२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

पुरानो कांग्रेस ब्युँताउने प्रयास

Nada
जीवन शर्मा
२०८३ साउन २८ गते ०६:२५
Shares
पुरानो कांग्रेस ब्युँताउने प्रयास

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ६ महिनापछि आज नेपाल फर्कंदै छन् । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीबाट आफ्नै निवासमा निर्घात कुटपिट, घर आगजनी र सम्पत्तिको क्षति व्यहोरेका देउवा स्वदेश फर्किन लागेका हुन् । उनको स्वागतका लागि समर्थकहरूले बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको भव्य तयारी गरेका छन् । 

ncell

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतकै लागि सुदूरपश्चिमबाट देउवानिकट समर्थथकसमेत काठमाडौं आएका छन् । इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतमा बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् । देउवानिकट नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार मध्याह्न साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुनेछन् । 

इतर समूहले शुक्रबारका लागि सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला राखेको छ । भेलामा देउवाले सम्बोधन गर्ने तयारी छ । तीन दिनसम्म चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ । 

कांग्रेसमा निर्वाचन आयोग र सर्वाेच्च अदालतले समेत विशेष महाधिवेशनलाई आधिकारिकता दिएको थियो । उक्त आदेशको अन्तिम परीक्षणका लागि सर्वाच्च गएको इतर समूहले पुनरावलोकनको निस्सा पाएसँगै देउवा समूहका नेताहरूले १४औं महाधिवेशनकै संरचना ब्युँतिएको सन्देश दिनेगरी राजनीतिक कार्यक्रमलाई तीव्र बनाएका हुन् । 

उता, विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको संस्थापन कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । संस्थापनले महाधिवेशनको प्रक्रिया अघि बढएको तीन महिना भइसकेको अवस्थामा इतर समूहले अदालतबाट अन्तिम परीक्षणको निस्सा पाएसँगै महाधिवेशनको प्रक्रिया रोक्न सक्रिय भएको छ । दुईपक्षीय समानान्तर राजनीतिक गतिविधिले कांग्रेस थप सकसमा परेको छ । संस्थापन पक्षले १५औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको र मंसिर १५ भित्र महाधिवेशन गर्न नसक्दा पार्टीकै वैधानिकता सकिने दाबी गरेको छ । ‘कांग्रेसको १५औं महाधिवेशन मंसिर १५भित्र गरिसक्नुपर्ने अनिवार्य वैधानिक व्यवस्था हो,’ महामन्त्री प्रदीप पौडेलले भने, ‘विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग पार्टीभित्रको एकता कायम राख्न र समयमा महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर संवाद भइरहेको छ ।’ तर इतर समूहका केही नेता एकता भाँड्ने काममा सक्रिय हुनु पार्टी र देश हितमा नहुने उनले बताए । 

इतर समूहले पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति बनाएपछि खड्का उक्त कार्यक्रममा नजाने भएका थिए । पछिल्लोपटक देउवाले समेत कार्यक्रमलाई सम्बोधन गर्ने भएपछि खड्का २९ साउनको कार्यक्रममा सहभागी हुने भएका छन् । उक्त कार्यक्रममा डा.शेखर कोइरालाको समेत सहभागिता रहनेछ । 

उक्त भेलामा देउवाको सहभागिताले कांग्रेसको राजनीतिमा विशेष अर्थ राख्छ । जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । 

अदालतले पुनरावलोकन भनिसकेपछि अदालतको निर्णय सबैले मानेर अघि बढ्नुपर्ने इतर समूहका नेता एनपी साउदले बताए । उनले मध्यान्हसँग भने, ‘अदालतले पुनरावलोकन भनिसकेको छ । अब अदालतको निर्णय सबैले मान्नुपर्छ । अब अदालतको निर्णय आउनुभन्दा अगाडि हुने राजनीतिक सहमति भनेको १४औं महाधिवेशनमा सँगै थियौं । अहिले त्यही स्थानमा छौं भन्ने नै हो ।’ 

साउदको यो भनाइले विशेष महाधिवेशनका सबै निर्णय खारेज गर्दै १४औं महाधिवेशनकै संरचनामा फर्किएको सन्देश दिएको छ । ‘अब १४ औं महाधिवेशनकै कार्यसमितिले १५औं महाधिवेशन गर्ने हो भने सहमति हुन सक्छ,’ साउदले भने ।

ताजा खबर

सम्बन्धित खबर