२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मन माझ्दै माधव

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ २७ गते ०७:००
मन माझ्दै माधव

काठमाडौं : नेपाली कांग्रेससँगको सत्ता गठबन्धन बदल्दा आफूसँग प्रयाप्त छलफल नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मन दुखाएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल युटर्न भएका छन् । 

विभिन्न प्रदेशमा सम्मानजनक सहभागिता, सूदुरपश्चिम प्रदेश सरकारको नेतृत्व जस्ता विषय प्रचण्डकै कारण प्राप्त भएको भन्दै अध्यक्ष नेपालले पार्टी बैठकमा प्रचण्डको प्रशंसा गरे । 

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले अब आफूहरु प्रष्टसँग वर्तमान सत्तागठबन्धनमा रहेर अगाडि बढ्ने बताए । कांग्रेस, जसपा नेपाल सहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले मधेश प्रदेशमा मुख्यमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको बताए । अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डको भूमिका सकारात्मक रहेको बताए । 

‘कमरेड प्रचण्डको भूमिका सकारात्मक रुपमा लिएका छौं । उहाँले मधेश प्रदेशको बारेमा एक जना मन्त्री थप्ने भूमिकामा, बागमतीमा पनि मन्त्रीलाई पोर्टफोलियो दिने कुरामा, सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री दिन उहाँले नै भन्नुभयो । उहाँले खेलेको भूमिका पोजेटिभ छ’, उनले भने । 

प्रचण्ड–माधव नजिकिएसँगै समाजवादी मोर्चालाई अगाडि बढाउने गृहकार्यमा समेत नेताहरु लागेका हुन् । अध्यक्ष नेपालले नै समाजवादी मोर्चा पुनःगठन गरेर अगाडि बढ्ने बताए । 

‘समाजवादी मोर्चाका संयोजक विप्लव सकारात्मक हुनुहुन्छ, प्रचण्ड, अशोक राई, महिन्द्रराय यादव समूह सकारात्मक देखिनुभएको छ । उपेन्द्रजीलाई पनि सोध्ने प्रयासमा छौँ । हामी छिटै अर्को समाजवादी मोर्चा, समाजवादी मोर्चाको पुनःगठन गरेर कति घटक हुन्छन्, सहकार्य गरेर जानेछौं’ अध्यक्ष नेपालले भने । वातावरण सहज बनाउन समाजवादी मोर्चाका संयोजक विप्लवको दौडधुप समेत बढेको छ । 

२०८० असार ४ गते चार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाको सहभागितामा समाजवादी मोर्चा गठन भएको थियो । मोर्चाबन्दी गरेका यी चार दलभित्रकै एक जसपा नेपाल गत बैशाख २४ गते विभाजित हुन पुगेको छ ।

जसपा विभाजनको आरोप मोर्चाकै शीर्ष नेतामाथि लागेपछि यसको भविष्यलाई लिएर कतिपयले प्रश्न उठाइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले पुनः अगाडि बढ्ने बताएका हुन् । मोर्चाका विप्लवले गत बुधबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका थिए । उक्त भेटमा मोर्चालाई पुनः सक्रिय बनाउन छलफल गरेका थिए । तर उनको प्रस्तावलाई उपेन्द्र यादवले सिधै नकार्दै यसको औचित्य सकिएको बताएका थिए ।

निर्वाचन आयोगले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गरेपछि सर्वोच्च अदालतमा अध्यक्ष यादवले रिट दायर गरेका छन् । उनको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले दल दर्ता सम्बन्धी निर्णय प्रक्रिया यथास्थानमा राख्न निर्देशित गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise