक्रबार सदाका लागि अस्ताए । घटनाअघि उनको काठमाडौं महानगर प्रहरीसँग पार्किंङको विषयमा विवाद भएको थियो । त्यसको केहीपछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याएको प्रत्यक्षदर्शी बताउँछन् । शरीरमा आगो लगाएपछि स्थानीयको सहायतामा अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको वीर अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

नेपालीमात्रै होइन्, सर्लाहीका विवेक मण्डल र काठमाडौं बुद्धनगरका अश्विन राउतले पनि त्यसैगरी आफूलाई जलाएका छन् । जसमध्ये अश्विनको मृत्यु भइसक्यो भने विवेकको उपचार जारी छ । यी चारै जनाको मृत्युको पृष्ठभूमि हेर्दा उनीहरू राज्यसँग चरम निरास देखिन्छन् । 

आचार्यले त आफूले आत्महत्या गर्नुको कारणसमेत खुलाई कोको दोषी छन् भनेर पनि खुलाएका थिए । व्यवसायमा घाटा, आफन्तको असहयोग र राज्यले दिने सेवा सुविधा नपाएको अर्थात् व्यवसाय गर्ने वातावरण नभएको उनको आरोप थियो । व्यवसायले ऋणमा डुबाएपछि उनी डिप्रेशनमा पुगेको परिवारस्रोतले बताएको थियो ।

त्यस्तै नेपाली मुगुका बासिन्दा हुन् ।  काठमाडौंमा उनी श्रीमती र छोरीसहित बस्दै आएका थिए । नेपाली कृषिका विद्यार्थी थिए । जागिर नपाएपछि उनले जग्गा धरौटीमा राखेर किस्तामा मोटरसाइकल किनेका थिए र काठमाडौंमा राइड सेयरिङ (पठाओ/इनड्राइभर) को काम गर्थे । पढाइअनुसारको काम नपाउँदाको तनाव त छँदै थियो, राज्य संयन्त्रले उनीमाथि गरेको व्यवहारले उनलाई निरास बनायो र क्षणिक आवेगमै आफ्नो ज्यान गुमाए । 

विवेक मण्डल जसले  बेरोजगारी, आर्थिक अभाव र ऋणको तनावका कारण आत्मदाहको प्रयास गरेका थिए । मण्डलले विज्ञान विषयमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका थिए । महोत्तरीको एक विद्यालय र मंगलवाको कलेजमा करिब ३ वर्ष अस्थायी शिक्षकका रूपमा अध्यापन गराएका उनको करिब एक वर्षअघि राजनीतिक हस्तक्षेपका कारणले जागिर खोसिएको थियो । उनले पढाइका लागि ठूलो लगानी गरेका थिए । अध्ययनका लागि लिएको ऋणको बोझ झन्–झन् थपिदै गयो । सरकारी जागिरका लागि परीक्षा दिए पनि त्यसमा सफल भएनन्, जसले उनलाई निरास बनायो र आत्महत्याको बाटो रोजे ।

२०८३ असार २७ गते शनिबार बिहान आत्मदाहको प्रयास गरेका राउतको पनि एकै खालको समस्या देखिन्छ । रावतले ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ सञ्चालन गर्दै आएका थिए ।  पारिवारिक स्रोतका अनुसार व्यापार व्यवसाय धराशायी भएपछि उनी गम्भीर आर्थिक तथा मानसिक तनावमा थिए । त्यही तनाव सहन नसकेर शरीरमा आगो लगाएका उनको शरीरको ५० देखि ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो । उनको सोही दिन दिउँसो वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

नेपालीको मृत्युपछि आएका अरू दुइ घटनाले सबैको ध्यान खिच्यो । सत्ताले सम्झिन नचाहेको तर परिवारले बिर्सिन नसकेको आचार्यको घटनाले पनि फेरी चर्चा पायो । हेर्दा सामान्य आत्महत्या लाग्ने यी घटना चरम निरासाको संकेत भएको विश्लेषकहरू बताउँछन् ।

त्यस्तै सुकुम्बासी वस्ती व्यवस्थापनको चपेटामा परेका २ जनाले पनि आत्महत्या गरे । रवीन तामाङ र इन्द्रबहादुर राइले सरकारले वस्तीमा डोजर चलाएपछि आत्महत्या गरेका हुन् । यी सबै घटनाले राज्यमाथि प्रश्न गरेको छ ।

नेपाल प्रहरीको प्रतिवेदन हेर्ने हो भने नेपालमा दैनिक १८–१९ जनाले औसतमा आत्महत्या गर्ने गर्छन् । प्रहरीको तथ्यांकअनुसार बितेको वर्षमा मात्र ६ हजार ८६६ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये सबैभन्दा धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेको तथ्यांक छ । ५ हजार ७९८ जनाले झुन्डिएर, ९६९ जनाले विष पिएर, ४७ जनाले हाम फालेर, २६ जनाले डुबेर, २२ जनाले औजार र हातहतियार प्रयोग गरेर र १२ जनाले आगो लगाएर आत्महत्या गर्ने गरेका छन् । 

नेपाल मात्र हैन आत्महत्याले विश्व समुदाय नै आक्रान्त छ । विश्व स्वास्थ्य संगठनले पनि हरेक वर्ष आत्महत्याकै कारण ७ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने बताएको छ ।  यो संख्यालाई आधार मानेर हेर्दा विश्वमा प्रत्येक ४३ सेकेन्डमा एक जनाको मृत्यु आत्महत्याका कारण हुने गर्छ । 

आत्महत्याको घटना देख्दा व्यक्तिगत भए पनि त्यो निजी निर्णय नहुने विश्व प्रसिद्ध समाजशास्त्री इमायल दुर्खिमको धारणा छ । उनले आफ्नो प्रसिद्ध पुस्तक ‘थेउरी अफ सुसाइड’ मा आत्महत्या केवल व्यक्तिको निजी निर्णय मात्र होइन, यो समाजसँगको उसको सम्बन्ध, सामाजिक एकीकरण र सामाजिक नियमनको अवस्थासँग गहिरो रूपमा जोडिएको सामाजिक घटना हो’ भनी उल्लेख गरेका छन् । 

उनका अनुसार, आत्महत्याको दोष मृतक व्यक्तिलाई मात्र दिन मिल्दैन । परिवार, समाज, संरचना, सरकार, राज्य, आर्थिक अवस्था, सामाजिक बहिष्कार, मानसिक स्वास्थ्यप्रतिको बेवास्ता, र सम्बन्धहरूको विघटनजस्ता पक्षहरू पनि जिम्मेवार हुन सक्छन् । त्यसैले आत्महत्या व्यक्तिगत कमजोरीभन्दा पनि सामाजिक, मनोवैज्ञानिक र संरचनागत कारणहरूको संयुक्त परिणाम हुन सक्छ ।

उल्लिखित घटनाहरूले पनि समाजशास्त्री दुर्खिमको यो धारणालाई पुष्टि गरेको छ । आचार्यदेखि रावतसम्मको आत्महत्या अर्थात् आत्मदाहको कारण व्यक्ति मात्रै नभई उनीहरूसँग जोडिएर आएका सामाजिक कारण पनि हुन् ।

हरेक व्यक्ति बाँच्न खोज्छ, बाँच्नै नसक्ने अवस्था आउँदामात्र आत्महत्याको बाटो रोज्ने मनोरोग विशेषज्ञ डा.केदार मरहट्टा बताउँछन् । ‘कुनै व्यक्तिले आत्महत्या गरिहाल्यो भने हामी अन्दाज लगाउँन थालिहाल्छौँ, विभिन्न कारणहरू देखाउन खोज्छौँ’, उनी भन्छन्, ‘एउटा मात्र कारणले मान्छेले आत्महत्या गर्दैन, विभिन्न अरू कारण पनि जोडिएको हुन्छ । जागीर, पढाइमा असफल हुनु र आर्थिक रूपमा कमजोर हुनुले मात्र मान्छेले आत्महत्या गर्दैन, यसलाईमात्र कारण मान्नु उचित हुँदैन ।’ आत्महत्या कहिलेकाहीँ  वंशानुगत, सामाजिक र मनोवैज्ञानिक कारणले पनि हुने उनी बताउँछन् ।

विगत १० वर्षको आत्महत्याको तथ्यांक हेर्ने हो भने अहिले बढ्दो क्रममा रहेको उनले बताए । नेपालमा आत्महत्याबाट मृत्यु हुनेको संख्या करीब ७ हजार भए पनि आत्महत्या प्रयास २० गुणा बढीले गर्ने उनी बताउँछन् । ‘यसरी हिसाब गर्दा नेपालमा डेढ लाख बढीले आत्महत्या गर्छन्, यो निकै डरलाग्दो तथ्यांक हो’, उनी भन्छन्, ‘अहिले मिडियाहरूमा पनि आत्महत्याको घटनालाई कथा जस्तो बनाएर प्रस्तुत गरिन्छ, यस्ता भावनात्मक कथाले मानिसहरू प्रेरित हुन्छन् र आत्महत्या दर अझ बढ्न सक्छ ।’ हामीले कस्ता कुरालाई प्राथमिकता दिने भन्ने कुरा पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

