
राज्यप्रति नागरिकको विश्वास कमजोर हुँदा समाजमा निराशा बढ्छ । निराशा बढ्दै जाँदा त्यसले व्यक्तिलाई मात्र होइन, समग्र समाजलाई नै कमजोर बनाउँछ । पछिल्ला केही दिनमा भएका आत्मदाहका घटनाले यस्तै सन्देश दिएका छन् । यी घटनाले सामाजिक निराशाको चरम स्थिति उजागर गरेका छन् । २०७९ सालमा प्रेमप्रसाद आचार्यले संघीय संसद् भवनअगाडि आफ्नै शरीरमा आगो लगाए । तीन वर्षपछि मुगुका २५ वर्षीय गणेश नेपालीले राहदानी विभागअगाडि त्यही बाटो रोजे । त्यसपछि विवेक मण्डल र अश्विन राउतले पनि आत्मदाह गरे । सुकुम्वासी बस्ती हटाइएपछि त्यहाँ बस्दै आएका दुईजनाले आत्महत्या गरे । यी सबै घटनाका कारण विभिन्न छन्, तर मुख्य कारण भने चरम निराशा नै हो । जब मानिसलाई आफ्नो समस्या सुन्ने कोही छैन भन्ने लाग्छ, समाधानको बाटो पहिल्याउन सक्दैन, त्यस्तो बेला यस्ता गलत निर्णय लिन पुग्छ ।
नेपालमा दैनिक औसत १८–१९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । यसको अर्थ बर्सेनि हजारौं नागरिकले कुनै न कुनै रूपमा आशा गुमाइरहेका छन् । बेरोजगारी, आर्थिक संकट, ऋणको बोझ, व्यवसायमा असफलता, मानसिक तनाव, सामाजिक एक्लोपन र राज्यबाट अपेक्षित सहयोग नपाउनुजस्ता कारणले धेरै नागरिक डिप्रेसनमा पुगेका छन् । त्यसैले यस्ता घटनालाई कुनै व्यक्तिविशेषको कमजोरी भनेर टार्न मिल्दैन । यो राज्य र समाज दुवैको जिम्मेवारीसँग जोडिएको विषय हो ।गत वर्ष भदौको जेनजी विद्रोहपछि देशको राजनीतिले नयाँ बाटो समाएको छ । चुनावबाट शक्तिशाली सरकार बनेको छ । झन्डै दुईतिहाइ बहुमतप्राप्त सरकार आएपछि राजनीति स्थिरता, सुशासन र नयाँ आशा पलाउने आमअपेक्षा थियो । पुराना दलले काम गर्न सकेनन्, जनतामा आशा जगाउन सकेनन् भन्ने भाष्यबाट वैकल्पिक शक्ति उदाएको हो । तर, सरकार बनेको सय दिन बितिसक्दा पनि नागरिकमा नयाँ उत्साह जगाउन सकेको देखिँदैन । जनताले स्टन्ट होइन, परिणाम खोजिरहेका छन् । आश्वासनभन्दा अवसर खोजिरहेका छन् ।
आशा कुनै नाराले जाग्दैन । त्यसका लागि रोजगारी सिर्जना गर्नुपर्छ । उद्योगी व्यवसायीलाई धरपकड र तर्साउनेभन्दा उद्यम गर्ने सहज वातावरण दिनुपर्छ । सरकारी सेवा छिटो, सरल र सम्मानजनक बनाउनुपर्छ । युवाले आफ्नो देशमै भविष्य देख्ने अवस्था बनाउनुपर्छ । संकटमा परेका नागरिकलाई समयमै साथ दिने संयन्त्र बलियो बनाउनुपर्छ । नागरिकले राज्य आफ्नै साथमा छ भन्ने अनुभूति पाउनुपर्छ । सय दिनमै यी सबै काम हुन सक्दैन । तर, सरकारले लिएको बाटो सही छ भनेर नागरिक आश्वस्त भने हुनुपर्छ । यदि सरकारले नागरिकमा भरोसा र सुरक्षित भविष्यको विश्वास जगाउन सक्यो भने यस्ता पीडादायी घटना दोहोरिने सम्भावना पनि घट्नेछ ।