
हरेक मनसुनमा नेपालका सहरहरूमा एउटै घटना दोहोरिन्छ । पहिलो, वर्षासँगै सडकहरू डुबानमा पर्छन्, मानिसहरू घण्टौंसम्म ट्राफिक जाममा फस्छन् । सामाजिक सञ्जाल जलमग्न सडकका तस्बिरहरूले भरिन्छन् । पानी कम भएपछि सरकारले निकास खोल्न निर्देशन दिन्छ । सम्बन्धित निकायले सुधारको वाचा गर्छन् र अस्थायी मर्मत सुरु हुन्छ । तर, अर्को मनसुनमा उही अवस्था फेरि दोहोरिन्छ । यी बारम्बार हुने असफलता असामान्य वर्षाका कारण मात्र भएका होइनन् । तिनीहरूले हाम्रा सहरको योजना, शासन, वित्तपोषण र मर्मतसम्भारको सम्पूर्ण प्रणालीमा रहेका गम्भीर त्रुटिहरूलाई बुझाउँछन् । बहस अब जलवायु परिवर्तनले वर्षाको तीव्रता बढाएको छ कि छैन भन्ने होइन । बरु हाम्रा सहर यो नयाँ समस्याको अनुकूलन हुन सकेका छन् कि छैनन् भन्ने हो । यसतर्फ भने सहरहरू पूर्ण रूपमा असफल भएको देखिन्छ ।
मनसुन सक्रिय भएसँगै काठमाडौं, धनगढी र नेपालगन्जलगायत प्रमुख सहरको जनजीवन डुबानले अस्तव्यस्त बन्यो । नियमित मर्मत, ढल प्रणालीको प्रतिस्थापन र सार्वजनिक ठाउँहरूलाई अतिक्रमणमुक्त राख्नेजस्ता मुद्दालाई बेवास्ता गर्दा यो समस्या दोहोरिँदै आएको छ । नेपालको सहरी जनसंख्या तीव्र रूपमा बढिरहेको छ र सन् २०४७ सम्ममा देशको झन्डै ७० प्रतिशत जनसंख्या सहरी क्षेत्रमा ओइरिने अनुमान छ । यसको अर्थ सबै सरोकारवालाबाट समयमै र ठोस कार्य नगरिए आगामी वर्षहरूमा यो समस्या झनै भयावह बन्ने निश्चित छ ।
हाम्रा सहरहरूमा पानी जम्ने मुख्य कारण अनियन्त्रित सहरीकरण हो । योजनाबेगर नै सहरी क्षेत्रहरू विस्तार गरिएका छन् । निर्माण कार्य र फोहोरको जथाभावी डम्पिङका कारण ताल, पोखरी र प्राकृतिक जलस्रोत सुक्दै र नासिँदै गएका छन् । विगत चार दशकमा अनियन्त्रित मानव अतिक्रमणका कारण काठमाडौंका ऐतिहासिक जलस्रोतहरू डरलाग्दो दरमा लोप भए । काठमाडौं उपत्यका जल व्यवस्थापन बोर्डका अनुसार, उपत्यकाका २३३ ऐतिहासिक पोखरीमध्ये अहिले १९३ वटा मात्र बाँकी छन् । अर्कोतर्फ पानी व्यवस्थापनको जिम्मेवारी बोकेका निकाय, स्थानीय सरकार र ढल निकाससम्बन्धी कार्यालयबीच कमै मात्र समन्वय हुने गरेको छ । यो कार्यशैलीले गर्दा काठमाडौं महानगरजस्ता सहरी क्षेत्रको समग्र व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ ।
कमजोर इन्जिनियरिङ, गैरजिम्मेवार नागरिक