विश्वका करिब ७३ प्रतिशत आत्महत्या न्यून तथा मध्यम आय भएका देशहरूमा हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।  त्यसमध्ये पनि आत्महत्या गर्नेको संख्यामा १५–२९ वर्ष उमेर समूहमा व्यक्तिहरू बढी छन् । नेपाल पनि न्यून आय भएको देश हो । यहाँको सामाजिक संरचनामा विभेदका भिन्न–भिन्न स्वरूप छन् ।

आर्थिक रूपमा कमजोर हुने बित्तिकै त्यसले समाजका सबै संरचनामा असर पार्ने समाजशास्त्री विद्या भट्टराई बताउँछिन् । ‘महिला, दलित, मधेशी, मुस्लिमलगायत सीमान्तकृत समुदायमा विभेदले जरो गाडेको छ’, उनी भन्छिन्, ‘दाइजोका नाममा महिलाहरूलाई जिउँदै जलाइएको छ, लैंगिक हिंसाले पनि मानसिक रूपमा असर पारेको छ, सामाजिक संरचनाले मानिसलाई दिक्क बनाउँछ ।’ अहिले विश्वमा जस्तै नेपालमा पनि एक्लोपन बढ्दै गएको भन्दै, यसले मानसिक रूपमा एक्लो बनाउने उनी बताउँछिन् ।

‘आत्महत्या बढ्नुमा पारिवारिक तनाव, आर्थिक समस्या, सामाजिक एक्लोपन, मानसिक स्वास्थ्य सेवाको कमी जस्ता धेरै पक्षले भूमिका खेल्छ । यसको रोकथामका लागि परिवारमा खुला संवाद, मानसिक स्वास्थ्य सेवा, आर्थिक सहयोग प्रणाली र संकटमा रहेका व्यक्तिलाई समयमै साथ दिनु महत्वपूर्ण हुन्छ’ उनले भनिन् ।

कतिपय अवस्थामा आर्थिक रूपमा सम्पन्न भएकाहरू पनि आत्महत्याको तहमा पुगेका हुन्छन् । आत्महत्या मानसिक समस्या भएको कारण यसले जसलाई पनि असर पार्न सक्ने मनोविद डा.पशुपति महत बताउँछन् । आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिहरू मानसिक रोगी हुने उनको तर्क छ । ‘कुनै पनि व्यक्तिले म बाँच्दिन, म मर्दैछु भन्छ भने त्यसलाई सामान्य लिनुहुँदैन’, उनी भन्छन्, ‘उसले त्यतिबेलै आफूलाई मारिसकेको हुन्छ, शरीर ढल्नुभन्दा पहिले नै उसले आत्मा जलाइसकेको हुन्छ । आत्महत्या त उसको अन्तिम बिन्दु हो त्योभन्दा पहिले नै ऊ मरिसकेको हुन्छ ।’ व्यक्ति डिप्रेशनमा नपुगी आत्महत्या नगर्ने उनको तर्क छ ।

डिप्रेशनसम्म लैजान व्यक्तिलाई थुप्रै कारणहरूले भूमिका खेल्छ । आत्महत्यालाई सामान्यीकरण गर्नु यसको मुख्य कारण भएको उनी बताउँछन् । ‘परिवार, समाजमा भएका आत्महत्याका घटनालाई व्यक्तिले दिमाखमा लिएर हिँड्छ, उसले आत्महत्या गर्दा मुक्ति पायो मैले पनि पाउँछु होला, मरेर जाने जिन्दगी मरिहाल्दा के हुन्छ र ? भन्ने मानसिकताको विकास हुँदा पनि आत्महत्या बढ्दै जान्छ’, उनले भने ।

चरम निरासले नेपालमा हुने आत्महत्याको ग्राफ निकै डरलाग्दो देखिएकाले यसको न्यूनीकरणका लागि राज्य अथवा सम्बन्धित निकायले समयमै पहल गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

सम्बन्धित खबर