२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

कतारमा झल्कियो सिंगो नेपाल, मनाइयो ३२औं विश्व आदिवासी दिवस

Nada
तिलु शर्मा पौडेल
२०८३ साउन ३० गते १९:४६
Shares
कतारमा झल्कियो सिंगो नेपाल, मनाइयो ३२औं विश्व आदिवासी दिवस

दोहा, कतार : कतारमा रहेका जनजातिहरूले मौलिक संस्कृति, पहिचान र परम्पराको भव्य प्रदर्शनसहित ३२औं विश्व आदिवासी दिवस मनाएका छन् । अल वकिरस्थित डिपिएस मोनार्क स्कुलको सभा हल शुक्रबार ‘सिंगो नेपाल’ झल्किने गरी सजिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ कतार शाखा, महासंघमा आबद्ध मातृ संस्थाहरू तथा केही अन्य सामुदायिक संस्थाहरूको संयुक्त आयोजनामा ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

ncell

No description available.

कार्यक्रम स्थलमा प्रवेश गर्ने बित्तिकै विभिन्न जातजातिका मौलिक भेषभूषा, भाषा, संस्कार, संस्कृति र परम्पराले नेपालको बहुरङ्गी पहिचानलाई जीवन्त बनाएको अनुभूति हुन्थ्यो । सभा हलको आकर्षक सजावटले ‘मिनी नेपाल’को झल्को दिएको थियो भने विभिन्न समुदायका सहभागी आफ्ना मौलिक पोसाकमा सजिएर उपस्थित भएका थिए । कार्यक्रमको मूल प्रवेशद्वारमै महासंघ कतार शाखाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राकेश श्रेष्ठ, प्रमुख अतिथि नेपाली राजदूतावास कतारका प्रथम सचिव अमर राई, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीलगायतका अतिथि तथा पाहुनालाई फूल, खादा र मालासहित भव्य स्वागत गरिएको थियो ।

No description available.

विदेशको भूमिमा आयोजित भए पनि कार्यक्रम स्थलमा देखिएको मौलिकता, आत्मीयता र सांस्कृतिक विविधताले सहभागीलाई केही समयका लागि कतारमा नभई नेपालमै रहेको अनुभूति गराएको थियो । हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिमसम्मका विभिन्न समुदायका भाषा, भेष भूषा, संस्कार, परम्परा र संस्कृति एउटै मञ्चमा प्रस्तुत हुँदा कार्यक्रम साँच्चिकै ‘सिंगो नेपाल अटेको’ सांस्कृतिक उत्सवजस्तो देखिन्थ्यो । नेपालीपनप्रतिको माया र आफ्नो पहिचानप्रतिको गर्वले कार्यक्रमको वातावरणलाई थप भावनात्मक बनाएको थियो ।

No description available.

कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, विभिन्न मातृ संस्थाका पदाधिकारी तथा विभिन्न जातजाति र समुदायका नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न मातृ संस्थाले आफ्ना मौलिक झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे । ती प्रस्तुतिमार्फत सम्बन्धित समुदायका भाषा, भेष भूषा, संस्कार, परम्परा र संस्कृति झल्काइएको थियो ।

No description available.

विभिन्न कलाकारका सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । हरेक सांस्कृतिक प्रस्तुतिको पृष्ठभूमि, त्यसको मौलिकता र समुदायसँगको सम्बन्धबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भाइ काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण हरिबहादुर महतो र सांस्कृतिक संयोजक कमल सुनुवारले गरेका थिए । कार्यक्रम संयोजक एकराज राईले विश्व आदिवासी दिवसको ऐतिहासिक पृष्ठभूमि र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आदिवासी जनजाति महासंघले स्थापना कालदेखि नै हरेक वर्ष अगस्ट ९ अर्थात् विश्व आदिवासी दिवस मनाउँदै आएको बताए । संयुक्त राष्ट्रसंघको महासभाले २३ डिसेम्बर १९९४ मा प्रस्ताव नं. ४९÷२१४ पारित गर्दै प्रत्येक वर्ष ९ अगस्टलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सन् १९९५ देखि विश्व आदिवासी दिवस मनाउन थालिएको उनले जानकारी गराए । 

No description available.

आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान तथा सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक अधिकारको संरक्षण र प्रवर्धनका लागि विश्वभर विभिन्न कार्यक्रम हुँदै आएको उल्लेख गर्दै राईले नेपालमा पनि महासंघले विभिन्न कार्यक्रममार्फत आदिवासी जनजातिको मौलिक संस्कृति, परम्परा र पहिचानलाई उजागर गर्दै आएको बताए ।

महासंघका प्रमुख सल्लाहकार डीएन मगरले आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूको आवश्यकता, महत्त्व र उद्देश्यबारे स्पष्ट पारे । उनले संस्थागत एकता, सामूहिक पहिचान तथा अधिकार संरक्षणसँगै मौलिक भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षणमा यस्ता संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो पहिचानसँग जोडिराख्न र भावी पुस्तालाई मौलिक संस्कृति हस्तान्तरण गर्न संस्थागत प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि राईले कतारमा रहेर पनि नेपाली मौलिकता, संस्कृति र पहिचानको संरक्षण गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्ने कार्य प्रशंसनीय रहेको बताए । कार्यक्रममा सम्बोधन गर्दै उनले कतारमा आयोजित कार्यक्रमले आफूलाई विदेशमा नभई नेपालमै रहेको अनुभूति गराएको बताए ।

राईले कार्यक्रमको सफल आयोजनाका लागि महासंघ कतारसहित सहभागी सम्पूर्ण संघसंस्था, समाज, परिषद्, प्रादेशिक तथा जिल्ला समितिहरूप्रति धन्यवाद व्यक्त गरे । विदेशमा रहेर पनि नेपालीहरूले आफ्नो मौलिकता र नेपालीपनलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु सकारात्मक पक्ष भएको बताए ।

नेपाली राजदूतावास कतारमा रहेका नेपालीहरूको अभिभावक र नेपालसँग जोडिने नजिकको घर भएको उल्लेख गर्दै राईले कुनै पनि आपत्–विपत् वा समस्या पर्दा निःसंकोच राजदूतावासमा आउन आग्रह गरे । नेपालीका लागि दूतावासको ढोका सधैं खुला रहने प्रतिबद्धता व्यक्त गर्दै उनले ३२औँ विश्व आदिवासी दिवसको अवसरमा कतारमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिए ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष श्रेष्ठले प्रवासमा रहेर पनि नेपालीहरूको मौलिक पहिचान, भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनका लागि महासंघले निरन्तर काम गर्दै आएको बताए । रोजगारीका क्रममा कतारमा व्यस्त रहे पनि आफ्नो देश, माटो, संस्कृति र पहिचानप्रतिको माया कायम राख्न महासंघले विभिन्न जातीय समुदायलाई एउटै प्लेटफर्ममा जोड्दै आएको उनले बताए ।

No description available.

अगस्ट ९ मा मनाइने विश्व आदिवासी दिवस कतारको कानुनी व्यवस्था र कार्य समयका कारण यस वर्ष शुक्रबार अर्थात् अगस्ट १४ मा आयोजना गरिएको उनले स्पष्ट पारे । कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र समुदायका सदस्यप्रति आभार व्यक्त गर्दै श्रेष्ठले नेपाली राजदूतावासलाई अभिभावकका रूपमा सम्मान गर्दै कतार सरकारका नियम तथा कानुनको पूर्ण पालना गर्दै महासंघ अघि बढिरहेको बताए ।

कतारमा नेपाली समुदायको हित, सामाजिक एकता, संस्कृति संरक्षण तथा नेपाललाई चिनाउने कार्यमा आगामी दिनमा पनि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, व्यवसायी, विभिन्न संघसंस्था तथा डिपिएस मोनार्क स्कुलको सम्पूर्ण टोलीप्रति धन्यवाद ज्ञापन गरे ।

No description available.

मौलिक भेषभूषा, भाषा, संस्कार, संस्कृति, झाँकी, गीत–संगीत र परम्परागत प्रस्तुतिले भरिएको कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई आफ्नो माटो र पहिचानसँग भावनात्मक रूपमा जोडेको थियो । कतारको भूमिमा केही घण्टाका लागि भए पनि नेपालीपनको सामूहिक अनुभूति गराउने उक्त कार्यक्रमले ‘जहाँ रहे पनि मन त नेपाली हो’ भन्ने भावनालाई जीवन्त बनाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राई, सभाध्यक्ष श्रेष्ठ तथा विशेष अतिथि  पन्थी लगायतलाई फेटाद्वारा सम्मान गरिएको थियो । आदिवासी जनजाति समुदायबाट नेपाली महिला समाज र  एनसिसी कतारमा  निर्वाचित विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूलाई खादा लगाएर सम्मान गरिएको थियो ।

No description available.

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर