२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ठेकेदारको लापरबाहीले बलेन बिजुली

ADV
ओबराज शाही
२०८१ साउन ३० गते ०६:४०
ठेकेदारको लापरबाहीले बलेन बिजुली

हुम्ला : ठेकेदारको लापरबाहीका कारण हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. २ र ३ मा हालसम्म विद्युत पुग्न सकेको छैन । सँगै जोडिएका वडा नं. ४ र ५ मा बिजुलीको व्यवस्था भइसक्दा पनि वडा नं. २ र ३ का नागरिक भने हालसम्म अन्धकारमै बस्न बाध्य भएका छन् । यता वडा नं. १ का साना बस्तीमा मात्र विद्युत पुगेको छ भने ठूला बस्तीमा अझै पुगेको छैन ।

ठेकेदारले ठेक्का अनुसार काम नगर्दा कतै पोल गाडेर तार टांगिएको छ भने कतै पोलसमेत गाडिएको छैन । करिब ७ वर्ष अगाडिदेखि बिजुलीको काम शुरु गरिए पनि हालसम्म २५ प्रतिशतसमेत काम हुन नसकेको स्थानीयहरु बताउँछन् ।

सदरमुकाम सिमकाेटदेखि हिल्दुम विद्युत वितरण केन्द्रबाट बिजुली लगेर खार्पुनाथ गाउँपालिका वडा नं. ४ छिप्रा र वडा नं. ५ खर्पेलगाउँमा विद्युत जोडेको करिब ७ वर्ष भयो । तर गाउँपालिका केन्द्रदेखि वडा नं. १ लाली, वडा नं. २ थाली र वडा नं. ३ राया गाउँमा ठेकेदारको लापरबाहीले बिजुली नपुगेको स्थानीय चक्र सिंहले बताए । उनका अनुसार वडा नं. १ का केही साना बस्तीमा सदरमुकाम सिमकाेटकाे बत्ती पुगेकाे भएपनि वडा कार्यलय र ठूला बस्तीमा अझै विद्युत विस्तार भएकाे छैन ।

वडा नं. ३ रायाका तीन बस्तीका करिब ७ सय घरधुरी र वडा नं. २ थाली गाउँका तीन बस्तीमा ५ सय घरधुरी  रहेका छन् । दुई वटा वडाका लागि दुई वटा ठेक्का भएको छ । जसमा वडा ३ राया गाउँका लागि न्यु रावत निर्माण सेवाले ठेक्का लिएको छ भने वडा २ थालीमा श्रीया उज्ल निर्माण सेवाले ठेक्का लिएको छ । ठेक्का लिएको लामो समय हुँदा पनि गाउँमा बत्ती बल्ने सुरसार हुने गरी काम भने भएको छैन । स्थानीय ज्ञानबहादुर रावल ठेक्का लिएर म्याद नाघ्दा म्याद थप मात्र हुने गरेको बताउँछन् ।

पुरै वडा नै बत्ती नहुँदा हरेक विद्युतीय सामग्री सञ्चालन गर्न र वडाका स्थानीयवासीलाई सेवा दिन चार घण्टा पैदल यात्रा गरेर गाउँपालिका केन्द्र याङ्चु पुग्नुपर्ने बाध्यता रहेको वडा नं. ३ का वडाध्यक्ष च्यागा बुडा बताउँछन् ।

बत्ती नहुँदा सल्लोको दियालोको भरमा स्थानीय जीवन गुजारी रहेका छन् । यस्तोमा धुँवाले वृद्ध अवस्थाका व्यक्ति र बालबालिकालाई विभिन्न रोग लाग्ने गरेको वडा नं. २ का अध्यक्ष चन्द्र रावल बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise