२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

जलेका शरीर, पोलिएका प्रश्नहरू

Nada
भूपेन्द्र थापा ‘माधव’
२०८३ असार ३१ गते ०६:००
Shares
जलेका शरीर, पोलिएका प्रश्नहरू

नेपालले विगत केही वर्षयता एउटा गम्भीर सामाजिक यथार्थको सामना गरिरहेको छ । रोजगारी, अवसर र भविष्यको खोजीमा संघर्षरत युवाहरूको ठुलो पंक्ति निराशा, असुरक्षा र अन्योलको चपेटामा परेको छ । यही निराशाको चरम अभिव्यक्तिका रूपमा प्रेमप्रसाद आचार्य र गणेश नेपालीका आत्मदाहका घटना नेपाली समाजको सामूहिक चेतनामा गहिरो घाउ बनेर बसेका छन् । यी घटना दुई व्यक्तिको मृत्यु मात्र होइनन्, बरु एउटा पुस्ताको मौन चित्कार, समाजको असफलता र राज्यका सामु उभिएको गम्भीर प्रश्न हुन् ।

ncell

आत्मदाह कुनै समाधान होइन । जीवनभन्दा ठुलो कुनै आन्दोलन हुँदैन र मृत्युले कुनै समस्याको उत्तर दिँदैन । तर, यस्ता घटनालाई व्यक्तिगत कमजोरी वा मानसिक अवस्थाको परिणाम मानेर राज्य र समाज आफ्नो जिम्मेवारीबाट अलग रहन पनि मिल्दैन । जब नागरिकले आफ्नो आवाज सुन्ने कोही छैन भन्ने निष्कर्षमा पुग्छ, जब संघर्षभन्दा निराशा ठुलो बन्न पुग्छ । जब भविष्यभन्दा अन्धकार नजिक देखिन थाल्छ, तब समाजले आफैंलाई प्रश्न गर्नुपर्ने हुन्छ ।

प्रेमप्रसाद आचार्यले आफ्नो अन्तिम अभिव्यक्तिमा भ्रष्टाचार, प्रशासनिक उदासीनता, दलाली संस्कार, उत्पादनमुखी अर्थतन्त्रको अभाव र उद्यमशील युवाले भोग्नुपरेका कठिनाइलाई उजागर गरेका थिए । गणेश नेपालीको आत्मदाहले पनि त्यही निराशाको निरन्तरतालाई देखायो । फरक समय र फरक पात्र भए पनि उनीहरूको पीडाको मूल कारण एउटै थियो– आफ्नै देशभित्र भविष्य नदेखिनु । नेपाल युवा जनसंख्याको दृष्टिले अवसरले भरिएको मुलुक हो । उत्पादनशील उमेर समूहको ठुलो जनशक्ति देशसँग छ । तर विडम्बना, यही युवाशक्ति अवसरको खोजीमा बिदेसिन बाध्य छ । गाउँका खेत बाँझा बन्दै गएका छन्, उत्पादन घट्दै गएको छ र परिवारका सपना वैदेशिक रोजगारसँग गाँसिन थालेका छन् । देशभित्र सम्भावनाको अभाव र बाहिरको आकर्षणबीच नेपाली युवा दोहोरो दबाबमा बाँचिरहेको छ ।

बेरोजगारी नेपाली युवाको एक मात्र समस्या होइन । योग्यताभन्दा पहुँच, सीपभन्दा सिफारिस, परिश्रमभन्दा संरक्षण र क्षमताभन्दा सम्बन्धले अवसर निर्धारण गर्ने संस्कृतिले युवामा गहिरो वितृष्णा पैदा गरेको छ । शिक्षा पूरा गरेपछि सम्मानजनक रोजगारीको सुनिश्चितता छैन । उद्यम गर्न खोज्दा प्रशासनिक झन्झट र नीतिगत अस्पष्टताले बाटो रोक्छ । सार्वजनिक सेवामा ढिलासुस्ती र असंवेदनशील व्यवहारले राज्यप्रतिको विश्वास क्रमशः कमजोर बनाइरहेको छ ।

यससँगै मानसिक स्वास्थ्यको प्रश्न पनि उत्तिकै गम्भीर बन्दै गएको छ । आर्थिक दबाब, सामाजिक अपेक्षा, बेरोजगारी र भविष्यप्रतिको अनिश्चितताले धेरै युवालाई मानसिक तनाव र निराशातर्फ धकेलिरहेको छ । अझै पनि मानसिक स्वास्थ्यका विषयमा खुला संवादको कमी छ । परिणामस्वरूप धेरै युवा आफ्ना पीडा र संघर्ष मौन रूपमा बोकेर बाँचिरहेका छन् ।

