
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नयाँ नेतृत्व चयनका लागि शुक्रबार साधारणसभा तथा छैटौं अधिवेशन हुँदैछ । नेकपा एमाले निकट मञ्चले साधारणसभा तथा अधिवेशनमार्फत वैदेशिक रोजगार व्यवसाय क्षेत्रका वर्तमान चुनौती, व्यवसायीका साझा समस्या, श्रमिकको हित, व्यवसायको मर्यादा तथा आगामी दिनमा व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आवश्यक नीति तथा कार्यक्रम एवं आगामी कार्यदिशा तय गर्ने बताएको छ ।
साधारणसभाको उद्घाटन पूर्वश्रममन्त्री किसान श्रेष्ठले गर्ने तय भएको महासचिव मिलन कट्टेलले जानकारी दिए । निर्वाचनका लागि पार्टीले मञ्चमा उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेर हाल पार्टीको वैदेशिक रोजगार फाँटमा काम गरिरहेकी सुवर्ण श्रेष्ठलाई खटाएको छ ।
साधारणसभा तथा अधिवेशनमा भाग लिन बिहीबार साँझसम्म २९२ व्यवसायी संस्थाबाट प्रतिनिधि आएको र रुजु गरेर अन्तिम नामावली प्रकाशन गर्ने काम भइरहेको मञ्चका पूर्वउपाध्यक्ष एवं प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी लिएका मुक्तिनाथ अधिकारीले जानकारी दिए ।
मञ्चको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको बताइएको छ । मञ्चमा प्रायः सहमतिमा नेतृत्व चयन भएको इतिहास रहेको भन्दै संस्थापक अध्यक्ष सरोज पोखरेलसहित पूर्वअध्यक्षहरूले गरेको प्रयास बिहीबार रातिसम्म सफल हुन नसकेको बताइएको छ ।
मञ्चको अध्यक्षमा वर्तमान अध्यक्ष जनक रावल, पूर्वउपाध्यक्ष मुक्तिनाथ अधिकारी, महासचिव मिलन कट्टेल, उपाध्यक्ष दलवीर भण्डारी, उपाध्यक्ष सरिता घले, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वतृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल वैभवलगायतले अडान राखेको बताइएको छ । अध्यक्षका आकांक्षी सबैले आफ्ना तर्फका बलिया तर्कहरू पूर्वअध्यक्षहरूको छलफलमा राखिरहेका बताइएको छ ।
अध्यक्ष रावलले आफू मञ्चमा निर्वाचनका माध्यमबाट अध्यक्ष हुन नपाएको र अध्यक्ष भएको अवस्थामा संघमा दुई–दुई पटक अध्यक्ष जिताएको तथा हालको संघ नेतृत्वलाई मञ्चका तर्फबाट बल पुर्याउन आफू दोहोरिन चाहेको बताएका छन् ।
पूर्वउपाध्यक्ष अधिकारीले आफू मञ्चमा अनुभवी र एकमात्र साझा व्यक्ति भएको भन्दै निर्वाचनभन्दा सहमतिमा अध्यक्षको जिम्मेवारी पाउनुपर्ने पक्षमा रहेको बताएका छन् ।
महासचिव कट्टेलले आफू योग्य हुँदाहुँदै संघको निर्वाचनमा उम्मेदवार नबनेको र मञ्चमा सबै वर्ग तथा क्षेत्रका व्यवसायीलाई समेटेर थप सशक्त बनाउन सक्ने भएकाले अन्य आकांक्षीहरूले आफूलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन् । उनले मञ्चमा नवीनता र आकर्षण ल्याउन पनि युवा नेतृत्वमा हुनुपर्नेमा जोड दिएका छन् ।
उपाध्यक्ष भण्डारीले आफू मञ्चमा सदस्यदेखि विभिन्न पद हुँदै उपाध्यक्षसम्मको जिम्मेवारीमा रहेर अत्यन्तै प्रतिकूल अवस्थामा पनि योगदान दिएको भन्दै उपाध्यक्ष रहेको यस पटक आफू अध्यक्षको स्वाभाविक उम्मेदवार रहेको बताए ।
उपाध्यक्ष सरिता घलेले आफूले लामो समयदेखि मञ्चमा योगदान गरेको भन्दै महिला व्यवसायीलाई अघि बढाउन पुरुष व्यवसायीले यस पटक फराकिलो छाती बनाएर इतिहास निर्माण गर्ने बेला आएको बताएकी छन् । उनले आफू संघको कोषाध्यक्ष भएर एक कार्यकाल काम गरेकोले संघको नेतृत्वलाई बलियो बनाउन पनि आफू योग्य रहेको जिकिर गरेकी छन् ।
अर्का आकांक्षी पौडेलले संघको गत निर्वाचनमा उपाध्यक्ष वा महासचिव जुनसुकै पदमा उम्मेदवार बनेर निर्वाचित हुने सुनिश्चित अवस्था हुँदाहुँदै पनि अन्य समूहसँग तालमेल गरेर जाने मञ्चको निर्णय शिरोधार्य गरेको र त्यतिबेला नै आफूलाई मञ्चको अध्यक्ष बनाउने प्रतिबद्धता जनाइएको बताएका छन् । उनले सहमति भए सहमति, नभए निर्वाचन दुवै अवस्थाका लागि आफू तयारीमा रहेको बताएका छन् ।
महासचिवमा हालका सचिव सोमबहादुर तामाङ, राजेन्द्र अधिकारी, उपमहासचिव दण्डपाणि भट्टराई ‘दिलीप’लगायतले इच्छा जाहेर गरेको बताइएको छ ।
मञ्चमा अध्यक्षसहित ३ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ३ जना सचिव गरी ९ पदाधिकारी रहने व्यवस्था रहेको छ ।