२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘रोजगारी नभएसम्म खाडी जाने लाइन राकिँदैन’

ADV
मध्यान्ह
२०८१ साउन २९ गते २२:२४
‘रोजगारी नभएसम्म खाडी जाने लाइन राकिँदैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवा पलायन रोक्न सरकारले आकर्षक र रोजगारमूलक कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा फोर एच नेपालले मंगलबार आयोजना गरेको ‘अन्तरपुस्ता संवाद’ कार्यक्रममा उनले पढे लेखेका र बाध्यताले रोजगारीका लागि खाडी मुलुक जाने युवालाई रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए ।

‘युवालाई नेपालमै कसरी आकर्षित बनाउने भन्नेबारे सरकारले आवश्यक कार्ययोजना बनाउन जरुरी छ,’ नेता कोइरालाले भने, ‘नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्छ । युवा पलायन रोक्न राज्यले उनीहरुलाई कसरी ‘इन्गेज’ गराउने हो त्यसतर्फ ध्यान दिइनुपर्छ । स्वदेशमै अवसरको खोजी गर्ने जिम्मेवारी अभिभावको पनि हो ।’

प्रतिनिधि सभा सदस्य डा कोइरालाले व्यावहारिक र वैज्ञानिक शिक्षा पद्धतिको अवलम्बन गर्दै स्वरोजगार र उद्यमशीलताको विकासका लागि युवालाई प्रोत्साहित गरिनुपर्ने खाँचो औंल्याए । देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले पनि उद्यमशील मानसिकतासहित स्वदेशमै केही गर्ने सोच निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

नेता डा कोइरालाले ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारसँग जोडिएर आएका प्रश्नलाई सरकार र राजनीतिक दलले गम्भीरताका साथ लिनुपर्ने बताए । वर्तमान सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र युवालाई रोजगारी सिर्जनाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले युवा पलायन रोक्न युवा उद्यमशीलता विकास, स्वरोजगारीमा प्रेरित गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । नेकपा एमालेका नेता डा दीपकप्रकाश भट्टले समग्र राष्ट्रिय विकास नीति निर्माणका लागि युवापुस्ताले राज्यलाई घचघच्याउन जरुरी रहेको धारणा राखे । 

जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विदेश्वर यादव (विक्की)ले युवापुस्ताको समस्यालाई सम्बोधन गर्न सरकार र राजनीतिक दलहरुलाई गम्भीर बन्न आग्रह गरे ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिले युवाको मागलाई सरकार र राजनीतिक दलसमक्ष पु¥याउन पुलको रुपमा काम गर्ने उद्देश्यले संस्थाले विभिन्न युवा अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise