२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

मेस्सीले महाभारत पढेका छैनन्

Nada
टीएस ठकुरी
२०८३ साउन ८ गते ०६:००
Shares
मेस्सीले महाभारत पढेका छैनन्

फिफा विश्वकप फुटबलले संसारलाई खेल मात्र दिँदैन । यसले यस्ता कथा पनि दिन्छ, जसले जीवन, समय र पुस्तान्तरण आदिको दर्शन सिकाउँछ । 

ncell

मेरा एकजना शिक्षक मित्र छन् । उनलाई खेलकुदमा खासै रुचि छैन । फुटबलप्रति उनको चासो लगभग शून्य नै छ । मेस्सी, रोनाल्डो, नेइमार, मोहम्मद सलाह, एमबाप्पे वा यमल कसैलाई उनी चिन्दैनन् । 

विश्वकप फाइनलको अघिल्लो दिन कफी भेटमा निकै उत्साहित हुँदै मैले उनलाई एउटा कथा सुनाएँ । सन् २००७मा एउटा पाँच महिनाको सानो शिशुलाई तत्कालीन बार्सिलोना क्लबका अर्जेन्टियन स्टार लियोनल मेस्सीले काखमा लिएर फोटो खिचेका थिए । त्यो फोटो यतिबेला भाइरल भएको छ । किनकि त्यही बालक आज विश्व फुटबलको सबैभन्दा ठुलो प्रतिभाशाली खेलाडीमध्ये एक लामिन यमल हो । विश्वकपको फाइनल भिडन्त हुँदै छ । त्यही मेस्सी र यमल विश्वकपको उपाधि भिडन्तमा आमनेसामने हुँदै छन् । स्पेन र अर्जेन्टिना उपाधिको अन्तिम दौडमा छन् । स्पेनका लागि १९ वर्षीय यमल र अर्जेन्टिनाका लागि ३९ वर्षीय मेस्सी उपाधि दिलाउने दाउमा छन् । यो सुनेर मेरा ती मित्र केही क्षण मौन भए, अनि मुस्कुराउँदै भने, ‘यो त खेलभन्दा ठुलो कथा रहेछ, जसरी पनि यो खेल हेर्छु ।’ 

उनले विश्वको ध्यानकेन्द्रित विश्वकपको अन्तिम खेल फेरि पनि हेरेनन् । भोलिपल्ट विद्यालयमा विश्वकपकै चर्चा थियो । ‘सर, स्पेनले जित्यो ।’ ‘सर, यमलले इतिहास बनायो ।’ ‘सर, मेस्सी निकै दुःखी भए ।’ उनले केहीबेर विद्यार्थीहरूलाई सुनिरहे । एकछिनपछि उनले विद्यार्थीलाई भने, ‘पर्ख, म एउटा कथा सुनाउँछु ।’ 

उनले महाभारतको कथामा भीष्म पितामह र अर्जुनबीचको संवाद सुनाए । विद्यार्थीले निकै उत्सुकताका साथ सुने । कुरुक्षेत्रमा भीष्म आफ्ना प्रिय शिष्य अर्जुनसँग लडिरहेका थिए । अर्जुनको विजयको अर्थ भीष्मको पराजय थियो । तर, भीष्मको दृष्टि सिंहासनभन्दा माथि थियो । उनलाई थाहा थियो, समय अब नयाँ पुस्ताको हो । धर्मको यात्रा अब अर्जुनले पूरा गर्नुपर्छ । त्यसैले उनले अर्जुनसँग कुनै वैरभाव राखेनन् । आफ्नो अनुभव, ज्ञान र गौरव नयाँ पुस्तालाई हस्तान्तरण गरे । मृत्युशय्यामा रहेर पनि उनले भविष्यलाई आशीर्वाद दिए । 

कथा सकिएपछि उनले विद्यार्थीहरूलाई एउटा प्रश्न सोधे । अब भन, ‘मेस्सी किन दुःखी भए ?’ कक्षामा केहीबेर मौनता छायो । अनि एकजना विद्यार्थी जुरुक्क उठ्यो र मुस्कुराउँदै जवाफ दियो, ‘सर, मेस्सीले महाभारत पढेको छैन ।’ सबै हाँसे । 

विश्वकपको त्यो फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको खेल थिएन । त्यो दुई युगबीचको संवाद थियो । एकातिर थिए, झन्डै दुई दशकसम्म विश्व फुटबललाई आफ्नो जादुले बाँधेर राख्न सफल लियोनल मेस्सी । अर्कोतिर थिए, उनकै खेल हेरेर हुर्किएको नयाँ पुस्ताको निकै प्रतिभाशाली लामिन यमल । 

कस्तो मिठो संयोग । एक समय मेस्सीले नुहाइदिएको बालक, आज त्यही मेस्सीको अन्तिम विश्वकप सपनाको चुनौती बनिरहेको थियो । संसारले यसलाई एउटा तस्बिर मात्र देख्यो । तर, त्यो तस्बिरभित्र समयले एउटा युगले अर्को युगलाई जिम्मेवारी सुम्पिरहेको दृष्य पनि थियो । यही त भीष्मको दर्शन हो । महान् मानिस आफ्नो उत्तराधिकारीसँग डराउँदैन । उत्तराधिकारी तयार गर्छ । महान् खेलाडीले आफ्नो उत्तराधिकारीको उदयलाई हार ठान्दैन, ठान्नुहुँदैन । उसले आफ्नै यात्राको निरन्तरता ठान्छ । मेस्सीले विश्व फुटबललाई दिएको योगदानको मूल्य अतुलनीय छ । यमलको सफलताले मेस्सी कदापि सानो हुँदैनन् । बरु यमलको सफलतामा मेस्सीको प्रभाव झन् ठुलो भएर देखिन्छ । किनकि प्रेरणाबिना प्रतिभा जन्मिँदैन । यस अर्थमा पक्कै यमलको प्रेरणाको ठुलो स्रोत सायद मेस्सी नै हुन् । 

मेस्सी फाइनल नतिजा आफ्नो पक्षमा पार्न नसक्दा दुःखी देखिए । हो, हार्दा सबैलाई पीडा हुन्छ । अझ विश्वकप फाइनल हार्नु सामान्य कुरा हुँदै होइन । त्यसमाथि जीवनको सम्भवतः अन्तिम विश्वकप हो भने त्यो पीडा झन् गहिरो हुन्छ । त्यसैले मेस्सीको अनुहारमा देखिएको दुःख स्वाभाविक हो । तर, यही क्षणमा महाभारतको कथा सम्झन सकिन्छ । भीष्मले हार स्वीकार गरेका थिएनन् । उनले समय स्वीकार गरेका थिए । समयभन्दा ठुलो यो संसारमा कोही छैन । हरेक महान् खेलाडीको जीवनमा एक दिन यमल आउँछ, आउँछ । हरेक महान् शिक्षकको जीवनमा एक दिन अर्जुन आउँछ । प्रश्न नयाँ पुस्ता आउँछ कि आउँदैन होइन, हामी त्यसलाई कसरी लिन्छौं भन्ने मात्र हो । डर, ईष्र्या वा भीष्मको जस्तो मुस्कानले । विश्वकप फाइनल सकिएपछि संसारभरि लाखौं मानिस मेस्सीका लागि रोए, उत्तिकै मानिस यमलका लागि खुसी पनि भए । तसर्थ इतिहासले दुवैलाई सम्झिनेछ । स्वर्णिम युग बनाएका कारण मेस्सीलाई तथा अर्को युग सुरु गरेका कारण यमललाई । 

यद्यपि विद्यालयमा ती विद्यार्थीले भनेको वाक्य शब्दभन्दा पनि प्रतीकका रूपमा बुझ्नुपर्छ । मेस्सीले महाभारत पढेको छैन । अर्थात्, हामी सबैले महाभारतबाट सिक्न अझै बाँकी छ । खेलकुदमा हार–जित स्वभाविक प्रक्रिया हो । हरेकलाई यही सिकाइन्छ । तर, अनुशरणमा जहिल्यै कमी पाइन्छ । तसर्थ खेल संस्कृति र संस्कारमा जोड दिनुपर्छ भनिएको हो । 
आफ्नो समय सकिँदै जाँदा नयाँ पुस्ताको सफलतामा मुस्कुराउनु नै महानता हो । किनभने विश्वकप जित्नु नै महानता पक्कै होइन, आफूले हुर्काएको पुस्ताले आफूलाई नै उछिन्दा पनि ताली बजाउन सक्नु महानता हो । यसअर्थमा इजिप्टका मोहम्मद सलाह यसै महान् खेलाडी भनिएका हैनन्, अर्जेन्टिनाले अन्तिमतिर कमब्याक गरेर नतिजा उल्टाउँदा सलाहको मुहारमा उही मुस्कान थियो । मेस्सी अन्तिम खेलमा आँसुका साथ बिदाइ हुँदा आउने पुस्ताले के सिक्छ भन्ने प्रश्न मेस्सीले छाडेका छन् । 

आशा गरौं, २०३०को विश्वकपलाई आफ्नो अन्तिम विश्वकप बनाउने सोचेका हुन् भने त्यतिबेला मेस्सीले खुसी खुसी बिदाइ हुनेछन् । किनकि मेस्सीले फुटबलबाट सन्न्यास लिने त्यस्तो कुनै आभास दिलाएका छैनन् । सन् २०३०मा विश्वकप सुरु भएको एक सय वर्ष पुग्दै छ । विश्वकप यात्राको एक शतक पुगेको अवसरलाई फिफाले विशेष वर्ष तयारी गर्दै छ । मूल आयोजक स्पेन, पोर्चुगल र मोरक्को भए पनि केही खेल उरुग्वे, पाराग्वे र अर्जेन्टिनामा पनि खेलाउने फिफाको तयारी छ । एक सय वर्ष पुगेको उपलक्ष्यमा फिफाले एकपटकलाई ४८ होइन, ६४ टिम खेलाउने कि भनेर छलफल पनि चलाएको छ । फिफाले १००औं वर्षको विश्वकपलाई विशेष रूपमा आयोजना गर्दै छ । मेस्सीलाई अर्जेन्टिनाकै मैदानबाट बिदाइ गर्ने योजना अर्जेन्टिनी फुटबल महासंघको हुन सक्छ । त्यसैले २०३०मा ४३ वर्षे मेस्सीले विश्वकप खेलेर भीष्मपितामहको शिक्षालाई संसारभर दिऊन्, आशा गरौं ।  

(ठकुरी विश्व म्याराथनको छाता संगठन एम्सका सद्भावना दूत हुन् ।)

ताजा खबर

सम्बन्धित खबर