२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

‘फ्रि भिसा, फ्रि टिकट’ नीति परिमार्जनमा पूर्वमन्त्री श्रेष्ठको खुलासा

Nada
२०८३ साउन ३० गते ०६:१५
Shares
‘फ्रि भिसा, फ्रि टिकट’ नीति परिमार्जनमा पूर्वमन्त्री श्रेष्ठको खुलासा

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले गठबन्धन सरकारका नेताहरूको दबाबका कारण आफ्नो कार्यकालमा ‘फ्रि भिसा, फ्रि टिकट’ नीति परिमार्जन हुन नसकेको खुलासा गरेका छन् । पार्टी निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले उक्त खुलासा गरेका हुन् ।

ncell

वैदेशिक रोजगार व्यवसायी पृष्ठभूमिको भएकाले मन्त्री भएदेखि नै उक्त नीति परिमार्जनका लागि पहल गरेको भए पनि गठबन्धन सरकारका नेताहरूले नचाहेका कारण आफू पछि हट्न बाध्य भएको उनले बताए । उनले भने, ‘मैले धेरै प्रयास गरेको हो । प्रयास गर्दा पद नै चिप्लिएर आफैं लड्ने अवस्था भएकाले छोडिदिएँ ।’

पूर्वमन्त्री श्रेष्ठले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले उठाएको १५ बुँदे मागमा भने पार्टीको पूर्ण समर्थन रहेको बताए ।

उद्योग व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष, निवर्तमान सांसद तथा संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूले संघले उठाएका माग वैदेशिक रोजगारमा जाने कामदार तथा व्यवसायीको हितमा रहेको भन्दै ती माग पूरा गरिनुपर्ने बताए । व्यवसायी सरकार, गुन्डागर्दी र विदेशी रोजगारदाताको चेपुवामा रहेको भन्दै नीति नियम सुधारका माध्यमबाट त्यसमा सम्बोधन गरिनुपर्ने उनको भनाइ थियो ।

संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले राजनीतिक दलले संघको आन्दोलनमा चासो राख्नुपर्ने माग गरे । संघले १५ बुँदे माग उठाएर राज्यविरोधी लडाइँ गरेको नभई वैदेशिक रोजगार पेशालाई सम्मानित गराउने उद्देश्य राखेको उनले बताए ।

वैदेशिक रोजगार ऐन, २०६४ भित्रका नीतिगत त्रुटि समाधानका लागि सम्बन्धित मन्त्रालय पुगेको सकारात्मक अवस्था भए पनि ऐनको दफा २४ अनुसार मन्त्रीले पारदर्शिताका आधारमा लागत शुल्क तोक्ने व्यवस्था भएकाले संघले जोडदार रूपमा उक्त माग अघि बढाएको उनले बताए । सेवाग्राहीलाई न्याय हुने गरी माग सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।

मञ्चका संस्थापक अध्यक्ष सरोज पोखरेलले प्रगतिशील मञ्चले अगाडि सारेका उम्मेदवारले संघको नेतृत्व गरेको र संघको नेतृत्व व्यवसायीका समस्या समाधानका लागि प्रतिबद्ध रहेकाले मञ्चको नयाँ नेतृत्व संघको सहयोगी हुनुपर्ने बताए ।

संघका पूर्वअध्यक्ष तथा सल्लाहकार राजेन्द्र भण्डारीले राष्ट्रिय अर्थतन्त्रमा वैदेशिक रोजगार क्षेत्रको महत्व उच्च रहेको, तर सरकारले अनुदार नीति लिएका कारण व्यवसायी प्रताडित हुनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्न व्यवसायी एकजुट हुनुपर्ने बताए ।

साधारणसभालाई उद्योग व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष तथा मञ्चका इन्चार्ज सुवर्ण श्रेष्ठलगायतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरे । जनक रावलको अध्यक्षतामा भएको उद्घाटन सभामा उपमहासचिव दण्डपाणि भट्टराई ‘दिलीप’ले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा मध्यान्ह दैनिकलगायतका सञ्चारमाध्यमलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा टंक राउत, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरे, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीलगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर