२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

आफ्नै लयमा देउवा

ADV
भावना पाठक
२०८१ साउन ३० गते ०६:५०
आफ्नै लयमा देउवा

काठमाडौं : गत साउन २३  गतेदेखि चलेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले खुलेरै आफ्ना विषय राखे । घोचपेच, नेतृत्वको आलोचना, भावी रणनीतिबारे नेताहरूले जमेरै आफ्ना विषय राखे ।

तर चल्दाचल्दै अर्को बैठक आगामी भदौ ७ गते बस्नेगरी सभापति शेरबहादुर देउवाले स्थगित गरिदिए । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब भदौ ७ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्नेछ ।

सोमबार पनि केन्द्रीय समिति बैठक बसेको थियो भने केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । एक्कासी केन्द्रीय समिति बैठक किन स्थगित भयो भन्ने बारे नेताहरूको ठोस् जवाफ छैन ।

यसअघि महासमितिले पारित गरेका एजेण्डा लगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३  गतेदेखि छलफल भइरहेको थियो । कांग्रेसमा १३ पदाधिकारी सहित १६८ सदस्यीय केन्द्रीय समिति छ । केन्द्रीय समितिमा पदाधिकारीहरूले धारणा राख्न बाँकी नै रहेका बेला बैठक स्थगित भएको हो । 

नेताहरूका अनुसार सभापति देउवाको चाहना अनुसार बैठक स्थगित भएको हो । पदाधिकारीले राख्ने धारणाले आगामी नीति तय गर्नमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले केही दिन पदाधिकारीहरूसँग संवाद गर्नका लागि सभापतिले नै चाहना राखेका छन् । यसअनुसार बैठक स्थगित भएको हो ।

केन्द्रीय समितिमा महामन्त्री विश्वप्रकाश शर्माले एकै व्यक्ति पार्टीबाट दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव गरेका छन् । यस्तो प्रस्तावबाट सभापति देउवा झस्किएका छन् । 

किनभने, वर्तमान सत्ता समीकरणमा शेरबहादुर देउवा अबको दुई वर्षपछि प्रधानमन्त्री बन्ने समझदारी छ । यस्तो समझदारी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमै सुनाएका छन् । 

गत असार १७ गते मध्यराति ओली र देउवाले आलोपालो प्रधानमन्त्री बन्ने गरी सत्ता समीकरण बनाएका थिए । त्यसअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार ढलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनेर अगाडि बढेको छ । 

नयाँ सरकार बनेपछिको अवस्थामा बसेको केन्द्रिय समितिको बैठकमा कांग्रेसकै महामन्त्रीबाट प्रधानमन्त्रीमा सभापति देउवालाई नै रोक्ने गरी प्रस्ताव आएको हो । सांसद पनि चार पटक भन्दा बढी हुन नपाउने महामन्त्री शर्माको प्रस्ताव छ । 

यस्तो प्रस्तावले पदाधिकारीमा रहेका कतिपय नेताहरू समेत झस्किएका छन् । कांग्रेसका अर्का महामन्त्री गगन थापा नै एकै व्यक्ति चार पटक भन्दा बढी सांसद हुन नपाउने प्रावधान पार्टीले लिए अर्को पटक सांसद हुन रोकिनेछन् । 

यस्तोमा सभापति देउवाले आफू अनुकुल केन्द्रिय समितिको बैठकलाई समापन गराउनका लागि बैठक नै स्थगित गराएका हुन् । अब बस्ने बैठकमा पदाधिकारीलाई आफू अनुकुल निर्णय लिन सहयोग पु¥याउनेगरी बोल्ने वातावरण बनाउने सभापति देउवाको चाहना हो । 

कांग्रेसको राजनीतिमा लामो समयदेखि कुनै न कुनै रुपमा नेतृत्वमा रहेका देउवा सबैका कुरा सुन्ने तर आफ्नै तरिकाले चल्ने नेता हुन् । पार्टीमा बलियो पकड भएकाले पनि उनलाई प्रश्न गर्नेहरु प्रश्न गर्नमै सीमित हुन पुग्छन् । यसपटकको केन्द्रिय समितिको बैठकको समापन पनि यही रुपमा हुने कांग्रेस नेताहरू नै बताउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise