
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–९ मुलखर्कस्थित सिप्रिङ खोलामा मंगलबार राति आएको भीषण बाढीले जलविद्युत् आयोजना र स्थानीय बस्तीमा ठुलो विपत्ति निम्त्याएको छ । बाढीले सिप्रिङ खोला जलविद्युत् आयोजनाको ड्याम क्षेत्र पुरिनुका साथै खोलाले कटान गरेपछि आयोजनामा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरमा अड्किएका थिए ।
ज्यान जोगाउन उनीहरूले रातभर भीरमै आश्रय लिनुपरेको थियो । बुधबार बिहान स्थानीयवासीको प्रयासपछि उनीहरूलाई सकुशल उद्धार गरिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिए । घटनापछि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोजकुमार लामाका अनुसार सिंगटी र गोंगरबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । दुर्गम भूगोल र बाढीका कारण प्रहरीलाई घटनास्थल पुग्न करिब तीन घण्टा लाग्ने जनाइएको छ ।
यसैबीच, बाढीले स्थानीय ७३ वर्षीय चसमान तामाङलाई बगाएर बेपत्ता बनाएको छ । गोठ लिएर मुलखर्क पुगेका तामाङ एक्लै बास बसेको अवस्थामा बाढीले बगाएको जनाइएको छ । उनको खोजी कार्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा जारी छ ।
बाढीका कारण करिब १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ । आयोजनामा पुगेको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ भने निरन्तरको वर्षासँगै त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।