२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

अभिभावकको चेपुवामा बालबालिका

Nada
भावना पाठक
२०८३ साउन ६ गते ०६:३०
Shares
अभिभावकको चेपुवामा बालबालिका

‘कुमारी आमा’ भनेर चिनिने निहारिका राजपूत अर्थात् सोनालीकुमारी सिंह सिंहदरबार अगाडि छोरासहित आन्दोलनमा छिन् । गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार पुगेकी निहारिकालाई सुरक्षाकर्मीले गेटैमा रोकेपछि उनले त्यहीँबाट आन्दोलन सुरु गरिन् ।  

ncell

बलात्कारपछि जन्मिएको बच्चाको डिएनए परीक्षण, मिलापत्रस्वरूप भएको विवाह र त्यसपछि भोग्नुपरेको घरेलुहिंसाबारे नयाँ सरकार बेखबर रहेको उनको आरोप थियो । यही दुःख सुनाउन गृहमन्त्री भेट्न खोजेको, तर गेटबाट प्रवेश गर्न नदिएको भन्दै उनले आक्रोश पोखिन् । 

सरकारका मान्छेले पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै उनले आफ्ना मागको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिइन् । 

निहारिका लामो समयदेखि न्यायका लागि सडक संघर्ष गरिरहेकी छन् । आफूले प्रेम गरेको व्यक्ति शिवराज श्रेष्ठबाट आफू गर्भवती भएको, तर प्रेमीले बच्चा स्वीकार नगरेको उनको आरोप छ ।  

शिवराजले गर्भ फाल्न दबाब दिएको, तर निहारिकाले नमानेपछि शिवराजले सम्बन्ध तोडे । त्यसपछि उनले बच्चा (छोरा) जन्माइन् र शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गराइन् ।

तीन वर्षसम्म मुद्दा लडेपछि अदालतले शिवराजलाई निर्दोष रहेको फैसला गरेपछि उनी लामो समयसम्म आन्दोलन गरिन् । त्यसपछि छोरा र शिवराजको डिएनए परीक्षणको आदेश भयो । परीक्षण गर्दा शिवराज र उनका छोराको डिएनए मिल्यो । विभिन्न चरणमा आन्दोलन गरेकी निहारिकाले अन्ततः २०७९ माघ १७मा शिवराज र निहारिकाले श्रीमान्–श्रीमतीका रूपमा बस्ने भन्दै अदालतमै मिलापत्र गरेका थिए । लगत्तै उनीहरूले जानकी मन्दिरमा गएर विवाहसमेत गरेका थिए । 

अहिले उनै निहारिका सानो बालक छोरासहित सिंहदरबारको गेटमा घामपानी नभनी आन्दोलन गरिरहेकी छिन् । उनले गरेको आन्दोलनको पाटो एउटा होला, तर उनको यो आन्दोलनले आफूसँगै साथमै रहेको छोराको बालमनोविज्ञानमा नराम्रो असर पर्ने सरोकारवालाहरू बताउँछन् । 

उनीमात्र हैन जाजरकोटकी २७ वर्षीया साराकुमारी शाही (शर्मिला) आफू बलात्कृत भएपछि जन्मिएको बच्चाको जन्मदर्ता नबनेको भन्दै लामो समयदेखि माइतीघरमा आन्दोलनमा छिन् । उनी तीन महिनाको शिशु बोकेर जेठ २७ गतेदेखि माइतीघरमा धर्ना बसेकी हुन् ।

यसभन्दा पहिला पनि शर्मिला माइतीघरमा धर्ना बसेकी थिइन् । आफूमाथि बलात्कार भएपछि गर्भवती भएको भन्दै आन्दोलनमा बसेकी उनले आरोपी दार्चुलाका भूपेन्द्रसिंह ठगुनालाई प्रहरीले नियन्त्रणमा लिएपछि माइतीघर छोडेकी थिइन् । बच्चा जन्मिसकेपछि बच्चाको जन्मदर्ता नबनेको र आफूले पाउनुपर्ने क्षतिपूर्ति नपाएको उनको गुनासो छ । 

ठगुन्नाको परिवारले कुटपिट गर्ने, माइती पक्षलाई धम्की दिने गरेपछि उनी सडकमा आउन बाध्य भएको बताउँछिन् । जेठ २७ गतेदेखि माइतीघरमा उनीमात्र बसेकी छैनन् उनीसँगै उनका चार महिनाको छोरा पनि साथमै छन् । उनको छोरा कुरा बुझ्न सक्ने अवस्थामा नभए पनि हो–हल्ला भिडभाड र मानिसहरूको अनावश्यक आवतजावतले मस्तिष्कमा असर पर्ने मनोचिकित्सकको दाबी छ । 

माइतीघरमै दुई छोरीसहित एक पुरुषले पनि आन्दोलन गरिरहेका छन् । १० वर्षभन्दा कम उमेरका दुई बालिका आफ्नो आमाले बुबा र आफूहरूलाई छाडेर गएको भन्दै धुरुधुरु रोएको देख्न सकिन्छ । आफ्नो व्यापार व्यवसाय डुबेपछि श्रीमतीले छोडेको ती पुरुषको आरोप छ ।  विद्यालय जानबाट रोकेर उनले सडकमा लगेर छोरीहरूलाई रुवाउँदै गरेको भिडियोलाई कतिपयले सहानुभूति पाउनकै लागि गरेको प्रपञ्चसमेत भन्ने गरेका छन् । ‘मामुले हामीलाई छाडेर जानुभयो’ भन्दै ती दुई कलिला नानीहरू रुँदै गरेको भिडियोलाई बालअधिकार हननका रूपमा समेत व्याख्या गर्न थालिएको छ । 

