२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

दुईतिहाइ ज्येष्ठ नागरिक स्वरोजगार

Nada
दिवाकर अधिकारी
२०८३ साउन ३ गते ०६:३५
Shares
दुईतिहाइ ज्येष्ठ नागरिक स्वरोजगार

काठमाडौं : दुई तिहाइ ज्येष्ठ नागरिक स्वव्यवसायमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालमा हाल ३३ लाख ५५ हजार ८०८ जना छन् । यसमध्ये ६८.८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसायमा वा स्वरोजगार छन् । 

ncell

स्वव्यवसायमा रहेका ज्येष्ठ नागरिक पुरुषको संख्या ७२.२ प्रतिशत छ भने ज्येष्ठ नागरिक महिलाको संख्या ६४.३ प्रतिशत छ । यसले उमेर ढल्किँदै गए पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको देखाउँछ ।

नेपालमा ६० वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्योपचार र सम्मानका लागि नेपाल सरकारले विभिन्न व्यवस्था गरेको छ । ७० वर्ष पुगेका नागरिकहरूलाई मासिक ४ हजार बृद्ध भत्ता समेत दिने गरिएको छ ।

ज्येष्ठ नागरिकको रोजगारीको अवस्थालाई हेर्दा स्वव्यवसायपछि अर्को ठूलो हिस्सा रोजगारीमै संलग्न रहेको देखिन्छ । १४.८ प्रतिशत ज्येष्ठ नागरिक पुरुष रोजगार छन् । रोजगारीमा रहेका ज्येष्ठ नागरिक महिला ११.६ प्रतिशत छ । समग्रमा १३.४ प्रतिशत ज्येष्ठ नागरिक रोजगार छन् । 

रोगदारदाता ज्येष्ठ पुरुष १.१ प्रतिशत रहेका छन् भने रोगदारदाता ज्येष्ठ महिला ०.३ प्रतिशत रहेको छ । 

तथ्यांकअनुसार २७ प्रतिशत ज्येष्ठ नागरिक परिवारको काममा संलग्न छन् । पुरुष ज्येष्ठ नागरिकमा परिवारको काममा संलग्न हुनेको हिस्सा ११.८ प्रतिशत छ भने महिलामा यस्तो हिस्सा २३.७ प्रतिशत रहेको छ । यसले ज्येष्ठ महिलाहरू अझै पनि घरायसी तथा पारिवारिक काममा बढी निर्भर रहेको देखाउँछ । 

०.१ प्रतिशत ज्येष्ठ नागरिक कामको प्रकृतिमा उल्लेख नगरिएको समूहमा छन् । रोजगारीको अवस्थालाई लैंगिक आधारमा विश्लेषण गर्दा ज्येष्ठ पुरुषको आर्थिक गतिविधिमा सहभागिता र महिलाको पारिवारिक काममा संलग्नता फरक–फरक रूपमा देखिन्छ । 

नेपालमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको अवस्थामा उनीहरूको आर्थिक गतिविधि र रोजगारीको अवस्थाले सामाजिक सुरक्षा नीतिमा नयाँ चुनौतीसमेत देखाएको सरोकारवालाहरू बताउँछन् । 

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय तथ्यांक विभागलाई उद्धृत गर्दै ‘तथ्यांकमा ज्येष्ठ नागरिक’ प्रकाशन गरेको छ । जसले उमेर बढ्दै जाँदा पनि ठूलो संख्यामा ज्येष्ठ नागरिक स्वव्यवसायमा रहेको देखाएको हो ।

विशेषगरी ग्रामीण क्षेत्रमा कृषि, पशुपालन, साना व्यापार तथा पारिवारिक व्यवसाय नै ज्येष्ठ नागरिकको मुख्य आर्थिक आधार रहेको छ । औपचारिक रोजगारीबाट अवकाश लिएपछि नियमित आम्दानीको स्रोत नहुने भएकाले पनि कतिपय ज्येष्ठ नागरिक उमेर ढल्किए पनि स्वव्यवसायमा संलग्न भएका छन् । 

नेपालमा ज्येष्ठ नागरिकहरु सामाजिक संरक्षण प्रणालीका प्रमुख लाभग्राही समुहमध्ये एक हुन् । नेपालको संविधानले ज्येष्ठ नागरिकहरुको सम्मानपूर्वक जीवनयापन, सामाजिक सुरक्षा तथा संरक्षणको अधिकार सुनिश्चित गरेको छ । यसै अनुरुप सरकारले ज्येष्ठ नागरिक भत्ता, निःशुल्क वा सहुलियतपूर्ण स्वास्थ्य सेवा, वृद्धाश्रम तथा दिवा सेवाकेन्द्र जस्ता विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तथापि, ठूलो संख्यामा ज्येष्ठ नागरिक आर्थिक गतिविधिबाट पूर्ण रूपमा अलग नभएको तथ्यांक आएको हो । 

ताजा खबर

सम्बन्धित खबर