२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

वैदिक सनातन धर्मको पक्षमा देउवा कांग्रेस, इतर समूहको नेतृत्वमा शशांकको निरन्तरता 

Nada
जीवन शर्मा
२०८३ भदौ १ गते ०८:१७
Shares
वैदिक सनातन धर्मको पक्षमा देउवा कांग्रेस, इतर समूहको नेतृत्वमा शशांकको निरन्तरता 

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६ महिनापछि नेपाल फर्किएर राजनीतिक सक्रिय छन् । उपचारका क्रममा सिंगापुर रहेका उनी बिहीबार नेपाल आएका थिए । शुक्रबार आफ्नो समूहले राखेको राष्ट्रिय भेलालाई सम्बोधन गरेका देउवाले आइतबार सोही भेलाको समापन गरे । सम्बोधनका क्रममा देउवाले आफू हिन्दु भएको प्रस्ट पारे । उनले भने, ‘म हिन्दु, हुँ हिन्दु, हिन्दु ।’ देउवापक्षीय भेलाको मुख्य राजनीतिक एजेन्डा धर्मभन्दा पनि  विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वलाई अस्वीकार गर्ने नै थियो । तीन दिनसम्म चलेको छलफलले विशेष महाधिवेशनको नीति र नेतृत्व  अस्वीकार गर्ने र वैदिक सनातन धर्मको एजेन्डासमेत पारित गरेको छ ।

ncell

यो भेलाबाट कांग्रेसको इतर समूहले धर्मको विषयलाई खुला बहसमा बाहिर ल्याएको हो । आइतबार पाँचबुदे निर्णय गर्दै भेला सम्पन्न गरेको यो समूहले धर्मसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेको हो । जसअनुसार सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको छ । विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि अहिले देउवा समूह पार्टीविहीन भएर भौंतारिएको छ । गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आइरहेको देउवा समूहले शंशाक कोइरालालाई नेतृत्वका रूपमा अघि बढाएको छ । 

राष्ट्रिय भेलामा हिन्दु राष्ट्रका पक्षमा उभिनुपर्ने नेता शंकर भण्डारीको प्रयास थियो । बिपीको राष्ट्रियता र मेलमिलापको नीतिलाई समर्थन गर्ने अडानसाथ संवैधानिक राजसंस्थासहितको हिन्दु राज्यका पक्षमा उनले लामो समयदेखि अभियान नै चलाएका छन् । कांग्रेस भेलामा पनि यो मुद्दामा अडिग देखिएका भण्डारीलाई विमलेन्द्र निधी, डा.प्रकाशशरण महतलगायत नेताहरूले वैदिक सनातन धर्मको पक्षमा मोडेका हुन् । नेता निधीले संविधानमा उल्लिखित धार्मिक स्वतन्त्रताको पक्षबाट दायाँ–बायाँ हुन नसक्ने जिकिर गरेपछि केही भनाभनको स्थिति नै बनेको थियो । 

यद्यपि, नेताहरूबीचको छलफलपछि ‘वैदिक सनातन धर्म’लाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउन सहमत भए । ‘नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो,’ निर्णयको तेस्रो बुँदामा उल्लेख छ,  ‘नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी चलिआएका हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ ।’ जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक कोर्सपछि धर्मको विषयसमेत बहसमा आएको हो  । कांग्रेस नेता शंकर भण्डारी लामो समयदेखिको आफ्नो एजेन्डामा निर्णय भएको बताउँछन् । ‘कांग्रेसको राष्ट्रिय भेलामा मैले लामो समयदेखि उठाउँदै आएको एजेन्डामा निर्णय भएको छ । मेरो मूल विषय समेटियो, अब नयाँ बहस अघि बढ्छ, म खुसी छु ।’   