पुराना सहरमा पानी जम्मा हुनुको पहिलो कारण कमजोर ढल निकास प्रणाली हो । ढल र नाली निर्माणका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च गरिन्छ । तर, उचित मापदण्ड वा संरचनात्मक ज्ञानबिना जहाँ पायो त्यहाँ ढल निकास बनाइँदा ती सुरुदेखि नै असफल हुन्छन् । पुराना सहरमा नयाँ भवन थपिँदै छन्, तर ढल व्यवस्थापनको दीर्घकालीन योजना छैन । प्रत्येक क्षेत्रको ढल निकास प्रणाली सहरको जनसंख्या र आगामी १०० वर्षको भविष्यलाई हेरेर डिजाइन गरिनुपर्छ । धेरै ठाउँमा ढलको इन्जिनियरिङ उल्टो र असमान भएकाले पानी बाहिर बग्नुको सट्टा स्थिर बनिदिन्छ । सरसफाइ नहुनु अर्को कारण हो । नागरिकले पोलिथिनका झोला, कवाड र घरायसी फोहोर जथाभावी सडकमा फ्याँक्छन्, जुन नालीमा पुग्छन् र ढलहरू बन्द हुन्छन् । यस्तोमा हल्का वर्षाले पनि सडक जलमग्न बन्न पुग्छन् ।
त्यसमाथि, सरकारी विभागहरूबीच उचित योजना र समन्वयको अभाव छ । खानेपानी, विद्युत् प्राधिकरण, सडक विभाग र नगरपालिका फरक–फरक ढंगले चल्छन् । एउटै सडक विभिन्न बहानामा पटक–पटक खनिन्छ, जसले ढल प्रणालीलाई क्षति पु¥याउँछ र खनिएको माटोबगेर नालीहरू थुनिन्छन् । अचम्मको कुरा त के छ भने, बेलायतमा प्रति १० लाख जनसंख्यामा ३८ जना र अस्ट्रेलियामा २३ जना नगर योजनाकार हुँदा नेपालमा प्रति १० लाख जनसंख्यामा एकजना पनि योजनाकार छैनन् । समर्पित ढल निकास योजनाको अभावमा एकैपटकको भारी वर्षाले सहरलाई ठप्प बनाउँछ । यो समस्यामा सबै वर्गका नागरिक उत्तिकै जिम्मेवार छन् । शिक्षित र उच्च वर्गकै मानिएका व्यक्तिले आफ्नो घरबाहिरका फुटपाथ अवैध रूपमा कब्जा गर्ने र सडकमा गाडी पार्क गरेर पानी बग्ने ठाउँ थुन्ने गरेका छन् ।
हाम्रो सहरी पूर्वाधार पुरानो ऐतिहासिक वर्षाको ढाँचामा आधारित छ, जसले आजको मौसमी अवस्थालाई धान्न सक्दैन । द्रुत सहरीकरणले माटो र हरियालीलाई कंक्रिटले प्रतिस्थापन गरेपछि जमिनमुनि पानी रिचार्ज हुन पाएको छैन । अबको विकल्प भनेको प्रकृतिमा आधारित विकास र सिमसार क्षेत्रहरूको पुनरुत्थान नै हो । काठमाडौंका सडक र अन्डरपासहरूमा अर्बौं रुपैयाँ खर्च भइरहे पनि माइतीघर मण्डला वा कलंकीका अन्डरपासहरू सामान्य वर्षामा पनि डुब्नुले हाम्रो इन्जिनियरिङमाथि प्रश्न उठाएको छ । फराकिलो सडक वा ठुला नाली बनाएर मात्र पनि अहिलेको समस्याको समाधान हुँदैन । यसका लागि दूरदर्शी योजना, नियमित मर्मतसम्भार र कानुनको कार्यान्वयन आवश्यक पर्छ । मुख्य कुरा योजना कार्यान्वयनको शैली बदल्नुपर्छ । ढल निकास सञ्जालको व्यापक पुनर्संरचना गर्ने, सडक र फुटपाथहरूको नियमित सुरक्षा लेखा परीक्षण गर्ने र अवैध अतिक्रमणलाई निर्ममतापूर्वक हटाउने आँट नगरेसम्म हाम्रा सहर मनसुनको कहरबाट मुक्त हुन सक्दैनन् ।