२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

द्रष्टा र स्रष्टा हाम्रा पुर्खा

Nada
डा. देवीप्रसाद आचार्य
२०८३ साउन ४ गते ०६:०५
Shares
द्रष्टा र स्रष्टा हाम्रा पुर्खा

भनिन्छ, कि त पढेर जानिन्छ कि त परेर । हाम्रा पुर्खाहरू विद्यालय तथा विश्वविद्यालयहरू पढ्ने अवसरबाट वञ्चित थिए । तर, जीवन भोगाइले उनीहरू आविष्कारक भए । जिउने कला सिके । पुर्खाहरूले प्रकृतिमा जे उपलब्ध थियो, त्यसैको प्रयोग गरेर कृषि, पशुपालन तथा श्रमसँग आवश्यक उपकरण निर्माण गरे । जमिन जोतेर खेती गर्नका लागि हलो, कुटो, कोदाला बनाए । काठबाट हलोको निर्माण गरे । हलोसँग जोडिएका फाली, कर्वा, हरिस, जुवा, बर्री, नारालगायत संयोजन गरी गोरु तथा राँगाको प्रयोगगरी जमिन जोतेर अन्नबाली उत्पादन गरे ।  

ncell

पुर्खाहरूले सिर्जना गरेका उपकरण नै तत्कालीन समयमा जीवन जिउने आधार थिए । उनीहरूले पशुहरूलाई नियन्त्रणमा राख्नको लागि रुख, बिरुवाबाट कच्चापदार्थको प्रयोगगरी दाम्ला बनाए । घाँस काटेर पशुहरूलाई खुवाउन हँसिया बनाए । डोका–नाम्ला बनाई घाँस–पराल ओसारपसार गरे । पशुहरूबाट प्राप्त हुने दूध र मासुको उपयोग गर्ने विधि तथा उपकरण निर्माण गरे । काठ र माटोको प्रयोग गरी दूध दुहुने र तताउने भाँडा निर्माण गरे । दूधबाट दही जमाउन वन जगलबाट उपयुक्त काठको छनोट गरी ठेकाठेकी बनाए । दही मथेर घिउ निकाल्न मदानी बनाए । यसलाई अड्याउन र मथ्ने विधिहरूको पनि आविष्कार गरे । घिउ संकलन गर्नका लागि काठबाट नै हर्पे र आरीजस्ता भाँडा बनाए । 

अब कुरा गरौं, खेतीबाली उत्पादन गर्ने र यससँग जोडिएका उपकरणको निर्माणबारे । हाम्रा पुर्खाले मौसमअनुसारका खेतीबाली गर्ने ज्ञान हासिल गरे । उत्पादनका सीप सिके । अन्नबाली काट्ने, स्याहार्ने, भित्र्याउने तथा  भण्डारण गर्ने उपकरण निर्माण गरे । कुटो, कोदालो, फरुवा बनाए । माटोसँग खेल्दाखेल्दै यसलाई धुलो, हिलो वा बालीनालीअनुसारको खेतबारीलाई हिलो वा धुलो बनाई अनाज उत्पादन गर्नका लागि काठबाट नै उपकरण निर्माण गरे ।

अन्न उत्पादन भएपछि खान योग्य बनाउनका लागि ढिकी, जाँतो, पानीघट्टजस्ता उपकरण निर्माण गरे । ढिकी र जाँतोसँग जोडिएका सहायक उपकरण पनि बनाए । मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्नलाई आवश्यकताअनुसार च्याँख्ला, पिठो वा मसिनो बनाउन जाँतो र तोरीबाट तेल निकाल्ने कोल बनाए । उल्लिखित उपकरण र यससँग जोडिएका वैज्ञानिक चेत, खोज, अन्वेषण तथा आविष्कारभित्रको वैज्ञानिक सीपका आधारमा हेर्दा हाम्रा पुर्खा स्रष्टा हुन् । नपढेका वैज्ञानिक हुन् । व्यवहारका कालिगढ हुन् ।  

माथि उल्लिखित क्षेत्रका अतिरिक्त हाम्रा पुर्खा वनस्पतिविज्ञ पनि हुन् । जंगलकै छेउछाउमा दैनिकी बिताएका हाम्रा पुर्खाले विभिन्न प्रकारका रुखबिरुवाको अनुसन्धान गरे । अनुसन्धान र प्रयोगबाट रुख–बिरुवाको उपयोग गरे । कुनै रुख–बिरुवाहरू फलका रूपमा उपयोग गरे । कतिपयका बिरुवाबाट खानका लागि फलहरूको चयन गरे । कतिपयको बिरुवाको पात, फल वा काण्ड खान मिल्ने अनुसन्धानबाट पुष्टि गरे । कतिपय रुख–बिरुवालाई औषधिको रूपमा उपयोग गरे । यसरी वनस्पतिशास्त्रको कोणबाट हेर्दा हाम्रा पुर्खा वनस्पतिविज्ञ हुन् । जसले जीवन र वनस्पतिको बीचमा वैज्ञानिक सम्बन्ध राखेर हरेक क्षेत्रमा उपयोग गर्न सक्षम भए । 