पूर्वसभापति शेरबहादुर देउवालाई केही नेताले हिन्दु राष्ट्रका विषयमा बोल्न आग्रह गरेपछि देउवाले भाषणमा पटक–पटक आफू हिन्दु भएको बताएका थिए । तर, देउवा हिन्दु राष्ट्रको पक्षमा भने खुलेनन् । लामो समयदेखि सनातन हिन्दुराज्यको अभियानमा लागेका नेता शंकर भण्डारी आधिकारिक रूपमै सनातन हिन्दु राज्यको प्रस्ताव पारित गर्नुपर्ने अडानमा थिए । भेलाको लिखित निर्णयमा हिन्दु राष्ट्रको पक्षधरता लिने कि नलिने भन्ने विषयमा नेताहरू विमलेन्द्र निधी र प्रकाशशरण महतले भने धर्मका विषयमा मौन रहेर वर्तमान संविधानले दिएको व्यवस्थालाई अंगीकार गर्नुपर्ने बताए । यस विषयमा नेताहरूबीच कुरा नमिलेपछि हिन्दु राष्ट्रको एजेन्डा भने पारित भएन । 

देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निष्कर्ष
नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आयोजनामा १५औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सुरु भएर आइतबार सम्पन्न सम्मेलनले पाँचबुँदे निर्णय गर्दै देउवालाई नै सभापतिको हैसियतमा फर्काएको हो ।  देउवाकै सभापतित्वमा १५औं महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध भई महाधिवेशन सम्भव हुने निर्णयमा उल्लेख छ । 

तीन दिनसम्म चलेको भेलामा प्रदेशस्तरीय सामूहिक छलफलपछि साझा निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन् । भेलाले विशेष महाधिवेशनको वैधानिकता र औचित्यपूर्ण नरहेको निष्कर्ष निकालेको नेता महतले बताए । वर्तमान संविधानमा जनअपेक्षाबमोजिम आवश्यक संशोधन गर्न संविधानमा भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिइने पनि अर्को निर्णयमा उल्लेख छ । भेला आयोजक समितिका संयोजक डा.कोइरालाले कांग्रेस पार्टीलाई एकताको बाटोमा लैजान आफ्नो भूमिका रहने बताए । ‘म पार्टी फुटबाट बचाउन आएको हो,’ उनले भने, ‘कांग्रेस फुट्दैन, फुटाउन दिइँदैन ।’     

भेला समापन समारोहमा विर्तमान कार्यवाहक सभापति खड्का र नेता डा.शेखर कोइराला भने पुगेनन् । जेनजी आन्दोलनपछि सभापति देउवाले आफू राजनीतिबाट विश्राम लिने भन्दै पूर्णबहादुरलाई कार्यवाहक सुम्पिएका थिए । तर, केही समयपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरे । त्यससँगै कांग्रेसमा अनौपचारिक विभाजन आएको थियो ।

इतरको नेतृत्व शशांकलाई
संस्थापनइतर समूहको नेताको जिम्मेवारी राष्ट्रिय भेलाका संयोजक एवं पूर्वमहामन्त्री डा.शशांक कोइरालालाई नै निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेस नेता डा.प्रकाशशरण महतले मध्यान्हसँग भने, ‘सभापति शेरबहादुर देउवालगायत नेताहरूसँगको समन्वयमा काम गर्ने जिम्मेवारी सुम्पिएका छौं । १५औं महाधिवेशनको तयारी गर्नेसम्मको समन्वयात्मक भूमिका कोइरालालाई दिने निर्णय भएको हो ।’ 

इतरपक्षको नेतृत्व पूर्णबहादुरले गरिरहे पनि अब उप्रान्त संस्थापनइतर समूहको नेता शशांक कोइराला हुने भएका हुन् ।  योसँगै कार्यवाहक सभापतिको हैसियतमा रहेका नेता पूर्णबहादुर खड्काको जिम्मेवारी स्वतः सकिएको छ । 

भेलाले देश अप्ठ्यारो अवस्थामा रहेको निष्कर्षसहित २०३३ सालमा बिपीले लिएको मेलमिलापको बाटो अपनाएर राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने निर्णय गरेको छ ।  
 

सम्बन्धित खबर