
दोहा, कतार : कतारमा स्थापित सातै प्रदेश समन्वय परिषद्हरूको संयुक्त आयोजनामा ‘संयुक्त रक्तदान कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ । ‘सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश’ तथा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजना गर्न लागिएको कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपालीलाई सहभागी भई रक्तदान गर्न आयोजकहरूले आग्रह गरेका छन् ।
२१ गते शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म हमाद ब्लड डोनर सेन्टरमा हुने कार्यक्रमलाई नेपाली रक्तदाता संघ, कतारले समन्वय गरेको छ । आयोजकका अनुसार रक्तदान महान् मानवीय सेवा भएकाले एक व्यक्तिले दान गरेको एक युनिट रगतले आपत्कालीन अवस्थामा रहेका बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ । नेपाली समुदायबिच एकता र सहकार्य अभिवृद्धि गर्दै मानव सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
रक्तदानका लागि दाताको उमेर १८ देखि ६५ वर्षबिच हुनुपर्ने तथा रक्तदान गर्ने दिन शारीरिक रूपमा स्वस्थ हुनुपर्ने जनाइएको छ । रक्तदानअघि कम्तीमा छ घण्टा निद्रा लिएको र हल्का भोजन गरेको हुनुपर्नेछ । रक्तदानका क्रममा कतारी परिचयपत्र (क्यूआईडी), मेट्रास २, हेल्थ कार्ड वा ड्राइभिङ लाइसेन्समध्ये कुनै एक मूल परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । रक्तदान गर्नुअघि स्वास्थ्यकर्मीले रक्तचाप, शरीरको तापक्रम, नाडीको चाल, तौल र हिमोग्लोबिनको मात्रा परीक्षण गर्नेछन् ।
कुनै औषधि सेवन गरिरहेको वा उपचाररत भए स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने आयोजकले जनाएको छ । पछिल्लो एक महिनाभित्र यान्टिबायोटिक सेवन गरेका व्यक्ति रक्तदानका लागि योग्य नहुने तथा हिजामा वा ट्याटु बनाएका व्यक्तिले कम्तीमा तीन महिना पूरा भएपछि मात्र रक्तदान गर्न सक्ने जनाइएको छ । त्यसैगरी, मलेरिया प्रभावित देश वा क्षेत्रमा हालै भ्रमण गरेका व्यक्तिले तीन महिना पूरा भएपछि मात्र रक्तदान गर्नुपर्नेछ । खोप लगाएको २४ घण्टापछि ज्वरो, रुघाखोकी वा अन्य स्वास्थ्यसम्बन्धी लक्षण नभएको अवस्थामा रक्तदान गर्न सकिने आयोजकले जनाएको छ ।
सातै प्रदेशका नेपाली समुदायलाई एउटै उद्देश्यमा एकताबद्ध गर्दै आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमलाई सफल बनाउन कतारमा रहेका सम्पूर्ण नेपालीको सक्रिय सहभागिताका लागि आयोजकले अपिल गरेको छ । आयोजकले रक्तदानलाई सामाजिक दायित्व मात्र नभई कसैको जीवन बचाउन सक्ने महान् मानवीय सेवाका रूपमा लिँदै ‘रक्तदान गरौं, जीवन बचाऔं’ अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।