‘हामीलाई बाबासँग नबोल्न भन्नुभएको छ, बोलिस् भने मामुले तँलाई मार्दिन्छु भन्नुहुन्छ’ भन्दै छोरी रोएको कुरालाई ती पुरुषले आफ्नी श्रीमतीले आफूलाई गरेको व्यवहारका रूपमा प्रस्ट्याउन खोजेका छन् । तर, उनको यो कदमले कलिला बालमस्तिष्कमा कति असर गर्छ भन्ने कुरा बुबा भएर पनि बुझ्न नसकेको धेरैको आरोप छ । 

यी सामान्य रूपमा सार्वजनिक रूपमा देखिएका घटना हुन् । पारिवारिक कलह, झै–झगडालगायत अन्य थुप्रै कारणले पछिल्लो समय बालमनोविज्ञानमा नकारात्मक असर परेको देखिन्छ । फरक–फरक मानिसहरूको फरक–फरक व्यवहारले उनीहरूको चेतनामा समेत चोट पु¥याउने मनोविश्लेषकहरू बताउँछन् । 

आफ्नो दुःख देखाउन बालबालिकाको प्रयोग गर्नु सामाजिक अपराध भएको समाजशास्त्री भानु नेपाल बताउँछन् । ‘दुःख सबैको आफ्नै होला, कसैको दुःखको व्याख्या दोस्रो व्यक्तिले गर्न सक्दैन,’ उनी भन्छन्, ‘तर दुःख देखाउन बालबालिकाको प्रयोग गर्नु उनीहरूको मनोविज्ञानमा चोट पु¥याउनु हो । यस्ता कार्यले बच्चामा डर, चिन्ता, असुरक्षाको भावना, उदासी वा निराशा बढ्न सक्छ ।’ 

‘हाम्रो सामाजिक मनोविज्ञान बालबालिका रोएको देख्न नसक्ने खालको छ । कतिले यसलाई गलत ढंगबाट प्रयोग गरेर सहानुभूति लिन खोजेजस्तो पनि देखिन्छ । बालबालिकाको प्रयोग अरूलाई आकर्षित गर्ने माध्यम पनि हो । क्षणिक रूपमा हेरिएको फाइदाले उनीहरूको मनोविज्ञानमा चोट पर्छ भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ,’ उनले भने । 

जतिसुकै अन्यायमा परे पनि न्यायका लागि बालबालिका प्रयोग उनीहरूको वृद्धि विकासमा घातक हुने मनोविद् वासु आचार्य बताउँछन् । ‘कलह झगडा, विवाद वा घरभित्रको निरन्तर तनावले बालमनोविज्ञानमा गहिरो प्रभाव पार्न सक्छ,’ उनी भन्छन्, ‘यसको असर बच्चाको उमेर, कलहको अवधि र बच्चाले पाउने भावनात्मक समर्थनमा निर्भर पनि रहन्छ ।’ लामो समयसम्म कलहको वातावरणमा हुर्किएका बालबालिकामा वयस्क भएपछि चिन्ता, एक्लोपनजस्ता समस्या देखिने उनको बुझाइ छ ।

‘बच्चाको अगाडि झगडा गर्ने, असुरक्षित महसुस गराउनेजस्ता कार्य गर्नुहुँदैन । माइतीघरजस्तो हरेक प्रकारका मानिस भेटिने ठाउँमा बालबालिकाको प्रयोग गर्नु भनेको त उनीहरूको मानसिक स्वास्थ्यलाई समेत जोखिममा पार्नु हो,’ उनले भने । 

बालबालिकाको प्रयोग गर्नु सामाजिक अपराध त हुँदै हो कानुनले पनि यसलाई अपराधकै रूपमा व्याख्या गरेको छ । नेपालको कानुनमात्र हैन संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिमा समेत हस्ताक्षर गरी नेपालले बालबालिकालाई सुरक्षित राख्ने प्रतिबद्धता जनाएको छ । तर, यो प्रतिबद्धता हस्ताक्षरमै मात्र सीमित रहेको कानुनविद्हरूको आरोप छ । 

धर्ना, आन्दोलनजस्ता जोखिमयुक्त ठाउँमा  बालबालिकाको प्रयोग गर्नु कानुनविपरीत भएको वरिष्ठ अधिवक्ता लक्ष्मण थपलिया बताउँछन् । ‘धर्ना, जुलुस, र राजनीतिक आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु गैरकानुनी र बालअधिकारको गम्भीर उल्लंघन हो,’ उनी भन्छन्, ‘नेपालको कानुनले बालबालिकालाई कुनै पनि प्रकारका राजनीतिक स्वार्थ वा प्रदर्शनमा सहभागी गराउन पूर्ण रूपमा निषेध गरेको छ । बालबालिकालाई स्वार्थका लागि प्रयोग गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने व्यवस्था रहेको छ ।’

नेपालको संविधानको धारा ३९मा बालबालिकाको हकको व्यवस्था गरेको छ । ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । संविधानमा नै प्रत्येक बालबालिकालाई बालअनुकूल न्यायको हक हुनेछ भनी लेखिएको छ, तर माइतीघर, सिंहदरबारलगायत धेरै ठाउँमा धर्ना आन्दोलनका नाममा बालबालिकाको प्रयोग हुँदै आएको देख्न सकिन्छ । 

ताजा खबर

सम्बन्धित खबर