हाम्रा पुर्खा कृषि, पशुपालन र वनस्पति क्षेत्रका मात्र अध्येता थिएनन्, उनीहरू समाजशास्त्री पनि थिए । समाज विकासका क्रममा अगाडि बढ्दै जाँदा समाजलाई सभ्य, अनुशासित, तथा एकताबद्ध बनाउन सामाजिक संस्कार र संस्कृतिको पनि निर्माण गरे । पौराणिक तथा नैतिक कथा सुनाएर समाजलाई धार्मिक बनाए । मठ, मन्दिर, गुम्बा, पाटी, पौवा, धारा, कुवा निर्माण गरे । चाडपर्व, पूजाआजा, विधि पद्धतिको विधिको विकास गरे । पाहुनालाई ‘अतिथि देवो’ भनेर समाजलाई मानवताको पाठ सिकाए । बटुवालाई बास बस्नका लागि पाटीपौवा एवं धर्मशाला निर्माण गरी मानव सेवा गरे । 

पशु र चराचरुंगीको पानी पिउने व्यवस्थाका लागि ठाउँ–ठाउँमा पोखरी निर्माण गरेर प्राणी जगत्को सेवा गरे । ठाउँ–ठाउँमा चौतारी निर्माण गरे । यसैगरी, वास्तुकला, काष्ठकला, मूर्तिकला र चित्रकलाको माद्यमबाट तत्कालीन समाजको जीवन्त जीवनशैली, सभ्यता र संस्कृतिको विकास गर्ने हाम्रा पुर्खा वास्तुविद् हुन् । उनीहरू मूर्तिकार, चित्रकारका साथै सिर्जनाका सर्जक हुन् ।  

हाम्रा पुर्खाले भाषा, भाषिका तथा उखानटुक्काको पनि विकास गरे । जीवन भोगाइको अनुभवबाट सान्दर्भिक तथा अर्थपूर्ण उखानटुक्का बनाए । ‘कुरा सुन्नू बुढाको, आगो ताप्नू मुढाको’ भनेर आर्जित ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने संस्कृतिको विकास गरे । काम नगर्ने अल्छीहरूलाई व्यंग्यात्मक शैलीमा ‘अल्छी तिघ्रो स्वादे जिब्रो’ भनेर काम गर्नुपर्ने मनोविज्ञानको विकास गरे । समयमा नै नसोच्नाले दुःख पाइन्छ भन्ने सन्देश दिनका लागि आगो लागेपछि इनार खन्नुको अर्थ नहुने विचार सम्प्रेषण गरे । आप्mना छोराछोरीलाई वीर तथा हिम्मतिला बनाउन ‘आँटी छोरालाई बाघले खाँदैन’ भन्ने उखानको माध्यमबाट प्रेरणा दिए । समाजमा इमान र विश्वास जगाउनका लागि इमान भनेको लाख हो, पैसा भनेको खाक हो भन्ने उपदेश दिँदै धन सम्पत्ति कमाउनका लागि दुष्कर्म गर्नुहुँदैन भन्ने उपदेश दिए । 

जीवन दुःखसुखको यात्रा हो । दुःखका बेला एकले अर्कोलाई सहयोग गरेर जीवन जिउने कला सिक्नुपर्ने व्यवहारलाई अभ्यासमा ल्याउन समाजमा ऐंचोपैंचोको चलन चलाए । अर्मपर्म गर्ने संस्कृतिको विकास गरे । समाजमा सरसापट तथा लेनदेन गर्नु पर्ने व्यवहारिक पक्षबाट धोखा नहोस् भन्ने संस्कृतिको विकास गर्न दिएको पैसा वा मालसामान फिर्ता नगर्ने प्रवृत्तिका मानिसलाई ‘कुकरलाई मासु पैंचो’ भनेर इमान र विश्वासको खोजी गर्ने पहल गरे । समाजमा मानिसपिच्छे भिन्नाभिन्नै ज्ञान एवं अक्कल हुन्छ भन्ने शिक्षादीक्षा सिकाउनका लागि ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भने । उपार्जनबिना नै मिठोमसिनो खान खोज्ने अल्छीहरूलाई ‘गाई न गोठ, लबर लबर ओठ’ भने । यसरी भाषा शास्त्रीय दृष्किोणबाट हेर्दा पनि हाम्रा पुर्खा नपढेका, तर अक्कलका भाषाशास्त्री हुन् । 

आयरिस दार्शनिक एडमन्ड बर्कले ‘जसले आफ्ना पुर्खातर्फ फर्केर हेर्दैन, उसले भावी पुस्ताप्रति पनि जिम्मेवारीपूर्वक सोच्न सक्दैन’ भनेका छन् । यो भनाइ हाम्रो समाजको सन्दर्भमा सान्दर्भिक देखिन्छ । हाम्रा पुर्खाहरूले हामीलाई भूमि, घर र सम्पत्ति मात्र छाडेर गएका छैनन्; उनीहरूले ज्ञान, सीप, संस्कृति, सभ्यताका साथै जीवन जिउने कला पनि हस्तान्तरण गरेर गएका छन् । यो बिरासतको अध्ययन, चिन्तन, मनन, संरक्षण तथा संरक्षण गर्दै भावी पुस्तामा पुस्तान्तरण गर्दै जानु हाम्रो दायित्व हो । यो दायित्व पूरा गरौं ।

ताजा खबर

सम्बन्धित खबर