गणेश नेपालीको घटनापछि संसद् ततायो । विपक्षी सांसदहरूले घटनालाई राज्यको असफलता र नागरिकप्रतिको असंवेदनशीलताको उदाहरणका रूपमा प्रस्तुत गरे । गृहमन्त्री सुधन गुरुङले संसद्मा उठेका प्रश्नको जवाफ दिने क्रममा महानगर प्रहरी, स्थानीय सरकार र संघीय सरकारबीचको अधिकारक्षेत्र र जिम्मेवारीबारे पनि प्रश्न उठाए । उनको तर्क थियो– राज्यका तीन तह छन्, त्यसैले जिम्मेवारी पनि साझा छ । तर के जिम्मेवारी बाँड्ने नाममा जवाफदेहिता पनि बाँडिन्छ ? नागरिकका लागि राज्य एउटै हुन्छ । नागरिकले संघ, प्रदेश र स्थानीय तहको फरक हेरेर पीडा भोग्दैन । उसले राज्यसँग व्यवहार गर्छ, प्रणालीसँग ठोकिन्छ र अन्ततः व्यवस्थाबाटै न्यायको अपेक्षा राख्छ ।

युवाको जलेको पीडामाथि आतंकको मसाल होइन, समाधान र संवेदनाको दीप जलाऔं । उनीहरूको पीडालाई उत्तेजना र विभाजनको इन्धन बनाउने होइन, सुधार र परिवर्तनको आधार बनाऔं । आत्मदाहको खरानीमाथि उभिएर राजनीतिक नारा लगाउनुभन्दा त्यसले उठाएको प्रश्नको उत्तर खोज्नु अधिक आवश्यक छ । राजनीति लास छोप्ने कात्रो तानातान गर्ने नौटंकीमा सीमित हुनुहुँदैन । पीडितको शवमाथि उभिएर भाषण गर्ने, मानवीय दुःखलाई दलगत प्रतिस्पर्धाको सामग्री बनाउने र मृत्युमाथि राजनीतिक लाभको हिसाब गर्ने संस्कृतिले कसैलाई कतै पु¥याउँदैन । यसले समाजलाई थप विभाजित बनाउँछ र राज्यप्रतिको नागरिक विश्वासलाई कमजोर बनाउँछ ।

यस्ता घटनापछि दोषी खोज्नेभन्दा जिम्मेवारी स्वीकार गर्ने संस्कृतिको विकास आवश्यक छ । राज्य अरूमाथि आरोप थोपरेर आफ्नो उत्तरदायित्वबाट पन्छिन मिल्दैन । नागरिकको पीडा, निराशा र आक्रोशको अन्तिम जिम्मेवारी अन्ततः राज्य र उसका संयन्त्रमाथि नै आउँछ । त्यसैले दोषारोपणको राजनीति होइन, जिम्मेवारीको राजनीति आवश्यक छ ।

विशेषतः परिवर्तन, सुधार र नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने शक्तिका लागि यो अझ ठुलो परीक्षा हो । संकटका बेला बहाना खोज्नु होइन, जवाफदेहिता प्रदर्शन गर्नु नै नयाँ हुनुको सार्थकता हुनेछ । नागरिकले भाषणभन्दा व्यवहार, आरोपभन्दा उत्तरदायित्व र प्रतिबद्धताभन्दा परिणामको अपेक्षा गरेका छन् । आजको नेपालको सबैभन्दा ठुलो राष्ट्रिय अभिभारा युवालाई देश छाड्ने होइन, देश बनाउने वातावरण सिर्जना गर्नु हो । राष्ट्रको भविष्य आर्थिक वृद्धिदर वा राजनीतिक भाषणले मात्र सुरक्षित हुँदैन । राष्ट्रको भविष्य आफ्ना युवाको आँखामा बाँचेको आशा, उनीहरूको श्रम, सिर्जना र सपनामा सुरक्षित हुन्छ । हामीले नयाँ पुस्तालाई कस्तो नेपाल हस्तान्तरण गर्ने ? निराशाले भरिएको नेपाल कि सम्भावनाले भरिएको नेपाल ? यही प्रश्न आजको राजनीति, राज्य व्यवस्था र समाजका अगाडि उभिएको छ ।

ताजा खबर

सम्बन्धित खबर